+

मोबाइल, ल्यापटप चलाउने धेरै युवामा किन बढ्दैछ गर्दन दुख्ने समस्या ?

२०८० भदौ  १२ गते १४:३३ २०८० भदौ १२ गते १४:३३
मोबाइल, ल्यापटप चलाउने धेरै युवामा किन बढ्दैछ गर्दन दुख्ने समस्या ?

अहिले धेरैलाई गर्दन दुख्ने समस्याले सताउने गरेको छ । विशेषगरी २५ देखि ३५ वर्षसम्मका युवाहरु गर्दन दुख्ने समस्या लिएर अस्पताल धाउनेको संख्या बढ्दो छ । उनीहरुमा यस्तो समस्या आउनुको मुख्य कारण निरन्तर निहुरिएर कम्प्युटर, ल्यापटप र मोबाइल जस्ता उपकरण चलाउनु रहेको पाइन्छ ।

यस्ता उपकरण चलाउँदा गर्दनको मांसपेशी कसिलो हुन्छ । कसिलो भएपछि चलाउन कठिन हुन्छ । जसले गर्दन सहजै चल्न-चलाउन कठिन हुने र दुख्ने गर्छ । र, एमआरआई गरेर मांसपेशी जाम भएको देखिन्छ ।

कारण

करिब ७० प्रतिशत युवामा मांसपेशी कसिलो भई जाम भएर गर्दन र पाखुरा दुख्ने समस्या रहेको विभिन्न अध्ययनले देखाएका छन् । ल्यापटपमा लामो समयसम्म टाउको झुकेर काम गर्दा शरीरको मुद्रा खराब हुन्छ । घाँटी र स्पाइनल कर्डमा समस्या आउन थाल्छ । घाँटी र स्पाइनल कर्ड अगाडिको दिशामा बढी झुकाव हुने भएकाले मेरुदण्डमा प्रभाव बढ्न थाल्छ । यसको प्रमुख कारण अत्यधिक  मोबाइल  तथा  ल्यापटप  प्रयोग गर्नु हो । अहिलेका युवामा गर्दन यति कस्सिएको हुन्छ कि मास्तिर लैजान र पछाडि फर्काउन सक्दैनन् ।

अधिकांश युवाहरु फेसबुक, ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सञ्जालमा ‘टेक्स च्याट’ गर्दा गर्दन दुख्ने समस्या बढेको छ । यो समस्यालाई अहिले ‘टेक्सट नेक सिन्ड्रोम’ पनि भन्ने गरिएको छ ।

गत वर्ष मात्रै एक विश्वविद्यालयमा भएको अध्ययनमा एक हजार ८३५ जना मध्ये ८५० मा गर्दन र पाखुरा वरपर दुख्ने समस्या देखिएको छ । त्यस्तै, मांसपेशीमा चोटपटक लाग्दा पनि गर्दन दुख्ने समस्या हुन्छ । विद्यार्थीहरुले मोबाइल बढी चलाउने र सबैभन्दा बढी च्याटमा बढी समय बिताउने गरेको पाइएको थियो ।

९० प्रतिशतले सही तरिकाले ल्यापटप चलाउन जान्दैनन्

ल्यापटप प्रयोग गर्ने ९० प्रतिशतले गलत आसनमा बसेर ल्यापटप चलाउँछन् । ल्यापटप चलाउँदा प्राय:ले ६० डिग्रीको कोणमा टाउको झुकाउँछन् । जुन सही आसन होइन । किनभने टाउकोको तौल करिब पाँच किलो हुन्छ । जति झुकायो त्यति टाउको भारी हुन्छ । ६० डिग्रीमा टाउको झुकाउँदा २७ किलोको भार पर्छ । २७ किलोको भार लिएर निरन्तर तीनदेखि चार घण्टा ल्यापटप चलाउँदा गर्दनको मांसपेशी कसिन्छ र जाम हुन्छ । यसको प्रभाव हात, पाखुरामा पनि पर्न जान्छ ।

टाउकोसँगै हात पनि निरन्तर चल्दा हात झमझमाउने समस्या बढ्छ । अहिलेका युवायुवतीमा गर्दन यति कस्सिएको हुन्छ कि मास्तिर लैजान र पछाडि फर्काउन सक्दैनन् ।

समाधान के त ?

ल्यापटप चलाउन जहिले पनि ६० डिग्रीको कोणमा नझुकी घाँटीलाई सिधा राख्नुपर्छ । ल्यापटपको माथिको भाग र आँखाको भाग बराबर पार्ने र हात जहिले पनि ९० डिग्रीमा राखेर मात्र चलाउनुपर्छ । यसरी ल्यापटप चलाउँदा गर्दन र घाँटी दुख्ने समस्या निकै कम हुन्छ ।

त्यस्तै, ल्यापटप, डेस्कटप राख्ने टेबलको उचाइ २४ देखि २६ इन्चको हुनुपर्छ । टेबलको उचाइसँग मिल्ने कुर्सी राख्नुपर्छ । त्यस्तै, खुट्टालाई अड्याउने स्ट्याण्ड ‘फुट रेस्ट’ भएको हुनुपर्छ । यसले खुट्टालाई भार पर्दैन ।

कार्यालयमा काम गर्दा एकपटक ३० सेकेन्डदेखि दुई मिनेट समय निकालेर गर्दनलाई अगाडि, पछाडि, दायाँबायाँ लैजाने गर्न सकिन्छ । यसले गर्दनलाई थोरै भए पनि राहत दिन्छ र त्यहाँको मांसपेशी कडा हुन पाउँदैन ।

एकै आसनमा बसेर धेरैबेर काम गर्नुहुँदैन । किनभने एकै आसनमा बसेर काम गर्दा एकपट्टिको शरीरको भागमा मात्र भार पर्छ र कम्मर, ढाड र गर्दन दुख्ने समस्या हुन्छ ।

दैनिक ३० मिनेट फटाफट हिंड्ने, शरीरलाई लचिलो राख्न व्यायाम गर्ने,  एरोबिक्स व्यायाम, ध्यान र प्राणायाम गर्न सकिन्छ ।

(बस्नेत सुस्वास्थ्य अस्पतालका अध्यक्ष समेत हुन् ।)

गर्दन दुखाइ मोबाइल ल्यापटप
लेखक
सुदर्शन बस्नेत, अकुपन्चरिस्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय