+
+
युवा उद्यम :

नेपाली ब्राण्डको लिपिस्टिक : विदेशमा उत्पादन, स्वदेशमा बजार 

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० भदौ १४ गते १३:११

काठमाडौं । एकथरी अभावमा समस्या देख्छन्, अर्कोथरी अवसर । दोस्रो कित्तामा पर्छिन्, विराटनगरकी सम्झना थापा ।

उनी त्यसबेला डायना अफ लण्डनको पिन्क सेड लिपिस्टिक लगाउँथिन् । पछि बजारमा यस किसिमको लिपिस्टिक पाइएन । आफूलाई सुहाउने पिन्क सेड लिपिस्टिक नपाएपछि उनलाई लाग्यो, ‘मजस्तै धेरै दिदीबहिनीको समस्या यस्तै होला ।’

यस्तो लिपस्टिक आफैंले किन उत्पादन नगर्ने ?

सम्झनालाई व्यवसाय सुरु गर्न सहज किन पनि थियो भने उनले बितेको आठ वर्षदेखि उद्यमशीलताबारे ज्ञान बाँडिरहेकी थिइन् । उनी ‘क्लक बी बिजनेस इनोभेसन’मा काम गर्छिन्, जसले कसरी व्यवसाय सुरु गर्ने, कसरी बजार प्रवर्द्धन गर्ने, कसरी ब्रान्डिङ गर्ने भन्ने कुराको तालिम दिने गर्छ । व्यवसाय गर्नेलाई लगानी पनि गरिदिन्छ ।

त्यही अनुभव र आडले उनलाई आफ्नै उद्यम सुरु गर्न प्रेरित गर्‍यो । अन्ततः उनले सुरु गरिन्, क्लोडु कस्मेटिक ।

तर यहाँसम्म आइपुग्न त्यति सजिलो बाटो पनि थिएन । किनभने नेपालमा नै कस्मेटिक सामग्री उत्पादन गर्न सम्भव भएन । कस्मेटिक सामग्री उत्पादन गर्न आवश्यक पर्ने ल्याबहरू नै नेपालमा भेटिनन् उनले । त्यसैले आफ्नो सूत्र दिएर कोरियामा बनाएर नेपालमा आयात गर्ने योजना बनाइन् ।

योजना अनुसार सुरुमा ६५ हजार रुपैयाँको लगानीमा आफ्नो फर्मुला दिएर कोरियाबाट स्याम्पल लिपिस्टिक आयात गरिन् अनि सुरु भयो ‘क्लोडु कस्मेटिक’ ।

उनलाई आफ्नो सामग्री राम्रो गुणस्तरको बनाउनु थियो । त्यसैले त्यो स्याम्पल लिपिस्टिकलाई बिक्री गरिन् र ग्राहकहरूको सुझावअनुसार गुणस्तर अझै बढाएर अर्को लट सामान आयात गरिन् र अनलाइन प्लेटफर्म मार्फत लिपिस्टिकहरू बिक्री गर्न थालिन् ।

क्लोडु सुरु भएको एक वर्ष पूरा भयो । एक वर्षमा नै क्लोडु कस्मेटिकको लिपिस्टिक धेरैको रोजाइमा परेको छ । ६५ हजार रुपैयाँमा सुरु गरेको क्लोडुले अहिले मासिक करिब दुई लाखको कारोबार गर्छ । राम्रो गुणस्तर, ठिक्क मूल्य र धेरै सेडमा उपलब्ध भएको हुनाले पनि लिपिस्टिकलाई धेरैले रुचाएको हुन सक्ने सम्झना बताउँछिन् । क्लोडुको लिपिस्टिक अनलाइन मार्फत खरिद गर्न सकिन्छ साथै सोराया कस्मेटिक काठमाडौंको दरबारमार्ग र धरानको स्टोरबाट पनि खरिद गर्न सकिन्छ ।

गुणस्तरीय सामान

क्लोडुको अर्थ ‘गुणस्तरीय काम गर्दै’ हो । यसको गुणस्तरलाई ग्राहकहरूले एकदमै रुचाएका छन् । अहिले बजारमा क्लोडुको धेरै सेडको लिपिस्टिकहरू उपलब्ध छन् । क्लोडु लिपिस्टिक लगाएपछि १२ घण्टासम्म टिक्छ । यसको प्रयोगले ओठ सुख्खा हुँदैन । ‘वाटरप्रुफ’ र ‘स्मचप्रुफ’ पनि हो जसले गर्दा अहिले धेरै युवतीहरूको रोजाइमा पर्न सफल भएको सम्झना बताउँछिन् ।

उनी भन्छिन्, ‘लिपिस्टिक बनाउन प्रयोग हुने सबै सामग्री भिगन हो बिरुवाबाट बनेको हुन्छ । क्लोडु लिपिस्टिकमा प्रयोग भएको अन्य मुख्य सामग्री ‘भिटामिन सी’ र ‘मोइस्चराइजर’ हो, जसले गर्दा यसले ओठको सुन्दरता बढाउनुका साथै ओठ फुट्ने समस्या पनि हुँदैन ।’

क्लोडुको अर्को विशेषता भनेको ग्राहकले आफ्नो सेडको लिपस्टिक सधैं सजिलै पाउन सक्ने सम्झना बताउँछिन् । कोल्डु लिपिस्टिकको बजार मूल्य एक हजार ३९५ रुपैयाँ हो । तर अहिले अफरमा एक हजार ४५ रुपैयाँमा पाइन्छ ।

भविष्यको योजना

मेकअपको लागि जति लिपिस्टिक जरुरी छ त्यत्ति नै जरुरी फाउन्डेसन पनि भएको हुनाले क्लोडुले छिट्टै फाउन्डेसन पनि बजारमा ल्याउँदै छ । नेपाली छालालाई कस्तो फाउन्डेसन उपयुक्त हुन्छ भनेर रिसर्च गर्न केही फाउन्डेसनको स्याम्पल पनि ल्याएको छ । अब केही महिनामै क्लोडुको फाउन्डेसन बजारमा उपलब्ध हुने सम्झना सुनाउँछिन् । यति मात्र होइन, सम्पूर्ण मेकअपका लागि जति पनि कस्मेटिक सामग्रीहरू आवश्यक पर्छ सबै उत्पादन गर्ने लक्ष्य क्लोडुले लिएको सम्झना बताउँछिन् ।

क्लोडु कस्मेटिकको उत्पादन अहिले कोरियामा हुने गरेको छ । उत्पादनका लागि अन्य देशमा निर्भर हुनु भन्दा सम्भव भएसम्म १० देखि २० वर्षभित्रमा भए पनि कोल्डु कस्मेटिक सामग्री उत्पादन गर्ने कम्पनी नेपालमै खोल्ने सम्झनाको इच्छा छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?