Comments Add Comment

दाइजोप्रेमी मन्त्रीका ससुरालीको पनि सम्पत्ति सार्वजनिक गरौं

लसुन नहुने जनताका सुनै सुनका मन्त्री

सार्वजनिक पदमा पुगेका कर्मचारीले हरेक आर्थिक वर्षको साठी दिनभित्र आफनो सम्पति विवरण सार्वजनिक गर्नुपर्ने कानूनी प्राबधान छ । कानुन यति फितलो छ कि तोकिएको समयमा सम्पति विवरण नबुझाएमा ५ हजार जरिवाना तिरे पुग्छ । जरिवाना स्वरुप पाँच हजार तिरेपछि आफनो कालो धन सेतै हुन्छ भने बरु जरिवाना तिर्ने सम्पति विवरण नबुझाउने कर्मचारीहरु धेरै छन् । हरेक वर्ष सम्पति विवरण नबुझाउने कर्मचारीको सख्या बढ्नुले पनि यही कुराको संकेत गर्छ ।

सरकार चलाउनका लागि मन्त्रिमण्डलमा पुगेका मन्त्रीहरुलाई त आफ्नो सम्पति विवरण सार्वजनिक गर्नुपर्छ भन्ने ज्ञान हुँदैन र उनीहरु कानूनको जानाजान धज्जी उडाइरहेका हुन्छन् । चार महिनासम्म आफ्नो सम्पति विवरण सार्वजनिक गर्दैनन्, सबैतिरको विवाद र मिडियामा निरन्तर खेदो खनिएपछि बल्लतल्ल देखावटी विवरण सार्वजनिक हुन्छ ,त्यो विवरण सम्बन्धित मन्त्रीबाहेक कसैलाई पनि चित्त बुझ्दैन । राजनीतिको पुरानै रोग हो समयमा सम्पतिविवरण सार्वजनिक नगर्ने गरेपनि देखावटी रुपमा मात्र गरेकेा जस्तै देखाउने मात्र ।

बर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पति विवरण लोकलाजका कारण, सर्वत्र विरोध भएका कारण लाज छोप्नकै लागि केही समयअघि सार्वजनिक गरे । सार्वजनिक कार्यक्रमहरुमा कति मीठा कुरा गर्छन् मन्त्रीहरु, आफु साधारण नागरिक भएको, समाज सेवाका गर्नका लागि जेलनेल खेपेको, आर्थिक उपार्जनको कुनै माध्यम नभएको तर… तिनै गरिब नेतालाई आफ्नी छोरीसँगै नब्बे तोलासम्म सुन दाइजो दिने ससुरालीको हिम्मत देखेर भने अचम्म लाग्छ । कति आँटिला रहेछन् ससुराली ?

राजनीति गर्ने ज्वाइँलाइ घरज्वाइँ नराखिकनै यतिविधि सुनचाँदीले भरिपूर्ण बनाउने ससुरालीको आम्दानीको श्रोतचाँही के होला ? एउटामात्र ज्वाईलाई नब्बे तोलासम्म सुन दिएका हुन् कि अरु छोरीज्वाइँलाई पनि त्यसै गरे होलान् ?

कति सजिलै भन्छन् नेताहरु मेरो नियमित आम्दानी छैन, पत्रपत्रिकामा लेख लेखेर घरखर्च चलाउँछु भनेर । रातदिन तिनै पत्रिका र रेडियो टेलिभिजनमा घोटिएका पत्रकारहरु न्यूनतम पारिश्रमिक समेत समयमा नपाएर कति कष्ट भोग्नु परिरहेको तीतो यथार्थ छ, तिनै पत्रकारलाई तलव खुवाउन नसक्ने पत्रिकामा लेख लेखेर नेताको घर खर्च चल्ने । वाह… कति सजिलो उत्तर ….।

पेशा राजनीति, उद्देश्य समाजसेवा, राष्ट्रसेवा तर वास्तविकता के भन्ने ? तपाई मन्त्रीहरु नै दाइजोको यस्तो भोको भएपछि मधेसका महिला दाइजोको निहुँमा हिंसामा पर्नु, जलाइनु, मारिनु, प्रताडित हुनु के नौलो विषय भयो र ? दाइजोमा टिकेका दाइजोमा बाँचेका मन्त्रीले आफ्ना छोरीलाई पनि आफ्ना ससुरालीले जस्तैगरी असी नब्बे तोला सुनचाँदी दाइजो देलान् पछि तिनै मन्त्रीका ज्वाइँ फेरि राजनीतिमा आउलान् उनीहरुले पनि नदेखिएको सम्पतिलाई ससुरालीले बिहेमा दाइजोस्वरुप दिएको भनेर सम्पत्ति विवरणका तेह्र पाना भर्लान् । यो त एउटा चक्र हो घुमिरहन्छ, तर नियत कहिले सफा बन्छ ? त्यो महत्वपूर्ण विषय हो ।

गोरखाका सुजन देवकोटाले मन्त्रीको सम्पत्ति विवरणमा यस्तो कटाक्ष गर्दै लेखे, ‘ढिलै भए पनि प्रचण्ड सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक त गरे, तर केटाकेटीसँग लुकामारी खेलेजसरी झुक्याएर आफ्नो सम्पत्ति विवरण देखाएका छन् । माओवादी सशस्त्र द्वन्द्वका क्रममा सबैभन्दा बढी आर्थिक घोटाला गर्ने भनेर चिनिएका तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेता कृष्णबहादुर महरा र तत्कालीन जनसेनाका कमाण्डर जनार्दन शर्मा ‘प्रभाकर’ यी तीनैजना क्रमश प्रधानमन्त्री, उपप्रधान एवं अर्थमन्त्री र ऊर्जामन्त्री छन् । तर, उनीहरूको सम्पत्ति विवरण हाँसोलाग्दो किसिमले सार्वजनिक गरिरहँदा कसैले यसलाई वास्तविक भनेर मान्ने आधार नै छैन । लाजिम्पाट निवास प्रचण्ड स्वयंको हो भनेर जनसाधारणले लख काटिरहेका बेला प्रचण्डसँग जम्मा ३ तोला सुन र १ कठ्ठा जमीन छ भनेर सार्वजनिक गर्नु कति सुहाउँदो कुरा हो ? अहिले माओवादी नेताको चरित्र हेर्दा लाग्छ, दस वर्षसम्म बन्दुक बोकेर हिँड्नुको अर्थ नै सर्वसाधारणलाई धम्क्याएर चन्दा उठाएर आफ्नो भकारी बलियो बनाउनका लागि पो रहेछ । माओवादीका सबै नेता सम्पत्तिका धनी छन्, तर उनीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरण सरासर गलत छ । त्यसैले पनि यो छानविनको विषय हुनुपर्छ’ ।

सुजन देवकोटा मात्र होइन, मन्त्रीको सम्पति विवरण सार्वजनिक भएपछि सवर्त्र आलोचना र टिप्पणीहरु उठे, गरिब प्रधानमन्त्रीलाई एक रुपैयाँ उठाएर सहयोग गर्ने अभियान पनि चल्यो । नेताको नियमित पारिश्रमिक आउने कुनै माध्यम छैन, समाज सेवाका लागि राजनीति गरेको भनेर नथाक्ने नेताको खर्चिलो जीवनशैली र विलाशी मोहले धेरै जनताहरु पत्यार गर्ने अवस्थामा रहेनन् । दरबार जस्ता महल ठडाउने, चिल्ला गाडीमा हुइँकिने, विदेशमा छोराछोरीलाई पढ्न पठाउने, खर्चिलो दैनिकी अवलम्बन गर्ने अनि आफूलाई सर्वहारा वर्ग ठान्ने, जनताको असली सेवक ठान्ने र राजनीति केवल समाजसेवा र राष्ट्रसेवा मात्र हो, आफ्नो पैसा कमाउने कुनै लालशा छैन र थिएन भन्दै ओठे जवाफ तयार पार्ने राजनीतिको असली चरित्रजस्तै बनेकेा छ । हुन त राजनीतिमा जे जस्ता कुराहरु पनि जायज हुन्छन् र भइरहेको पनि छन् हामीले देखेका भोगेका र प्रत्यक्ष अनुभव गरेका छौँ । जब चुनाव आउँछ केही पैसा छैन भन्ने नेताले पैसाको खोलो बगाउँछन् कारण के हो ? हरेक पार्टीमा नाम चलेका गुण्डाको फूलमाला पहिर्‍याएर भित्राउनुको कारण के हो ? घामजतिकै छर्लग छ । पार्टी गुण्डाले चलाउने, सिद्धान्त नेताले चलाउनेजस्तै भएको छभन्दा फरक पर्दैन ।

राजनीतिबाट बिमुख कोही पनि छैन, कर्मचारी, पत्रकार, नागरिक समाज, विद्यार्थी, अस्पताल जहाँ पनि राजनीति नमिसिएको ठाऊँ छैन । नेताको जीवनशैली र सरकारी कर्मचारीको जीवनशैली लगभग उस्तै उस्तै छ भन्दा फरक पर्दैन । एउटै तहको सहकर्मी त्यही तलब खाएर महल ठड्याउँछ, कारमा हइकिन्छ शानको जीन्दगी बिताउँछ तर, त्यही स्केलमा तलब खाने एउटै तहको अर्को कर्मचारी महिना मर्दा भरघाडा, ग्यास, चामल, छोराछोरीको स्कुल फी यस्तै शीर्षकमा खर्च पुर्‍याउन नसकेर तनावमा अल्भिmन्छ । सबै नेताले समाजसेवा गर्दैनन् र सबै कर्मचारी राष्ट्रसेवक कर्मचारी हुँदैनन् यो सत्य कुरा हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेका सहभागीलाइ हेरौँ न । भीभीआइपी मानिएका पूर्वमन्त्रीहरु चित्रबहादुर केसी र गोकर्ण बिष्ट पैदल हिडेर गएको दृश्यले धेरैको मन जित्यो, कमसेकम बिष्ट र केसी जस्ता नेताहरुले राजनीतिको इज्जत जोगाउने काम गरेका छन् । भन्नेहरु पनि देखिए ।

इमान्दार र कर्तव्य निष्ठ कर्मचारीको पनि महत्व छैन र राजनीतिक दलका पदाधिकारीको पनि गणना छैन । जसले पैसाको खोलो बगाउन सक्छ, जसरी भए पनि आफ्नो पक्षमा माहोल बनाउन सक्छ त्यसैको बोलवाला हुने जमाना छ ।

एक औपचारिक कार्यक्रममा सहभागीहरुले नेतालाई सिधै सोधे, ‘तपाईहरु कहिलेसम्म चिया, चुरोट र रक्सीको भरमा आफुतिर कार्यकर्ता तानिरहनुहुन्छ ?’ नेतासँग जवाफ थिएन ।

नेतृ देवी खड्काले त आफुले पैसा बगाउन नसकेकै कारण एक पटकको निर्वाचनमा परायज भोग्नुपरेको तीतो यथार्थ बताइन् । पैसाबिना केही पनि नचल्ने फेरि त्यही पैसाको स्रोत खुलाउन नपर्ने कस्तो परिपाटी छ हामीकहाँ ?

मन्त्रीहरुको विलासी जीवनशैली र सम्पति विवरण चित्त नबुझेका कारण तुल्सीपुर दाङका कृष्णप्रसाद शर्माको यस्तो टिप्पणी छ ‘डेढ लाखको पलङमा सुत्छन् प्रचण्ड भनेर कुनैबेला मिडियामा पढेको थिएँ ।

कुन मन्त्रीको कति सम्पत्ति शीर्षकको समाचारमा देशका प्रधानमन्त्री प्रचण्डको सबैभन्दा कम सम्पत्ति भएको विवरण पढेपछि केही लेख्न मन लाग्यो । एकातिर हाँसो थाम्न सकिन, अर्कातिर प्रधानमन्त्रीप्रति सहानुभूति पनि जागेर आयो । यो समाचार पढ्दा लाग्यो कि देशमा एउटा पनि निष्पक्ष न्यायिक आयोग छैन, जसलाई जनताले विश्वास गर्न सकुन् र त्यसलाई आˆनो ठान्न सकुन् ।

सारा नेपाली जनताको आँखा र कान नै नभएजस्तो प्रचण्डको यस्तो सम्पत्ति विवरण बाहिर निकाल्नु अख्तियार अनुसन्धान आयोगको पनि लज्जास्पद कुरा हो । अहिलेका जनता अबुझ छैनन् । मेरो आग्रह प्रधानमन्त्रीज्यूलाई सत्य बोल्नुस् भन्ने होइन, पत्याउन सकिनेसम्मको झुठ बोल्नुस् भन्ने हो । तपाईबाट आएको यस्तो विवरणमा हामीले विश्वास गर्नुपर्छ भने हामीले भ्रष्टाचारको मूलजरो कसलाई मान्ने ‘?

बालाजुका पुरुषोत्तम घोरासैनीले भनेका छन् , ‘प्रधानमन्त्री पुष्पकमल दाहालको चितवन भरतपुरमा एक कठ्ठा जमिन र तीन तोला सुनमात्र भएको विवरण मन्त्रिपरिषदको वेबसाइटमा राखियो । उनी अहिलेको मन्त्रिपरिषदमा सबैभन्दा गरिब प्रधानमन्त्री हुन् । लाजिम्पाटस्थित ठूलो क्षेत्रफलभित्रको एउटा विशाल बंगलाभित्र गरिब प्रधानमन्त्री र उनको परिवारको बसोबास छ । उक्त घरको भाडा कति तिर्नुपर्छ, त्यसको स्रोत के हो भन्ने स्वयम् गरिब प्रधानमन्त्रीलाई पनि थाहा छैन । थाहा भएको भए सायद विवरणमा खुल्ने थियो ।

प्रधानमन्त्री नहुँदा पनि उहाँले देश-विदेशको भ्रमण गर्नुपर्दा हेलिकप्टर र प्लेन चार्टरमार्फत गर्नुहुन्थ्यो । तर यसको व्यवस्था कसले मिलाइदिएको हो, उहाँलाई नै थाहा छैन, अनि कसरी विवरण वेबसाइटमा राख्नु ‘?

सिन्धुलीका श्रीकृष्ण राजबंशीले गरेको टिप्पणी ‘पुष्पकमल दाहाल मन्त्रिपरिषदले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । संसारकै प्रचलनलाई नमानी हाम्रै चलेको चलनलाई आधार मान्दा पनि प्रायस्ले सरकार गठन भएको एक-दुई महिनाभित्र वा बढीमा ‘हनिमुन पिरियड’ अगावै झारा टार्नैपर्ने नजिरको कारण बुझाउने अभ्यास थियो । विचरा प्रचण्डसँग सम्पत्तिको नाममा तीन तोला सुन र एक कठ्ठा जमिन, त्यो पनि श्रीमती सीताको नाममा रहेको बताएका छन् । त्यही भएर सार्वजनिक गर्न समय लागेको होला, हिजो सुशील’दाको पनि तीनवटा मोबाइलमात्र थियो भनेर पढियो । यस्ता विवरण पढेर संसारका धेरै मानिसलाई आश्चर्य लाग्दो होला । नेपाल भनेको देशमात्र गरिब सम्झेको त प्रधानमन्त्रीहरू नै गरिब हुनेरहेछन् अनि जनता के खाएर धनी होस् ।

तर, हरेकजसो मन्त्रिपरिषदका केही सदस्यहरूको विवरण पढ्दा ‘हर्ट अट्याक’को अनुभव हुने, कतिले जिब्रो टोके होलान्, डाहले छटपटाए होलान् । सयौं तोला सुन, चाँदी र अर्बौं सम्पत्तिका मालिक । यसरी सरकार प्रमुख वा दलका शीर्षनेता कसैका जीवनशैली हेर्ने हो भने तिनको रवाफिलो, लोभलाग्दो जीवनयापनको आधार पत्याउने कसरी’ ?

सरकार गठन भएको लामो समयसम्म मन्त्रीहरुले आफ्नो सम्पति विवरण सार्वजनिक गर्दैनन् कारण के होला ? असल नियतले आर्जन गरेकेा सम्पति देखाउन मन्त्री नै बन्नुपर्दैन, मन्त्री, प्रधानमन्त्री भइसकेपछि त पदीय मर्यादाका कारण पनि देखाउनुपर्ने हो, तर कसरी कति सम्पति लुकाउने भएको देखाउनैपर्ने सम्पतिलाइ पनि कसरी देखाउने भन्दैमा दुईचार महिना बित्दोरहेछ हाम्रा माननीयहरुको । बल्लतल्ल सार्वजनिक गरेको सम्पति विवरणमा कसैको चित्त बुझ्दैन ।

समाजसेवा र राष्ट्रसेवामा लागेका नेताको नियमित आम्दानी हुने ठाऊँ छैन, सांसद हुँदा धेरैजसो रकम लेबी बुझाउनैपर्छ फेरि उनीहरुकै जीवनशैली पत्याइनसक्नुको कसरी हुन्छ ? सरकारी तलव भत्ता खाने कर्मचारीको कुरा पनि यो भन्दा कम छैन । नेता र कर्मचारीको एउटा मात्र फरक छ कर्मचारीले हरेक महिना तलव पाउँछन् नेताको त्यस्तो तोकिएको हुदैन तर जीवनशैली खासै अन्तर देखिँदैन ।

इमान्दार भएर राजनीति गर्ने मन्त्री अहिले पनि डेरामै बस्छन् सार्वजनिक गाडीमा यात्रा गर्छन् । इमान्दार कर्मचारी पनि इमान्दारिताले कमाएको पैसाले दायाँबायाँ गर्न पुग्दैन, निर्वाहको जीवन चलाएका हुन्छन् । तर, दुई नम्बरी गर्ने कर्मचारीले त्यही तलव खाएर दरबारजस्ता महल ठड्याएका हुन्छन् । चिल्ला गाडीमा हुइकिएका हुन्छन् । छोराछोरीलाई देशकै महंगा स्कुल तथा विदेशमा समेत पढ्न पठाएका हुन्छन् । यो सबै कसरी सम्भव हुन्छ र भइरहेको छ ? बडो अचम्मको तरिका छ ।

नेताले जति सम्पति छ सबै दाइजोमा ल्याउने कर्मचारीले जति सम्पति छ, त्यो तलब भत्ताबाट कमाउने यो भन्दा अर्थोक केही माध्यम छैन । नेताका ससुरालीको सम्पति विवरण पनि छानविनको दायरामा ल्याउनुपर्ने हो कि होइन ? ज्वाइलाइँ नब्बे तोला सुनले पहेलपुर बनाउन सक्ने ससुरालीको आर्थिक उपार्जनको माध्यम के हो ? यो विषय कहिल्यै पनि चर्चाको विषय बन्न सकेन । मन्त्रीले सम्पति विवरण देखाउँछन्, जति सम्पति छ सबै ससुरालीले दाइजोमा दिएको मन्त्री त दाइजोको यति पि्रय भएपछि सामान्य नागरिकले दाइजो नल्याएको बहानामा महिलामाथि हिंसा गर्ने, अन्याय गर्ने र दवाव दिने कुनै नौलो कुरा भएन । नब्बे पोटी लसुन नहुने जनताका नब्बे तोलाका सुन मन्त्री हुने देश न हो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
यमुना अर्याल

सामाजिक बिषयमा कलम चलाउने यमुना अर्याल अनलाइनखबरकी स्तम्भकार हुन् ।

ट्रेन्डिङ

Advertisment