+
+

विदेशी संस्थाले नबिल र एनएमबी बैंकबाट आफ्नो लगानी झिक्न नपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २६ गते १८:००


२६ माघ, काठमाडौं । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थामा बैदेशिक लगानी भए त्यस्तो लगानी बिदेशी बैंक तथा वित्तीय संस्थाको मात्रै हुनपर्ने राष्ट्र बैंकले गरेको व्यवस्था हालै संसदबाट पारित ऐनले भने उल्टाएको छ ।

संसदबाट पारित बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको दफा ५ को उपदफा ४ ले यस ऐन प्रारम्भ हुनुभन्दा पहिला स्वीकृतीमा कुनै विदेशी बैंक तथा वित्तीय संस्था वा अन्य कुनै विदेशी संस्थाले नेपाली बैंकमा गरेको लगानी यथावत रहने व्यवस्था गरेको छ ।

तर राष्ट्र बैंकले भने यसअघि परिपत्र जारी गरेर कुनै बिदेशी व्यक्ति वा बैंक तथा वित्तीय संस्था बाहेकको लगानी भएमा २०७२ असार मसान्त भित्र बिदेशी बैंक तथा वित्तीय संस्था वा नेपाली व्यक्ति वा वित्तीय संस्थालाई बेच्न निर्देशन दिएको थियो ।
तर ऐनमा भएको व्यवस्थाले भने नबिल बैंकमा साझेदार रहेको एनबी इन्टरनेशनल र एनएमबी बैंकमा लगानी रहेको मलेसियन कम्पनी योङ लियन रियल्टिलाई आफ्नो सेयर हिस्सा विक्री वा स्वामित्व हस्तान्त्रण गर्न नपर्ने भएको छ ।

नीतिगत भष्ट्राचार

नबिल बैंकमा आयरल्याण्डको कम्पनी एनबी इन्टरनेशनलका नाममा ५० प्रतिशत सेयर स्वामित्व छ । औद्योगिक घराना चौधरी समूह निर्माण गरेका विनोद चौधरीले अनौपचारिक रुपमा नबिल बैंकमा भएको एनबी इन्टरनेशनको सेयर आफ्नो भएको स्वीकार गरेका छन् ।

चौधरीले आफ्नो पुस्तक ‘विनोद चौधरी आत्मकथा’मा यो सेयर आफूले किनेको घुमाउरो पाराले स्वीकार गरेका हुन् । उनले पुस्तकमा लेखेका छन्, नेपाल अरब बैंकको सेयर किन्न ‘घुमाउरो बाटो प्रयोग गर्यो भनेर विरोधीहरुले लगाएका आरोप शतप्रतिशत गलत थिएन । मलाई घुमाउरो बाटो हिंड्न बाध्य पारेको यहाँको ‘सिस्टम’ले नै हो । कहिलेकाहीं सही काम गर्न ऐन र नियम अपुरो छ वा बाधक छ भने तीनलाई पछाडि छोड्नु नै उद्यमीको साहसको परिचय हो । उनको यही पुस्तक बजारमा आएपछि केन्द्रिय बैंकले नबिल बैंकमा भएको सेयरका विषयमा अनौपचारिक चासो राख्दै आएको थियो ।

नबिल बैंकको आर्थिक वर्ष २०७१/७२ को बार्षिक वित्तीय प्रतिवेदनअनुसार बैंकमा एनबी इन्टरनेशनल लिमिटेडको ५० प्रतिशत सेयर (अंकित मूल्यको आधारमा एक अर्ब ८२ करोड ८८ लाख २० हजार सात सय रुपैयाँको सेयर) छ । यो मंगलवारको बजार मूल्यमा झण्डै २५ अर्ब रुपैयाँको सेयर हो ।

राष्ट्र बैंकले २०७० असार मसान्त भित्र कुनैपनि बैंक तथा वित्तीय संस्थामा रहेको अन्य बिदेशी संस्था वा व्यक्तिको स्वामित्वको सेयर बिक्री नभए सम्बन्धित बैंकले त्यो अवधिपछि दिने बोनस, नगद लाभांश र हकप्रद सेयर वितरणमा बन्देज लगाउने उल्लेख गरेको थियो । यही नियमको कारण नबिल बैंकबाट एनबी इन्टरनेशनलले लाभांश लैजान पाइरहेको छैन् । हुनतः यस ऐन राष्ट्रपतीबाट पारित हुन बाँकी रहेको छ ।

एनएमबी बैंकबाट लियनले स्वामित्व झिक्न नपर्ने

त्यस्तै, एनएमबी बैंकको २०७२/७३ को वित्तीय विवरणमा उल्लेख भए अनुसार मलेसियन इन्भेष्टमेन्ट कम्पनी योङ लियन रियल्टीको करिब ७.७५ प्रतिशत अर्थात् ३३ लाख ४३ हजार कित्ता सेयर स्वामित्व छ । १९७८ मा स्थापना भएको मलेसियन कम्पनी योङ लियन रियल्टी पनि मलेसियाको वित्तीय संस्था होइन् । रबर प्लान्टेशनका लागि स्थापना भएको यो कम्पनीले पाम आयल, त्यससँग सम्वन्धित उत्पादन, वित्तीय मध्यस्थता गर्ने संस्था तथा मलेसियाका बैंकमा लगानी गर्दै आएको छ । हालको बजार मूलयको आधारमा बैंकको यस्तो सेयर लगानी १ अर्ब ५३ करोड रुपैयाँ बराबर रहेको छ ।

केन्द्रिय बैंकले नेपालमा विदेशी बैंक तथा वित्तीय संस्थाले बाहेक बैंकमा लगानी गरेर स्थापना गर्न नसक्ने व्यवस्था गरेको थियो । तर ऐन राष्ट्रपतीबाट पारित भएमा ऐन आउनु अघि यस्तो लगानी रहेका बैंक तथा वित्तीय संस्थाले भने छुट पाउँने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?