Comments Add Comment

मधेसका सशस्त्र समूह सिध्याउने एसएसपी भन्छन्- अब काठमाडौंका गुण्डाको पालो !

फेसबुकमा महिलामाथि अपमान गर्नेलाई पनि नछाडिने

२६ माघ, काठमाडौं । उपत्यकामा हुने जघन्य अपराधको अनुसन्धान गर्ने महानगरीय अपराध महाशाखाको नेतृत्व १९ महिनासम्म सम्हालेर एसएसपी सर्वेन्द्र खनाल सरुवा भइसकेका छन् । र, यो कुर्सीमा आएका छन् अर्का एसएसपी दिनेश अमात्य ।

एसएसपी खनालले गुण्डा नाइके कुमार घैंटेको इन्काउण्टरदेखि विद्युत चोरी गर्ने सरकारी कर्मचारीसम्मलाई ठेगान लगाए । यसले सर्वेन्द्र खनालको मात्रै चर्चा भएन, अपराध महाशाखाकै शाख उच्च बनायो । सर्वेन्द्र अघिका प्रहरी अधिकृत एसएसपी पुष्कर कार्कीले पनि ७ वर्षअघि भएको चाचन हत्याकाण्डदेखि चरी डनको इन्काउण्टरसम्म गरेर महाशाखाको शाख माथि पुर्‍याएका थिए ।

पछिल्लो तीन वर्षमा लगातार काबिल एसएसपीहरु पाएको महाशाखाले नागरिकको मनमात्रै जितेको छैन, उपत्यकामा अपराधीहरु शीर उठाउन नसक्ने अवस्थामा पुगेका छन् । अहिले यही महाशाखाको नेतृत्व सम्हाल्न आइपुगेका दिनेश अमात्य पनि सर्वेन्द्र खनालका एउटै ब्याजी हुन् ।

अब अमात्यले यो महाशाखाको शाख कसरी बचाउँछन्, त्यो हेर्न बाँकी नै छ । तर, दिनेश अमात्य त्यस्ता व्यक्ति हुन् जसले तराई मधेका विभिन्न जिल्लामा भूमिगत सशस्त्र समूहलाई निस्तेज पारिदिएका छन् । पछिल्लो टीकापुर घटनासमेत उनैले साम्य पारेका हुन् ।

तराईमा भूमिगत समूह सिध्याउने अमात्य

तराईका जिल्लाहरुमा एक समय भूमिगत समूहका नाममा सयभन्दा बढी सशस्त्र समूहको जन्म भयो । दैनिकजसो लुटपाटका र हत्याका घटनाले धनुषा सबैभन्दा प्रताडीत बनेको थियो ।

दिनेश अमात्य एसपीमा बढुवा भएको ०६७ सालमा १० महिना मात्रै भएको थियो, तत्कालीन आइजीपी रमेशचन्द ठकुरीले धनुषामा सशस्त्र समूहको आतंक रोक्ने सक्ने अधिकृत खोजी गरे । र, छनोटमा परे दिनेश अमात्य । ०६७ साल भदौको अन्तिमतिर एसपी अमात्य धनुषाको सुरक्षाको जिम्मेवारी सम्हाल्न पुगे ।

राजनमुक्ति मोर्चा अध्यक्ष राजन मुक्तिका भाइसहित चारजनाको इन्काउण्टरपछि धनुषाको वातावरण केही शान्त बन्यो

अमात्य सम्झन्छन् ‘म जानुभन्दा २० दिन अघिसम्म धनुषामा कृषि विकास बैंकका कर्मचारी, जिविसका कर्मचारीसहित ७ वटा हत्याकाण्ड भएका रहेछन्, त्यसबेला धनुषामा राजनमुक्ति मोर्चाको दबदबा थियो ।

अमात्यले धनुषाको जिम्मेवारी सम्हालेको ३५ औं दिनमा रातको करिब १ बजे जिरो माइल भन्ने स्थानमा एउटा समूहसँग मुठभेड भयो । पहिलो कार्वाहीमै राजनमुक्ति मोर्चाका सदस्यको इन्काउण्टर भयो ।

त्यसपछि सुरु भयो दिनेश अमात्य र अपराधिक समुहवीचको घम्साघम्सी । राजनमुक्ति मोर्चा अध्यक्ष राजन मुक्तिका भाइसहित चारजनाको इन्काउण्टरपछि धनुषाको वातावरण केही शान्त बन्यो ।

अमात्यलाई संयोग पनि गज्जपकै मिल्यो । उनी धनुषा जानुअघि धनुषामा सर्वेन्द्र खनाल नै थिए । सर्वेन्द्रले एक वर्ष लामो समयसम्म थुपै्रलाई तह लगाइसकेका थिए । त्यसपछि खनालको नियमित सरुवा भएपछि तत्कालीन आइजीपीले उनीजस्तै काविल अधिकृतका रुपमा अमात्यलाई पठाएका थिए ।

अहिले अपराध महाशाखामा पनि सर्वेन्द्र खनाल र पुष्कर कार्कीले विरासत धान्न सक्ने अधिकृतका रुपमा आइजीपी उपेन्द्रकान्त अर्याल र धनुषामा सुरक्षा व्यवस्था देखेका गृहमन्त्री बिमलेन्द्र निधिले अमात्यलाई अपराध महाशाखा ल्याएका छन् ।

बाँकेमा भगत सिंहलाई ठेगान लगाउने पनि अमात्य नै

धनुषाको वातावरण केही शान्त भयो । तर, उता बाँकेमा भगत सिंहको आतंक उस्तै थियो । यता नेपाल प्रहरीमा आइजीपी फेरिए । तर, रविन्द्रप्रताप शाहको छनोटमा पनि अमात्य नै परे । र, धनुषाबाट आराम गर्न नपाउँदै एसपीको नियमित सरुवा बदर गरेर आइजीपी शाहले अमात्यलाई धनुषाबाट बाँके पठाए ।

भगतसिंह भारतमा भएकाले समात्न सकिएन ।  ६ महिनाका लागि मात्रै बाँके पुगेका अमात्यले त्योवीचमा भगत सिंहका नाममा आतंक मच्चाउने २६ जनालाई खोरमा हाले

‘मैले ठुलो कुरा गरेको होइन, त्यतिबेला आइजीपी साबलाई मलाई मात्रै किन ? अरुलाई पठाउनुहोस भनेको थिएँ,’ अमात्य भन्छन्, ‘तर संगठन प्रमुखले दिएको जिम्मेवारी छोड्न मिल्दैनथ्यो । धनुषाबाट बाँके पुगेँ । त्यहाँको स्थिति धनुषाको जस्तै थियो । दैनिक बैंक लुटिएको र हत्या भएको भन्दा केही समाचार सुन्न पाइँदैनथ्यो ।’

अमात्यले सुरुमै भगत सिंहलाई खोजे । भगतसिंह भारतमा भएकाले समात्न सकिएन । तर, उसका सदस्य उम्किन सकेनन् । ६ महिनाका लागि मात्रै बाँके पुगेका अमात्यले त्योवीचमा भगत सिंहका नाममा आतंक मच्चाउने २६ जनालाई खोरमा हाले ।

उनी सम्झन्छन् – ‘भगत सिंहका सबै कार्यकर्तालाई खोजीखोजी समातियो । त्यति मात्रै हो र ! आलुको बोरादेखि रिक्सामा समेत भारतबाट हतियार आउँथ्यो । तर, त्यही चुनौती सामना गर्न गएको थिएँ । कि मार्ने, कि मर्नेको विकल्प थिएन । तर, त्यहाँ कसैलाई मार्न परेन, समातिएकाहरु अहिले पनि जेलमै छन् ।

अमात्यका अनुसार उनका पालामा बाँकेमा प्रहरीले ७२ वटा हतियार बरामद गर्‍यो ।

आराम गर्न काठमाडौं, फेरि टीकापुर

लगातार तराईका जिल्लामा खटिएपछि अमात्यले आराम गर्न चाहे । त्यसपछि उनी काठमाडौंस्थित दुई नम्बर गणमा सरुवा भएर आए । तर, त्यहाँ पनि उनलाई लामो समय फुर्सद मिलेन । ०७० सालको संविधानसभा निर्वाचनका लागि तराईकै जिल्ला सप्तरीमा खटाइए । ०७० सालको चुनाव जिल्लामा सफलताका साथ सम्पन्न गराएका अमात्य दुई वर्षअघि एसएसपीमा बढुवा भए ।

यसैवीच ०७२ साल भदौ ६ गते नेपाल प्रहरीका लागि कालो दिन बन्यो । मधेस एवं थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा एसएसपीसहित ८ प्रहरीको हत्या भयो । घटनासँगै टीकापुरको अवस्थामा असामान्य थियो ।

उपेन्द्रकान्त अर्यालले टीकापुरको स्थिति सम्हाल्न सक्ने विकल्पका रुपमा  अमात्यलाई रोजे । अञ्चल एसएसपीकै हत्या भएपछि स्थिति सम्हाल्न र घटनाको छानविन गर्न अमात्य टीकापुर पुगे

त्यसबेला आइजीपी उपेन्द्रकान्त अर्यालले टीकापुरको स्थिति सम्हाल्न सक्ने विकल्पका रुपमा  अमात्यलाई रोजे । अञ्चल एसएसपीकै हत्या भएपछि स्थिति सम्हाल्न र घटनाको छानविन गर्न अमात्य टीकापुर पुगे ।

एक महिनाभन्दा लामो समयको अनुसन्धानपछि कैलालीको वातावरण शान्त मात्रै भएन, अमात्यले २२ पृष्ठ लामो प्रतिवेदन बुझाए । जसमा टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरीलाई देखाइएको छ । चौधरीबाहेक लक्ष्मण थारुसहित अधिकांश पक्राउ परिसकेका छन् । तीमध्ये १२ जना अमात्य टीकापुरमा हुँदै समातिएका हुन् ।

तर, टीकापुर घटनापछि त्यहाँका थारुहरुले आफूहरू प्रहरी प्रशासनबाट पीडित भएको गुनासो गर्दै आएका छन् । रेशम चौधरीले त दिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई नै भेटेर आफूहरु अन्यायमा परेको दुखेको पोखेको कुरा बाहिर आइसकेको छ ।

अमात्यले अब अपराध महाशाखामा के गर्लान् ?

एसएसपी अमात्यका लागि अपराध महाशाखा नौलो ठाउँ होइन । एसपी हुँदा पनि महाशाखामा बसिसकेका उनी लामो समयपछि उपत्यकामा आएका छन् ।

तीन वर्षमा अपराध महाशाखाले बनाएको इज्जत जोगाउन सक्नुहुन्छ ? अनलाइनखबरको प्रश्नमा अमात्यको जवाफ छ- ‘यसअघि काम गर्नेहरु पनि मेरै साथीहरु हुन् । उहाँहरुले थाल्नुभएका सबै कामले निरन्तरता पाउँछन् । हामी सबैले नेपाल प्रहरीको म्याण्डेट अनुसार काम गर्ने हो, त्यसैले अपराध महाशाखाको शाख गिर्ने छैन ।’

एसएसपी अमात्यले थपे- म्याच फिक्सिङ, विद्युत चोरी लगायतका अपराधविरुद्ध गरिएका कारवाहीले हाम्रो पनि इज्जत बढेको छ, त्यसमा गर्न बाँकी रहेका काम म पूरा गर्छु ।’

पछिल्लो समय सामाजिक सञ्जालका नाममा महिलामाथि भैरहेको अराजकता पनि निकै डरलाग्दो बन्दै गएकाले साइबर अपराध पनि आफ्नो प्राथमिकतामा पर्ने  एसएसपी अमात्यले बताए

उपत्यकामा सक्रिय गुण्डाहरुका बारेमा पनि आफूलाई राम्रो सूचना भएको भन्दै कसैले टाउको उठाउने चेष्टा नगर्न एसएसपी अमात्यले चुनौती दिए । उनले भने- ‘कोही मसल्सका भरमा त कोही बुद्धीले गुण्डागर्दी गर्दैछन्, ती सबैको धन्दा आर्थिक अपराधसँग जोडिएको छ । अब यो नेक्सस तोडिन्छ ।’

कतिपय माफिया र अपराधीलाई कोही प्रहरी हाकिम सजिलो बनेर आउँछन्, तर तपाई तिनका लागि सजिलो पात्र होइन भनेर कसरी ग्यारेन्टी गर्न सक्नु हुन्छ ? यो प्रश्नमा एसएसपी अमात्यले भने  ‘दिनेश अमात्य कुनै अपराधी र माफियाका लागि सजिलो कि घातक छ, त्यो भोलिका दिनमा देखिन्छ । दिनेश अमात्यको नाममा महाशाखाका कुनै पनि कर्मचारीको उठबस देखियो भने तिनलाई हत्कडी लाग्छ, तपाइँ ढुक्क हुनुस । म संगठनले भरोसा गरेर आएको मान्छे हुँ, त्यो भरोसा टुट्ने कुनै काम मबाट हुँदैन ।’

पछिल्लो समय सामाजिक सञ्जालका नाममा महिलामाथि भैरहेको अराजकता पनि निकै डरलाग्दो बन्दै गएकाले साइबर अपराध पनि आफ्नो प्राथमिकतामा पर्ने  एसएसपी अमात्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment