Comments Add Comment

लघु वित्तले झुण्ड्यायो सपना राउतलाई

सल्यान । म सपना रावतको ठूलोबुवा हुँ । उनी मेरी सालीकी छोरी हुन् । सपनाले आत्माहत्या गर्नु १० दिनअघि म उनको घरमा पुगेको थिएँ । त्यसबेला लघु वित्तमा समूह बनाएका त्यहींका महिलाहरु आएर नानाभाँती गाली गरिरहेका थिए ।
तर, मेरो कुरा कसले सुन्ने ? ‘तँलाई खानै दिँदैनौं, बस्नै दिँदैनौं, तेरो घर भत्काइदिन्छौं’ भन्दै उनीहरु उफ्रिरहे । उनीहरुले यसरी साँझ-बिहानै आएर धम्काइरहेका रहेछन् । कहिले महिला समूह, कहिले लघु वित्तका कर्मचारीहरुले सातो लिने गरेका रहेछन् ।सपनालाई कोही ‘किस्ता देउ’ भन्दै कराइरहेका थिए । कोही भाँडावर्तन लानुपर्छ भन्दै थिए । कोही घरै भत्काउँछौ भन्दै थिए । मैले उनीहरुलाई भनें, ‘घरमा न ऋण खाने आमा छ, न बुवा छ । बिचरा यी साना बच्चाहरुलाई किन दुःख दिएको ?’

घरमा ठूला मान्छे थिएनन् । सपनाका बुवा काम खोज्दै कतार गएका थिए । आमा एक महिनादेखि बेपत्ता थिइन् । लघु वित्तबाट लिएको ऋण तिर्न नसकेकाले उनी ‘इन्डियातिर भागेको’ हल्ला थियो । पछि दाङतिर आएर लुकीछिपी बसेको सुनिन्थ्यो । दुई/तीन दिनमा घर फर्कन्छु भनेकी थिइन् रे । तर, उनले छोरीलाई भेट्न पाइनन् । आमा घर नआउँदै छोरीले आत्महत्या गरिन् ।

पोहोरको बाढीपहिरोले उनीहरुको घर बगाएको थियो । त्यसैले घर बनाउनकै लागि सपनाकी आमा दीलकुमारीले लघु वित्तबाट ऋण लिएकी रहिछन् । मैले सुनें अनुसार उनले थुप्रै लघु वित्तबाट मासिक किस्ता बुझाउनेगरी ऋण लिएकी थिइन् । त्यसमध्ये धेरै त समूहकै साथीमार्फत ऋण लिएछन्, कमिसन दिने सर्तमा ।

आफू आवद्ध नभएको लघु वित्तबाट ऋण लिनका लागि साथीभाइलाई गुहार्ने गरिन्छ । साथीभाइले आफ्नो नाममा ऋण निकाल्छन् । यसका लागि उनीहरुलाई छुटै कमिसन दिनुपर्ने हुन्छ । दिलकुमारीले ९ लाख रुपैयाँ कमिसन नै तिर्नुपर्ने रहेछ ।

ऋण निकाल्दै घर बनाए, ट्वाइलेट बनाए, कुखुराको खोर बनाए । यसरी आम्दानी हुने ठाँउमा लगानी नगरेर उनले गल्ती गरिन् । तर, घर बनाउनुपर्ने वाध्यता पनि त थियो ।

एकातिरको ऋण लिएर अर्कोतिर टाल्न थालेछन् । तर, पछि त्यसरी काम चलाउने पैसा पनि आउने बाटो बन्द भयो । जताततै ऋणै ऋण ।

अब विहान उठ्न नपाई लघु वित्तका कर्मचारी, महिला समूह घर घेर्ने आइपुग्ने । साँझमा पनि आएर कराउन थाल्ने । गरी खानै गाह्रो भए छ क्यार, घर छाडेर भागिन् । उनी त भागिन् । तर, बालबच्चा कहाँ जाने ? घरमै थिए ।

कहिले काहीँ म उनीहरुको घरमा हेरबिचार गर्न पुग्थें । म पुगेका बेला कुनै न कुनै लघु वित्तका महिलाहरु आएर नानीहरुलाई धम्काइरहेकै हुन्थे । कराइरहेका हुन्थे । बिचरा नानीहरु न सन्तोषले खान पाउथे, न सुत्न । लघु वित्तकै कारण उनीहरु मानसिक तनाव झेलिरहेका थिए ।

माघ ६ गते पनि त्यस्तै भएछ । बिहानैदेखि समूहका महिलाहरु गएर गाली गर्न थालेछन् । लघु वित्तका कर्मचारी पुगेर डर, त्रास देखाएछन् । त्यही साँझ पाँच बजेतिर हुनुपर्छ, शारदा नगरपालिका-१ श्रीनगरस्थित घरमै सपनाले गलामा पासो लगाइन् ।

उनी १६ वर्षजतिकी थिइन् । उनले त्यसरी आत्महत्या गर्नुपर्ने अरु कारणै छैन । सुसाइड नोट पनि लेखेकी छैनन् । लघु वित्तको ऋणले दिएको तनावले नै उनलाई मर्न बाध्य बनाएको हो । किनभने उनले कति तनाव झेलिरहेकी थिइन् भन्ने कुराको साक्षी हुँ म ।

सपनाको मृत्यु होइन, लघुवित्तले गरेको हत्या हो ।

प्रस्तुती – शिव मुखिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment