Comments Add Comment

न्यूजिल्याण्डमा रक्सी पिएर गाडी हाँक्ने नेपाली युवकलाई देश निकालाको आदेश

दिपेन्द्र भन्छन्ः अब जीवनभर रक्सी छुन्न

दिपेन्द्र प्रधान । तस्वीर: क्रिस्टल यार्डले/फेयरफ्याक्स

१९ माघ, न्यूजिल्याण्ड । उनले रक्सी पिएर गाडी चलाए र समातिए । अधिकांस व्यक्तिहरु यस्तो लफडामा पर्दा एक थप्पड र निश्चित जरीवानामा कुरा सकिन्छ । तर दिपेन्द्र प्रधानले भने यसको निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ ।

रक्सी पिएर गाडी चलाएको र प्रहरीको अगाडि नरोकिएको आरोपमा उनलाई पक्राउ गरिएको थियो । पछि उनलाई मुद्दा नचलाइकन छाडियो । तर न्यूजिल्याण्डको अध्यागमनले उनलाई देश छोड्न भनिरहेको छ ।

पार्टनरसिप भिसामा एक वर्ष अगाडि न्यूजिल्याण्ड आएका दिपेन्द्र केही हप्ता अगाडि तौरङ्गामा आफ्ना केही साथीहरुसँग मस्ती गरिरहेका थिए । सामान्यतया वियर मात्र पिउने यी २९ वर्षीय युवालाई साथीहरुले त्यस दिन ह्वीस्कीको स्वाद चखाए । स्टुडेन्ट भिसामा न्यूजिल्यान्ड आएकी र पछि वर्क भिसा पाएकी उनकी श्रीमती सर्जना दुवाल आफ्नो काममा थिइन् ।

राति एक बजे दिपेन्द्रले गाडी चलाएर घर जाने निर्णय गरे । बाटोमा प्रहरीले उनलाई रोक्न खोज्यो । उनी अली अगाडि पुगेर मात्र रोकिए । सुरुमा आफूले प्रहरीले लाइट बालेको नदेखेको उनले बताए ।

प्रहरीको रिपोर्टमा उनले अल्कोहल पिएको देखियो । उनलाई नशालु पदार्थ सेवन गरेर गाडी चलाएको र प्रहरीको अगाडि नरोकिएको अभियोग लगाइयो ।

नशालु पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा उनलाई ८ सय ६० डलर जरीवाना गराइयो भने प्रहरीको अगाडि नरोकिएको आरोपमा थप ५०० तिराइयो । उनलाई गाडी चलाउन पनि अयोग्य ठहर गरियो ।

त्यसको एक महिनापछि एउटा पत्र दिपेन्द्रको हातमा पर्‍यो । त्यसमा उनलाई चाँडै देश निकाला गर्न सकिने आशय उल्लेख थियो ।

दिपेन्द्र र सर्जना मध्यमवर्गीय परिवारका हुन् तर घर फर्किनु पर्‍यो भने पहिलेको जस्तो अवस्था रहँदैन ।

दिपेन्द्र प्रधान र सर्जना दुवाल । तस्वीर: क्रिस्टल यार्डले/फेयरफ्याक्स

दिपेन्द्र भक्तपुरका हुन् । नेपालमा छँदा उनको आफ्नै अफिस थियो, जहाँ उनी वेबसाइट डेभलपरको रुपमा काम गर्थे । उनी सर्जनाको पढाईमा भरथेग गरिरहेका थिए । सर्जनाले २०१४ मा स्टुडेन्ट भिसाको लागि आवेदन दिइन् । तर एक वर्षसम्म कुनै जवाफ आएन । यो जोडी न्यूजिल्याण्डमा गएर पढ्न चाहन्थ्यो किनकी यहाँको शैक्षिक प्रणाली राम्रो छ भन्ने उनीहरुले सुनेका थिए । त्यही बेला नेपालको जमिन हल्लियो ।

‘हामीले जताततै रगत देख्यौं,’ सर्जना भन्छिन्, ‘मानिसहरु रोइकराइ गरिरहेका थिए । जताततै लाश छरिएका थिए । धुलो उडेको थियो । हामी आफ्नो परिवार भेट्न गयौं । सडकहरु सबै बन्द थिए । घरहरुको भग्नावशेषमा कुल्चिदै हामी आफ्नी आमालाई भेट्न पुग्यौं । उहाँ रोइरहनु भएको थियो । एकै दिनमा हामी मध्यवर्गीयबाट विपन्न परिवारमा परिणत भएका थियौं ।’

उनीहरु केही महिनासम्म पालमुनी बसे । त्यसपछि सर्जनाको भिसा लाग्यो । यो जोडीका लागि नयाँ जीवन बाँच्ने अवसरको ढोका खुल्यो । ‘म सधैं आफ्नी पत्नीलाई राम्रो शिक्षा दिन चाहन्थेँ ताकि उनको भविष्य चम्किलो होस्, तर मेरो एउटा गल्तीले सबै सत्यानाश भयो,’ दिपेन्द्र चुक्चुकाउँदै भन्छन् ।

सर्जना आफ्नो घरको झ्यालबाट बाहिर हेरिरहेकी छिन्, प्रहरी आउने र उनको श्रीमानलाई लैजाने त्राश बोकेर ।

‘लाइसेन्स गुमाउनु सानो कुरा हो, देश निकाला हुने वास्तविक खतराको तुलनामा,’ उनले भनिन् ।

दिपेन्द्रलाई देश निकाला हुनबाट रोक्न उनीहरु कानूनी लडाई लडिरहेका न्यूजिल्याण्डको एक वेबसाइट स्टफले लेखेको छ ।

‘फर्केर नेपाल जानुको अर्थ थप संघर्ष हो । त्यहाँ म यति सजिलै जागिर पाउन सक्दिनँ । मेरी श्रीमतीको हकमा पनि त्यही हो । त्यहाँ जागिर पाउन एकदमै कठिन छ । फर्केपछि हाम्रो जीवन ठूलो कठिनाइमा फस्नेछ । त्यसैले म न्यूजिल्याण्डमा बस्नका लागि कानूनी उपायको खोजी गर्ने प्रयास गरिरहेको छु,’ दिपेन्द्र भन्छन् ।

उनले यसअघि अध्यागमनका सल्लाहकारसँग कुरा गरिरहेका थिए तर असफल प्रयासपछि उनलाई तौरंगाको ब्यारिस्टर नेड बुर्ककहाँ सिफारिस गरियो । दिपेन्द्रमाथिको अभियोग उल्टियो भने न्यूजिल्याण्ड बस्न पाउने सम्भावना बढ्ने बुर्कको विश्वास थियो ।

‘देश निकालाको सूचनाको आधार भनेको उनीमाथि लागेको अभियोग नै हो,’ बुर्कले भनेका थिए, ‘यदि अभियोग उल्टाउन हामी सफल भयौं भने उनको इमिग्रेसन स्टाटसमा सकारात्मक प्रभाव पर्नेछ ।’

गत अक्टोबरमा बुर्क दिपेन्द्रमाथिको अभियोग उल्टाउन सफल पनि भए । तर गत हप्ता दिपेन्द्रले अर्को पत्र पाए । यो देश छोड्ने आदेश थियो ।

दिपेन्द्र प्रधान र सर्जना दुवाल । तस्वीर: क्रिस्टल यार्डले/फेयरफ्याक्स

न्यूजिल्याण्ड अध्यागमनका सहायक महाप्रवन्धक पिटर डेभोइले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दिपेन्द्रलाई कुनै अभियोगबिना छोडिए तापनि उनले आफ्नो गल्ति स्वीकार गरिसकेका छन् । त्यसैले अध्यागमन ऐन २००९ को धारा १५७ मुताबिक अध्यागमन अधिकृतले उनलाई देश निकालाको निम्ति योग्य ठहर्‍याउन सक्छन् ।’

‘मैले ठूलो पाठ सिकेँ,’ दिपेन्द्र भन्छन्, ‘त्यो दिनको घटनाप्रति मलाई पश्चाताप छ । त्यो दिनपश्चात मैले रक्सी छोएको पनि छैन । अब जीवनभर रक्सी नपिउने प्रण गरेको छु किनकी यसले मेरो जीबन बर्बाद गरिदियो । म खालि एउटा मौका चाहन्छु कि म सुध्रिएँ भनेर प्रमाणित गर्ने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment