+
+

‘सञ्चारमन्त्री ज्यु ! इन्टरनेटले पठन संस्कृति घटाउँदैन’

लक्ष्मण गम्नागे भन्छन् - म त इन्टरनेटमै पढ्छु

ध्रुव लम्साल ध्रुव लम्साल
२०७३ माघ १५ गते १४:४८


१५ माघ, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री राम कार्कीले काठमाडौंमा आयोजित एक कार्यक्रममा इन्टरनेटका कारण पठन संस्कृति घट्दै गएको टिप्पणी गरेकोमा कतिपय लेखकहरुले आश्चार्य प्रकट गरेका छन् ।

के इन्टरनेटले नेपालमा पठन संस्कृति घटाएको हो ? हामीले केही साहित्यकारसँग यसबारे जिज्ञासा राख्यौं । धेरै साहित्यकारले यसमा असहमति जनाए । सञ्चारमन्त्री कार्कीले इन्टरनेटका कारण गहन अध्ययनमा कमी आएको कुरा गरेकोमा मुलुकका स्थापित साहित्यकारहरु सहमत छैनन् ।

म त इन्टरनेटमै पढछुः लक्ष्मण गम्नागे

फ्याट्टै जवाफ दिन अलि गार्‍है हुन्छ । इन्टरनेटले पठन संस्कृति घटाएको छ वा बढाएको छ । यो अब अध्ययनको विषय हुन सक्छ ।

इन्टरनेटका कारण पत्रपत्रिका र पुस्तक किन्ने बानी घट्दै गएको सत्य हो ।

म आफैं पनि अहिले सबै पत्रपत्रिका किन्दिनँ, धेरैजसो इन्टरनेटमै हेर्छु । पुस्तक किनेनन् वा पत्रिका किनेनन् भन्दैमा पठन संस्कृति हरायो भन्न अलि मिल्दैन कि ?

इन्टरनेटको पहुँचमा पुगेपछि त एउटै ल्यापटप वा कम्युटरको भरमा सयौं किताब पढन सकिन्छ । सबै पुस्तकलाई कम्युटराइज्ड गर्ने हो भने मुलुकलाई घाटा हुन्न । पाठकलाई पनि फाइदा नै हुन्छ ।

सञ्चारमन्त्रीमा ज्ञानको कमी रहेछः राजेन्द्र थापा

पहिला म हातले लेख्थें अहिले सबै उपन्यास कम्युटरमा लेख्छु । कम्युटर, ल्यापटप अहिलेको आवश्यकता हो । अब मैले कापी कलम हरायो भनेर चिन्ता गरेर हुन्न । हरेक कुरा समयअनुसार परिवर्तन हुँदै जान्छ ।

इन्टरनेटले पठन संस्कृति हराएको छैन । बरु बढाएको छैन । हाम्रोमा त त्यस्तो बृहत भएको छैन ।

 

अमेरिकाको कुरा गर्नुहुन्छ भने सबै किताब इन्टरनेटमा पढन पाइन्छ ।

अब इन्टरनेटमै सबै कुरा पढ्न पाइन्छ भन्ने किन किन्ने किताब र पत्रपत्रिका ? समय अनुसार हरेक कुरा परिवर्तन हुँदै जान्छ । त्यसलाई स्वीकारेर अघि बढ्नुपर्छ ।

हाम्रो सञ्चारमन्त्रीमा ज्ञानको कमी देखियो ।

 

यो अर्धसत्य होः अमर न्यौपाने

खै, त्यही किताबले नै म बाँचिरहेको छु । अहिलेसम्म कुनै जागिर खाएको छैन । पठन संस्कृति घट्दो थियो भने त मेरा किताब किन बिक्थे होला र ?

जहाँसम्म इन्टरनेटले पठन संस्कृति घटायो भन्ने कुरा छ, केही हदसम्म सत्य पनि हुन सक्छ ।

पूर्ण सत्यचाँहि होइन । अर्धसत्य हो । इन्टरनेटमा उपलब्ध सुविधाले गहिरो अध्ययन गर्न चाहनेहरुलाई हल्का बनाएको चाँहि हुनसक्छ ।

मैले पनि जति पनि पाठकहरु भेटेको छु । सबै योङहरु हुनुहुन्छ, जो इन्टरनेटमा जोडिएका छन् ।

बुकसाइन कार्यक्रममा पनि प्राय तन्नेरी पुस्ताकै बाहुल्यता भएको भेटेको छु ।

 

इन्टरनेटले झन् पाठक-लेखकको सम्बन्ध बढाएको छः विमला तुम्खेवा

हरेक कुराको राम्रो-नराम्रो दुबै पक्ष हुन्छ । प्रविधिको विकास जति नै धेरै भए पनि पुस्तकको महत्व हराउँछ जस्तो लाग्दैन । अहिलेका पाठक इन्टरनेटमा पहुँच हुने र नहुने दुबैखालका छन् । इन्टरनेटमा पहुँच हुँदैमा कसैले पुस्तक पढ्दैन भन्ने होइन ।

इन्टरनेटकै कारण पाठक र लेखकको सम्बन्ध गाढा भएको छ । अब लेखक के कुरामा सचेत हुन जरुरी छ भने अब लर्तरो लेखनले स्थापित हुन सकिँदैन ।

इन्टरनेटले पाठकलाई यति चलाख बनाएको छ । हामी लेखकभन्दा पाठकहरु कयौं गुणा चलाख भइसके । यदि लेखन राम्रो भएन भने हामीलाई तुरुन्तै रिजेक्ट गरिदिन्छन् । पाठकले रिजेक्ट गरिसकेपछि कुनै उपाय हुन्न ।

अब यस्तो भयो, बिमला तुम्खेवाले कविता लेख्नु ठूलो कुरा भएन, मेरो लेखनमा पाठकले आफुको भोगाइ भेट्छ कि भेट्दैन । यदि आफ्नो जीवन भेटेन भने पाठकले मन पराउँदैन ।

इन्टरनेटकै कारण लेखकलाई चुनौति थपिएको पक्का हो । अब बृहत अध्ययन गरेर मात्रै लेख्नुपर्ने अवस्था सिर्जना भएको छ ।

 

के भनेका थिए सञ्चारमन्त्रीले ?

सञ्चारमन्त्री कार्कीले शुक्रबार राजधानीमा कवि शम्भुकुमार मिलनद्वारा लिखित ‘आँखामा जापानः मनमा नेपाल’ नामक यात्रा अनुभूतिको विमोचन गरे । सो कार्यक्रममा उनले इन्टरनेट माध्यमका कारण पठन संस्कृति घट्दै गएको बताए ।

मन्त्री कार्कीले पाठकहरुलाई आकषिर्त गर्न पठन संस्कृतिको अभिरुचि अनुसार लेख, सामाग्रीहरु प्रकाशन गर्न लेखक साहित्यकारको ध्यान जानुपर्ने सो कार्यक्रममा बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?