Comments Add Comment

पोखरा पुगेका कुलमान घिसिङले भने- अर्को वर्ष प्राधिकरण नाफामा जान्छ

१७ माघ, पोखरा । लोडसेडिङ हटाएर नेपालीहरुको हिरो बनेका कुलमान घिसिङले अबको एक वर्षमा विद्युत् प्राधिकरणलाई नाफा कमाउने अवस्थामा पुर्‍याउने बताएका छन् ।

पोखरामा आयोजित नेपाल साहित्य महोत्सवमा घिसिङले अर्को आर्थिक वर्षसम्ममा प्राधिकरणलाई घाटाबाट निकालेर नाफा कमाउने संस्थाको रुपमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यही हिसाबले अहिले काम भइरहेको जानकारी दिँदै उनले भने, ‘प्राधिकरणको अहिलेको वार्षिक १२ अर्ब रुपैयाँको घाटा र कुल ३७ अर्बको घाटालाई शून्यमा झारेर यसलाई अझ नाफामा पुर्‍याउने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ ।’

त्यसै क्रममा पहिले विद्युत् चुहावट नियन्त्रणलाई अभियानको रुपमा अगाडि बढाएको घिसिङले बताए ।

अहिले पिक समयमा भारतबाट तीन सय ४० मेगावाट बिजुली आयात भइरहेकोमा बिस्तारै आयात न्यून गराउँदै जाने पनि उनले बताए । तर, कम मूल्यमा आयात भइरहेको अवस्थामा ठूलो लगानी गरेर तत्काल विद्युत् उत्पादन गर्नतिर एकैचोटि जान नसकिने उनले उल्लेख गरे ।

उनले अगाडि भने, ‘यस्तो पिक छ, त्यो पिक हाम्रै जेनेरेसनबाट मात्रै पूर्ति गर्नुपर्छ भन्ने हो भने कति लगानी गर्ने ? ठूलो लगानीलाई सानो आयातले पूरा गर्न सकिन्छ भने त्यसलाई पनि हेर्नुपर्छ ।’

तर, यसको मतलब आयातमा निर्भर रहने नभई भोलिको दिनमा नेपालले भारतलाई बिजुली बिक्री गर्ने अवस्थामा पनि जाने बीच आपसी निर्भरताको उनले योजना सुनाए ।

साथै घिसिङले आफू नेतृत्वको प्राधिकरणमा सबै गलत मान्छेहरु मात्र नभएको उल्लेख गरे । मातहतका कर्मचारीलाई कसरी परिचालन गर्ने र कसरी काम गर्ने भन्ने कुरा लिडरसिप र व्यवस्थापनमा पनि निर्भर रहने तर्क गरे ।

उनले भने, ‘लिडरसिपले कर्मचारी र आफ्नो टिमलाई कसरी उत्प्रेरित गर्ने, आफ्नो मिसनमा कसरी डोर्‍याउने  भन्ने नै मुख्य विषय हो । यसको लागि एकदम राम्रो मान्छे छानेर हुँदैन, भएकै र नराम्रो मान्छेलाई समेत राम्रो बनाएर काम गराउनु चाहिँ लिडरसिप र म्यानेजमेन्ट हो ।’

उनले चार महिनाअघि आफू प्राधिकरणमा आएपछि कर्मचारीहरुलाई सबैले राम्रो पर्फमेन्स दिन आग्रह गर्दै पर्फमेन्सकै आधारमा पुरस्कार र दण्ड दिने कुरा बताएको र अहिले सबैले राम्रो काम गरिरहेको बताए । प्राधिकरणभित्र सबै जना भ्रष्टाचारी नभएको भन्दै उनले हिजो नराम्रो भनेका मान्छेहरुले पनि राम्रो पर्फमेन्स दिइरहेको उल्लेख गरे । यसो हुनुमा उनले कारण खुलाए, ‘प्रतिबद्धता लिडरसिपबाट जानुपर्छ । प्रतिबद्धता र इमानदारी भयो भने अगाडि बढ्छ ।’

सोही छलफलमा रहेका स्वास्थ्य मन्त्री गगन थापाले अहिलेको अनुभवबाट हेर्दा कुलमान जस्ता दुई-चार जना प्रशासक हुने हो भने देशमा जादु पो हुन्छ कि भन्ने अनुमान हुने भन्दै प्रशंसा गरे ।

सरकार फेरिनासाथै नियुक्तिहरु फेरबदल हुने कुरा स्विकार्दै मन्त्री थापाले कुलमान जस्ता व्यक्तिलाई प्राधिकरणमा निरन्तरता दिइरहनुपर्ने भए पनि त्यसमा सबै कुराको जिम्मा आफूले लिएर प्रतिबद्धता दिन नसक्ने बताए ।  उनले भने, ‘व्यक्तिगत रुपमा मैले उहाँ नै रहिरहनुपर्छ भनेर आग्रह राख्छु । तर, सबै कुराको जिम्मा लिएर प्रतिबद्धता जनाउन सक्दिनँ ।’ उनले आफ्नो तर्फबाट प्रयास भने गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment