Comments Add Comment

विक्रेताहरुको आन्दोलनले बजारमा ग्यास अभाव

gas-byabasayi
२९ पुस, भैरहवा । ग्यास डिलर व्यवसायीले ग्यासको विक्री गर्न बन्द गरेपछि बजारमा ग्यासको अभाव हुने थालेको छ । उद्योगहरुले डिलर व्यवसायीले पाउने कमिसन बढाउन माग गर्दै व्यवसायीले ग्याासको विक्री वितरण बन्द गरेपछि बजारमा ग्यासको अभाव हुन थालेको हो ।

गत पुस २० गतेदेखि लुम्बिनी अञ्चलका ६ जिल्लाका साथै स्याङ्जा, प्युठान, रोल्पा र दाङका ग्यास डिलर व्यवसायीहरुले उद्योगबाट ग्यास उठाएका छैनन् ।

अहिले अधिकांश जिल्लाहरुमा ग्यास अभाव देखिएको छ । ग्यास बिक्रेताहरुले पहिले पाउँदै आएको ५० रुपैया कमिसन यथावत नराख्दासम्म आन्दोलन नरोक्ने उनीहरुले बताएका छन् ।

ग्यास बिक्रेता संघ रुपन्देही, पाल्पा र नवरपरासीको पहलमा मंगलबारदेखि रुपन्देहीमा रहेका ५ उद्योगहरुमा धर्ना दिएका छन् ।

बजारमा ग्यासको अभाव हुन थालेपछि अभाव हटाउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीको पहलमा भैरहवामा बैठक बसेको थियो । तर उद्योगी र बिक्रेताहरुले आ आफ्नो अडान नछाडेपछि वार्ता बिफल भएको छ ।

उद्योगले अहिले दिएको ३२ रुपैयाँ कमिसनले व्यापार घाटा हुने हुँदा ग्यासमा लगानी गर्न नसक्ने डिलर व्यवसायीहरुले बताएका छन् ।

अन्य जिल्लाका ग्यास उद्योगहरुले ५० रुपैयाँ कमिसनमै ग्यास ढुवानी गरिरहेको तर केही जिल्लामा कमिसन घटाएर ३२ रुपैयाँ बनाइएकोमा आन्दोलन थालिएको ग्यास बिक्रेता संघ भैरहवाका उपाध्यक्ष राममिलन यादवले बताए ।

उनले आफुहरुले खाइपाई आइरहेको कमिसन समेत उद्योगहरुले घटाएको भन्दै ५० रुपैयाँ कमिसन दिए आन्दोलन स्थगित गरी आफुहरुले उद्योगबाट ग्यास उठाएर विक्री वितरण गरिने बताए ।

अब ग्यास विक्री गर्न नसकिने जनाउँदै उद्योगले व्यवसायीहरुबाट सिलिण्डर खरीदका लागि डिपोजिट राखेको रकम समेत फिर्ता गर्नुपर्ने व्यवसायीहरुले बताएका छन् ।

रुपन्देहीमा सिद्धार्थ, त्रिशुल, बुटवल, स्वस्तिक, आरती नामका पाँच वटा ग्याास उद्योग छन् जसका लुम्बिनी अञ्चलमा मात्र १ हजार १ सय ९३ वटा ग्यास डिलर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment