Comments Add Comment

पात्लेको पीडाः भूकम्प गएको डेढ वर्षसम्म खुसी फर्किएन

लाङटाङमा हराएका १० मजदूरको न लास छ न आश

earthquake-2072-2

२ माघ, ओखलढुंगा । पात्ले गाविस ३ लट्टेबारीकी फुर्लु शेर्पालाई आफ्नाे उमेरसमेत ठ्याक्कै थाहा छैन । उनले ३ छोरी र ७ छोरा गरी १० सन्तान जन्माइन् । सबैभन्दा कान्छो छोरा ५ वर्षको छ । जेठो छोरा र छोरीले विवाह गरेर आ-आफ्नै घरजम गरिसके ।

जग्गा जमिन धेरै देखिए पनि लेकमा एक सिजन मात्र अन्न फल्छ । त्यसले वर्षभरि खान पुग्दैन । श्रम गरेर धन कमाउन गएका पति लाङटाङमा पुरिएपछि उनका दुःखका दिन शुरु भए । अहिले उनी आफूसँग आश्रति ४ सन्तान कसरी पाल्ने चिन्तामा छिन् ।

उनका पति ५० वर्षीय कामी शेर्पा रसुवाको लाङटाङ पहिरोमा ०७२ बैशाख १२ गते भूकम्पसँगै आएको हिम पहिरोमा बेपत्ता भए । पत्नी फुर्लु शेर्पा दिनरात आफ्ना वेपत्ता पति सम्झेर आँसु खसालिरहन्छिन् । ‘हामीले लाससम्म देख्न पाएनौँ,’ उनले भनिन्, ‘जेठो छोरालाई खोज्न पठाएको थिएँ, भेटिनँ भन्दै फर्कियो ।’ यति भनिनसक्दै उनका आँखा आँशुले भरिएका थिए ।

बाबुका बारेमा कुरा नथाल्दै आमाको छेउमा बसेकी छोरी काडु शेर्पाका आँखाबाट आँसु खसिसकेका थिए । त्यसयता लाङटाङमा खोसिएको खुसी शेर्पा परिवारको जीवनमा फर्किएको छैन । जबर्जस्ती हाँसे पनि आँखा रसाएका हुन्छन् ।

सरकारले दिएको १ लाख ४० हजार राहत रकम पतिको काजकिरियामा लामा बोलाएर पूजापाठ गर्दागर्दै सकियो । बाँकी दिन कसरी बिताउने भन्ने टुंगो छैन । माइलो र साइलो छोराले ट्रेकिङ गएर कहिलेकाहीं दुई चार पैसा ल्याउँछन् । नत्र बनिबुतो गरेरै साना छोराछोरीको पेट पालेकी छन् । छोराछोरीले पढाइ छाडिसके ।

घर बनाउनै सकेनन्

पात्ले ३ कै ६० वर्षीया सन्ती शेर्पाको अवस्था पनि फरक छैन । उनका १६ वर्षका कान्छो छोरा भूकम्पका दिन लाङटाङको पहिरोमै बेपत्ता भए । दुई छोरा र एक छोरीमध्ये कान्छोको शव उनले पनि देख्नै पाइनन् ।

earthquake-2072

भूकम्पले घर भत्किएको छ । तर, बनाउने पैसा छैन । कमाउन थालेको छोरा बितेपछि ब्याजमा ऋण काढेको पैसा साहूलाई तिर्न सकेकी छैनन् । सरकारले दिएको अनुदान खर्चेर घर बनाउन ढुंगा कुटाउन थालेकी छिन्, जग हाल्ने पैसा छैन । ‘सरकारले दिएको पहिलो किस्ता ५० हजारले त ढुंगा कुटाउन पुगेन, बाँकी कसरी बनाउने ? उनले रुञ्चे हाँसो पोखिन् ।

फुर्लू र सन्ती मात्रै होइनन् पात्ले ३ लट्टेबारी र पात्लेकै वडा नं. ५ ताउरका ७ घरधुरीको खुसी भूकम्पले खोसेको दुई वर्ष हुन लाग्यो । सात परिवारका १० जनाले भूकम्पपछिको पहिरोमा परेर रसुवाको लाङटाङमै बेपत्ता भए ।

उनीहरुले आफन्त मात्र गुमाएनन् भूकम्पले घर पनि गुमाए । घर भत्किएपछि अहिले अस्थायी टहरामा बसोबास गर्दै आएका छन् । जस्ताका टहराबाट झर्ने शीत, पुस र माघभरि पर्ने हिउँमा कष्टपूर्ण दिनरात कटाउनु उनीहरुको बाध्यता हो । भूकम्पले आफन्त गुमाएका परिवारका बालबच्चा आर्थिक अभावका कारण शिक्षा, स्वास्थ्य जस्ता मौलिक अधिकारबाट समेत बञ्चित भएका छन् ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार भूकम्पमा जिल्लाबाहिर बेपत्ता हुने २३ जना थिए । त्यस मध्ये पात्ले गाविसका मात्र १० जना छन् । जिल्लाकै दुर्गम मानिने पात्लेका अधिकांश युवा र वयस्क लाङटाङ र नाम्चेतिर सिकर्मी, डकर्मी कामका लागि बर्सेनी जाने गर्छन् ।

earthquake-2072-1
लाङटाङमा बेपत्ता मजदूरका परिवार

लेकाली क्षेत्रमा आलु, मकै, गहुँ, उवाजस्ता बाली फले पनि एक सिजनमा फल्ने अन्नले वर्षभरि खान नपुग्ने भएपछि मजदुरीका लागि गाउँ छोड्नु उनीहरूको बाध्यता हो । सानै उमेरमा पढाइ छोडेर मजदुरी, ट्रेकिङ र विदेसिन्छन् ।

रोजगारीका लागि युवायुवती र श्रम गर्न सक्ने पुरुष विदेशिएपछि घर गाउँमा महिला, बुढाबुढी र केटाकेटी मात्र भेटिन्छन् । रोजगारीका लागि विदेशिएका आफन्तले त कमाएर ल्याउलान् भन्ने आशमा बसेका छन् ।

तर, कमाउन गएका आफन्त उतै भूकम्पको पहिरोमा पुरिएपछि ती परिवारको खोसिएको खुसी फर्किएन । न उनीहरुले घर बनाउनै सकेका छन् नत परिवार चलाउन आय आर्जनको बाटो नै छ । उनीहरुमा एकातिर आफन्त गुमाउनुको पीडा त छँदैछ, अर्कोतिर परिवार पाल्ने र लडेको घर बनाउने उनीहरुको सपना पूरा गर्न राज्यका निकायले ध्यान नदिँदा जीवनयापन दिनप्रतिदिन कष्टकरण बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment