जरुरी छ आँखाको व्यायाम

जरुरी छ आँखाको व्यायाम

शरीरका विभिन्न अंगलाई स्वस्थ बनाउन हामी खानपानदेखि व्यायामका कुरा गरिरहेका हुन्छौं । तर सुत्ने बेलामा बाहेक अन्य समयमा नियमित कार्य गरिरहने आँखाको बारेमा भने हामी खासै ध्यान पुर्‍याइरहेका हुँदैनौं ।

आँखालाई स्वस्थ राख्न व्यायामदेखि सरसफाइ लगायतका कुरामा ध्यान दिनुपर्छ । त्यसो भए आँखाको व्यायाम कसरी गर्ने त ?

आँखाको व्यायाम गर्नुअघि आँखालाई सफा गर्नुपर्छ । आँखालाई बन्द गरेर साफा पानीले धुनुपर्छ । त्यसपछि भाँडोमा उम्लिएर सेलाएको पानी आइवास कप अर्थात् आइक्लिनिङ पट, कचौरा वा हातमा राखेर आँखालाई झिमझिम गर्नुपर्छ । यदि आइवास कपले गर्ने हो भने यसलाई आँखामा हालेर एकचोटि टाउको आकाशतिर हेरेर झिमझिम गर्ने र अर्को निहुँरेर झिमझिम गर्न सकिन्छ । यसले आँखामा लागेका कचेरा तथा फोहोर बाहिर निकाल्न मद्दत गर्छ ।

आइवास गरिसकेपछि यी ७ व्यायाम गर्न सकिन्छ ।

आँखा चिम्लिने खोल्ने

आँखा सफा गरिसकेपछि एकपल्ट आँखा चिम्लिने र खोल्ने गर्नुपर्छ । यो जतिसक्दो छिटोछिटो गर्न गर्नुपर्छ । त्यस्तै आँखालाई बेस्सरी चिम्लिने, दाँत किट्ने र टाउको हल्लाउने गर्नुपर्छ । यी दुवै व्यायाम पाँचदेखि १० पटकसम्म दोहोर्‍याउन सकिन्छ ।

आँखालाई तलमाथि गर्ने

आँखा स्वस्थ राख्न आँखाको नानीलाई तलमाथि गरी हेर्ने व्यायाम गर्न सकिन्छ । यसमा टाउकोलाई सीधा राखेर निधार नखुम्चाइकन आँखाको नानीलाई तलमाथि गर्नुपर्छ । यसमा एकचोटि आकाशतिर हेरेर र अर्को चोटि भुईंमा हेरेर गर्नुपर्छ । यो व्यायाम पनि सकेसम्म छिटोछिटो पाँचदेखि १० पटकसम्म गर्न सकिन्छ । आँखाको यस किसिमको व्यायामले आँखाका नसा तथा मांसपेशी मजबुत हुन्छन्, जसले आँखाको तेजमा कमी हुन पाउँदैन ।

आँखा क्रस गर्ने

आँखाको नानी पहिला दायाँ माथि बायाँ तल, त्यसपछि बायाँ माथि दायाँ तल गरी क्रस गरेर व्यायाम गर्न सकिन्छ । सकेसम्म छिटोछिटो गर्नुपर्छ ।

ँखालाई चारैतिर घुमाउने

आँखामा अर्को व्यायाम, जसमा आँखालाई चारैतिर घुमाउनुपर्छ । दुवै आँखालाई एकचोटि माथि दायाँ तल बायाँ गरी घुमाउने र त्यसपछि यसको ठ्याक्कै उल्टो बायाँदेखि दायाँतर्फ कम्तीमा १०-१० पटक घुमाउनुपर्छ । त्यसपछि दुई मिनेटका लागि आँखा बन्द गर्नुपर्छ र आराम गर्नुपर्छ । त्यसपछि पुनः यसलाई दोहोर्‍याउनुपर्छ ।

लाइनलाई हेर्ने अभ्यास

यसमा दाहिने हातको चोर औंलालाई आँखाको सीधा राखेर हेर्नुपर्छ । औंलाको माथिल्लो टुप्पोमा देखिने सूक्ष्म रेखालाई ध्यानले हेर्ने, त्यो औंलालाई एकपटक आँखाबाट टाढा लैजाने र एकपटक नाकको नजिक ल्याउने गर्नुपर्छ । यसलाई पाँचदेखि १० पटक दोहोर्‍याइरहनुपर्छ ।

आँखालाई सेक्ने

आँखालाई चुस्त राख्न न्यायो बनाउनुपर्छ । आफ्नो हत्केलालाई एकापसमा रगडेर तताउने अनि त्यसलाई आँखा चिम्म गरेर राख्ने गर्नुपर्छ । ६ सेकेण्डसम्म हत्केलालाई परेलामा राख्नुपर्छ । यो प्रक्रियालाई तीन पटकसम्म दोहोर्‍याउनुपर्छ । यसो गर्नाले आँखाले तत्काल आराम पाउने छ ।

त्राटक विधि

यो एक योग विधि हो । जसमा कुनै एउटा योगासनमा बस्नुपर्छ । त्यसपछि ५-६ फिट टाढा मैनबत्ती वा दियोको ज्योति आँखाको लेभलमा राख्नुपर्छ । त्यसपछि त्यो मधुरो बत्तीलाई आँसु आउने गरी हेर्नुपर्छ र एकछिन आँखा चिम्लिएर ध्यान गर्नुपर्छ ।

यी सबै व्यायाम सकेसम्म दिनको दुईपटक बिहान बेलुका गर्न सकिन्छ ।

आँखाको व्यायाम गर्दाका फाइदा

व्यायामले आँखामा भएको फोहोर निकाल्ने, ज्योति बढाउने, दृष्टि शक्ति बढाउने गर्छ । यस्तै चश्मा लगाउपर्ने समस्याबाट पनि छुटकारा दिन मद्दत गर्छ । यसले आँखाको नसा लचिलो तथा चलायमान बनाउँछ ।

व्यायामले आँखा सन्तुलित गराउने भएकाले आँखाको फोकस आउट हुने लगायत समस्या निको पार्छ । आँखाको सरसफाइ तथा नियमित व्यायामले आँखा पोल्ने, दुख्ने, पाक्ने जस्ता समस्याबाट बच्न सकिन्छ ।

तर आँखामा संक्रमण, रातो हुने, आँखा पाक्ने रोग छ भने यी व्यायाम गर्नुहुँदैन । यस्तो बेलामा व्यायाम गर्दा आँखा बिग्रिने वा दुखाई बढ्ने जस्ता समस्या बढ्न सक्छ ।

(बराकोटीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

आँखा व्यायाम स्वास्थ्य
लेखक
क्षितिज बराकोटी, योग प्रशिक्षक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

प्यान्क्रियाजको क्यान्सरका कारण र उपचार

प्यान्क्रियाजको क्यान्सरका कारण र उपचार

कुनै डरलाग्दो घटनाले पार्ने मानसिक आघातको के छ उपचार ?

कुनै डरलाग्दो घटनाले पार्ने मानसिक आघातको के छ उपचार ?

कलेजो प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुरा

कलेजो प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुरा

यस्ता हुन्छन् यौन प्रतिक्रियाका चार चक्र

यस्ता हुन्छन् यौन प्रतिक्रियाका चार चक्र

जाडोयाममा हाइपोथर्मियाको जोखिम

जाडोयाममा हाइपोथर्मियाको जोखिम

इच्छाशक्ति कसरी बढाउने ?

इच्छाशक्ति कसरी बढाउने ?