+
+

‘एमाले स्कुल त सिम्पल हो, माओवादीबाट जोगिन सकेन’

ट्रम्प र सी जिनपिङले माला लगाएको देख्नुभएको छ ?

योगेश भट्टराई योगेश भट्टराई
२०७३ माघ १६ गते १०:१९

मेरो आफ्नै घटना छ । म कुनै एयरपोर्टमा उत्रिएँ, नाम नलिउँ, त्यहाँका साथीहरुको चित्त दुख्छ । कार्यकर्ताहरु माला लिएर आए। म पार्टीको निकै तलको पोर्टफोलियोमा छु । मेरा लागि त यति माला लिएर आउँछन् भने पार्टी अध्यक्ष केपी ओली, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल जाँदा कति माला लगाउलान् ? विचरा कार्यकर्ता हैरान !

अनि मैले भनेँ, यो माला नलगाउँ साथी हो । हाम्रो लेभलको मान्छेले यो गर्न पनि राम्रो होइन । उनीहरुले मलाई भने, यहाँ माला लगाउनुस्, यो गाडीमा बस्नुस् र सारा बजार घुम्नुपर्छ । उनीहरुले मलाई बजार घुमाए ।

पछि मलाई होटलमा छोड्न आउँदा त्यहाँको जिल्ला अध्यक्षले भने कि कमरेड राम्रो भए पनि नराम्रो भए पनि यहाँ यो संस्कार छ, यो गरिएन भने एमाले सिद्धिएछ भन्छन् । त्यसकारण एमाले छ भनेर देखाउन पनि यो गरेको हो । उनीहरुले यसो भनेर मलाई स्पष्टीकरण दिए । भनेपछि कार्यकर्तार्को पीडा यस्तो छ । त्यसैले मैले पोखरामा जवस मोर्चाको भेलामा आफैंभित्रबाट सुधार गर्ने प्रस्ताव गरेँ ।

विकृति आयो, कार्यकर्ताहरू रोएर हिँडेका छन्

पछिल्लो कालमा नेपालको राजनीतिमा सांस्कृतिक विचलनहरु धेरै भए । पार्टीहरुभित्र हाइफाई संस्कृति ज्यादा भयो । एमाले, कांग्रेस, माओवादी कोही पनि यसमा अछुतो छैन ।

हामी मार्क्सवादी, कम्युनिष्टहरु अलि अलग संस्कृति हुनुपर्ने, जीवनशैली, पद्दति सामान्यीकरण गर्नुपर्ने । तर, हाम्रोमा पनि त्यति राम्रो भइरहेको छैन । तडक-भडक गर्ने, एयरपोर्टमा नेता लिन आउँदा सयौं मोटरसाइकल र गाडीको लाइन लगाउने, अरुलाई के असर पर्छ भनेर नहेरी भीआईपी कोठामा कार्यकर्ता गरिएर बस्ने, त्यहाँको सुरक्षाकर्मीले केही बोल्न नसक्ने । कुनै कार्यक्रममा गए अगुवा पछुवा लिएर हिँड्ने । यस्तो चलन बढेको छ ।

कार्यकर्ताले पाँच जनालाई खानाको व्यवस्था गरेको हुन्छ, सय जना लिएर गइदिने । कहाँबाट खुवाउनु ? बजेट कहाँबाट व्यवस्था गर्नु ? आज पनि कतिपय जिल्लामा हाम्रा नेताहरुले खाएको बिल बाँकी छ । कार्यकर्ता धुरुधुरु रोएर हिँडेका छन् ।

नेता आउँछ, होटलमा बस्छ, सामान्य पसलमा २० रुपैयाँ कम चिया पाइन्छ, होटलमा ५० रुपैयाँ पर्छ । पहिले पो कार्यकर्ताको घरमा बस्थे, अचेल होटलमा बस्छन् । यस्ता धेरै कुराले हाम्रो पार्टी पंक्तिलाई आजित बनाएको छ ।

हाम्रो पार्टी पनि हिजोको भन्दा बुढ्याौली हुँदै गयो । बुढ्यौली हुँदै गएपछि मान्छेले सम्मान खोज्छ । कमिटीहरु पनि ठूला छन् । विभाग, कमिटी, मोर्चा हरेकले मञ्चमा ठाउँ खोज्छन्, नभए रिसाउँछन् । को भन्दा कसलाई पहिला बोलायो भनेर हिसाव राख्ने र त्यसलाई नै आलोचनाको विषय बनाउने गरिन्छ । त्यस्तै परे त्यही कारणले चुनावमा टिकट पनि नदिनेसम्मका व्यवहार भए ।

मञ्चमा राख्ने ठाउँ छैन बोलाएको छ, बोलाएको छ । एक घण्टासम्म आसनग्रहण नै हुने । कार्यक्रम सकिन लागेर सभापतिलाई समापनका लागि बोलाउने बेलामा पनि ‘यसै बीचमा फलानोलाई पनि आसन ग्रहणको आग्रह जोड्छु’ भन्छ । र, ‘मर्यादा क्रम तालमाथि परे मलाई क्षमा गर्नुहोला’ भन्छ विचरा उद्घोषक ।

यो त राम्रो भएन, केही न केही सुधार गर्नुपर्‍यो । सार्वजनिक हिसावले पािन मानिसहरुले यसलाई राम्रो मानेका छैनन् । सामाजिक सञ्जालमा पनि यसप्रति कुनै सकारात्मक धारणा देखिँदैन । अन्तरारष्ट्रिय अभ्यास पनि छैन ।

होला, हाम्रो देशको आफ्नो संस्कृति पराम्परा, अगुवालाई माान्ने छ, त्यसमा हामी विशिष्ट छौं । तर, सम्मानले हद नाध्यो भने अपमान हुन्छ । एउटा नेतालाई १०० वटा माला लगाइदिनु भनेको अपमान नै गर्नु हो । भारतमा अहिले पनि नेतालाई ५०/६० किलोको माला लगाउने, ठूलो कलाकार आयो भने खुट्टा छुने कल्चर छ, त्यसको प्रभाव पनि परिरहेको छ ।

हामी सिम्पल हौं, तर माओवादीबाट जोगिन सकेनौं

खासगरी पञ्चायतकालको माले र पछि एमाले स्कुलिङबाट आएका हाम्रो स्कुल सिम्पल -सादगी) हो । तर, पछिल्लो कालमा जब माओवादी खुला राजनीतिमा आयो, त्यसले यो संस्कृतिमा भ्रष्टीकरण गर्‍यो । र, हामी पनि जोगिन सकेनौं । लौ, प्रचण्डले त अनुहार नदेखिने गरी माला लगायो, हाम्रो अध्यक्षले त्योभन्दा बढी लगाउनुपर्‍यो ।

प्रचण्डलाई लिन एयरपोर्टमा ५०० जना गए भने हाम्रो अध्यक्षलाई लिन ६०० जानुपर्छ भन्ने । प्रचण्ड जुन स्तरको होटलमा बसे, त्यस्तै होटलमा बस्नुपर्ने, भोजभतेर गर्नुपर्नेर् । माओवादीले यसखालको संस्कृतिमा भ्रष्टीकरण गर्‍यो ।

हाम्रा पार्टीहरु त सामन्ती घरानाबाट बनेका होइनन् । त्यो सामन्ती घरानासँग लडेर बनेका पार्टीहरु हुन् । त्यसो हुँदा त्यो सामन्ती संस्कारभन्दा भिन्न हुनुपर्‍यो नि । तर, पार्टीका नेताहरु नै सामान्ती घराना जस्तै हुन थाले ।
नेताहरुको घरमा विहानै कार्यकर्ता जाने, नेताहरुले पनि त्यसमै आनन्द लिने । सम्पन्न र मनको उदार छ भने खानपिन पनि गराउँछ । नभए चिया पनि खुवाउँदैन । अनि त्यहाँबाट पनि नेताहरु जाँचिने, आहो यसले त भात खुवायो, चिया खुवायो यो राम्रो नेता । अर्काले त चिया पनि खुवाएन, यो त खत्तम रहेछ । उसको हैसियत छ कि छैन, खुवाउन कहाँबाट आउँछ केही हेर्न छाडियो ।

यसैलाई हेरेर हामीले पार्टीभित्र सांस्कृतिक शुद्धता/रुपान्तरणको कुरा गर्न खोजेका हौं । यसका लागि पहिले आफूभित्रैबाट सुरु गरौं भनेर हामीले मोर्चा संगठनको पोखराको भेलामा यो प्रस्ताव गर्‍यौं ।

हामीले एउटा टीम बनाएका थियौं, म पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल र सूर्य थापाको टिमले ड्राफ्ट गर्‍यौं र, हलमा मैले प्रस्तुत गरेँ ।

ट्रम्प र सी जिनपिङले माला लगाउँछन् ?

सुरुमा कतिपय साथीहरुलाई यो पचेको थिएन । भोलि कांग्रेस आउँछ, माला लगाउँछ, हाम्रो नेता आउँछ, माला नलगाई जाँदा यसका समर्थक नै रहेनछन् जस्तो ह्न्छ, त्यसैले छलफलमा यो गर्ने कि नगर्ने भन्ने कुराहरु भए । भोलि यो घोषणाबाट ब्याक हुनुपर्ने पो हो कि ? लोकपि्रय घोषणा गर्‍यो तर, कार्यान्वयन भएन भने मानिसहरुले झन खिल्ली उडाउँछन् कि ?

मैले साथीहरुलाई भने, जनवरी २० मा ट्रम्पले सपथ लिए । सपथ लिन आउँदा न उनको आसनग्रहण भयो न माला लगाएर आए, न दाँयाबाँया भिड लिएर आए । सामान्य ढंगले आए ।

८ वर्ष अमेरिकाको राष्ट्रपति भएर पछिल्लो कालमा एकदमै लोकप्रिय भएका बाराक ओबामाले हृवाइट हाउस छाड्दा, नेपालमा भए उनलाई कति माला लगाउँथे होलान्, तर, उनी सामान्यरुपमा आफ्नी श्रीमतीका साथमा हृवाइट हाउस छाडेर गए ।

मैले साथीहरुलाई भनेँ, आजको दिनमा अमेरिकालाई समेत चुनौती दिइरहेको छ चीनले । र, त्यसका राष्ट्रपति सी जिनपिङले माला लगाएको देख्नुभएको छ ? खादा लगाएको कहिल्यै टेलिभिजनमा आएको छ ? अनि उनले भाषण गरिरहँदा उनका कार्यकर्ताले सी जिनपिङ जिन्दावाद भनेर नारा लगाएको सुन्नुभएको छ ? केही छैन । सामान्य ढंगले जान्छन् र आफ्ना कुरा राख्छन् ।

माओत्सेतुङ, तेङ स्याओपिङपछि सी जिनपिङ लोकप्रिय छन् । एसियादेखि, ल्याटिन अमेरिकादेखि अफि्रकासम्म चीनले सारा बजार कब्जा गरिसक्यो । माला लगाएर गरेको हो ? खादा लगाएर गरेको हो ? भइ त रहेको छ । उनीहरुलाई गर्नु नपर्ने, अनि हामीलाई गर्नु पर्ने ?

मैले यति भनेपछि ५ मिनेट ताली बजाएर पास भयो ।

अब यो लागू भइसकेको छ । हालै प्रेस चौतारीको कार्यक्रममा कुनै माला, खादा पनि लगाइएन । हामी मञ्चमा थिएनौं । यसले एमाले रुपान्तरण र सामान्यीकरण गर्दैछ भन्ने देखिन्छ ।

(एमाले सचिव भट्टराईसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?