ग्यास्ट्रिक अहिले आम समस्याजस्तै बनेको छ । करिब ८० प्रतिशत नेपालीलाई कुनै न कुनै बेला ग्यास्ट्रिक हुने विज्ञहरुको अनुमान छ । त्यसैले व्यंग्यात्मक रुपमा यसलाई ‘राष्ट्रिय रोग’ समेत भन्ने गरिन्छ ।
‘ग्यास्ट्रिक’लाई मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनिन्छ । ग्यास्ट्राइटिस बच्चादेखि वृद्ध उमेरका जोसुकैलाई देखिन सक्छ ।
के हो ग्यास्ट्रिक ?
पेटको आमाशय सुन्निने समस्या ग्यास्ट्रिक हो । पाचनरसबाट निस्किएको हाइड्रोक्लोरिक एसिडले खाना पचाउन सहयोग गर्छ । कुनै कारणवश एसिडको मात्रा बढी हुँदा मानिसले ग्यास्ट्रिक भएको महसुस गर्छन् ।
ग्यास्ट्रिक भएपछि अमिलो डकार आउने, पेटको माथिल्लो भाग दुख्ने, बाउँडिने, फुल्ने, डम्म हुने, छातीको बीचतिर दुख्ने, बान्ता आउने, खाना नरुच्ने, भोक कम लाग्ने, दिसाको रङ कालो हुने, शरीर दुख्ने र कमजोर महसुस गर्ने जस्ता समस्या देखिन्छन् ।
कारण
विशेषगरी ७० प्रतिशतमा ग्यास्ट्रिक हुनुको मुख्य कारण हेलिकोपाइलरी कीटाणु हो । यो कीटाणु शरीरमा आफैं उत्पन्न हुन्छ । जब हाइड्रोक्लोरिक एसिड र हेलिकोब्याक्टर पाइलोरीको उत्पादन तथा मात्रामा तालमेल मिल्दैन, तब ग्यास्ट्रिक हुने गर्छ । कीटाणुको संख्या बढेपछि आमाशय सुन्निन थाल्छ । जसले ग्यास्ट्रिक गराउँछ ।
त्यस्तै, दुखाइ कम गर्ने औषधि जस्तै, निम्स, ब्रुफिन, फ्लेकजन अत्यधिक रुपमा खाँदा, जथाभावी आयुर्वेदको औषधि भन्दै स्टोरायडले पनि ग्यास्ट्रिक वृद्धि गर्छ ।
आवश्यकभन्दा बढी खाने, खाने बित्तिकै सुत्ने, बढी मात्रामा चिया–कफी पिउने बानी, आधा रातमा खाने, जंक फुड अत्यधिक खाने, मदिरा पिउने, कोकाकोला, पेप्सी जस्ता कोल्ड ड्रिंकले पनि ग्यास्ट्रिकको भय गराउँछ । साथै, कुनै कुराको भय, अनिद्राले पनि ग्यास्ट्रिकको समस्या ल्याउँछ ।
अल्सरको समेत जोखिम
सामान्य ग्यास्ट्रिकले तत्काल ठूलो असर गरेको नदेखिए पनि कहिलेकाहीं पेट तथा आमाशयमा प्वाल परी मानिसको मृत्यु समेत हुन सक्छ ।
आमाशय सुन्निएपछि समयमा औषधिउपचार नगरेमा आमाशयको भित्री भाग खोतल्दै जान्छ । यसलाई मेडिकल भाषामा ‘इरोजोन्स’ भनिन्छ । ‘इरोजोन्स’ बढ्दै गएमा अल्सर हुन्छ । अल्सरको पनि समयमा निदान भएन भने मुखबाट रगत बान्ता हुने, शरीरमा रगतको कमी हुने, पेट र आन्द्राको पहिलो भागमा घाउ भई प्वाल पर्ने सम्भावना हुन्छ ।
त्यस्तै, बारम्बार एचपाइलोरी संक्रमण लामो समयसम्म अल्सर भइरह्यो भने कालान्तरमा गएर आन्द्राको क्यान्सर हुन सक्छ । ४० वर्ष कटेपछि पेटको क्यान्सरको सुरुवाती लक्षणको रुपमा ग्यास्ट्रिकलाई शंका गरिन्छ । यद्यपि, सबै ग्यास्ट्रिक भएका सबैलाई क्यान्सर हुँदैन ।
ग्यास्ट्रिकको औषधि नियमित खानु हुँदैन
सामान्य पेट दुख्यो भने पनि पसलमा गएर मनलाग्दी ग्यास्ट्रिकको औषधि खाने चलन छ । अझ कसैले त नियमित रुपमै खाइरहेका हुन्छन । सबै पेट दुखाइ ग्यास्ट्रिक हुँदैन र ग्यास्ट्रिकको औषधि नियमित रुपमा सधैं खान हुँदैन । किनकि यसका साइड-इफेक्ट पनि धेरै छन् । लामो समयसम्म ग्यास्ट्रिकको औषधि खाँदा पाचनप्रणालीलाई हानि गर्छ । औषधिले खानेकुरा पचाउन निस्किने पाचनरसलाई पूर्ण रुपमा बन्द गराउँछ । जसले खाना पचाउन समस्या ल्याउने, डायरिया, जोर्नीसम्बन्धी समस्या, श्वासप्रवाससम्बन्धी रोगमा निमोनिया गराउन सक्छ ।
साथै, पेट खप्न नसक्ने गरी दुख्ने, बान्ता, अल्सर, हातखुट्टा दुखेको, दाँत निकालेको अवस्थामा बाहेक ग्यास्ट्रिकको औषधि खान जरुरी हुँदैन । ग्यास्ट्रिक भएकाहरुलाई चिकित्सकले दुई सातादेखि ६ सातासम्म ग्यास्ट्रिकको औषधि खान सुझाउन सक्छन् ।
पहिचान तथा उपचार
ग्यास्ट्रिकको लक्षण देखिएपछि इन्डोस्कोपीबाट आन्द्राको अवस्था हेरेर कुन किसिमको छ भनेर पत्ता लगाइन्छ । ग्यास्ट्रिक भइसकेपछिको बालबालिकामा होस् वा युवामा उपचार सहज छ । चिकित्सकको निगरानीमा ग्यास्ट्रिकको सुरुवाती अवस्थामा ग्यास्ट्रिकको औषधि खाने, समयमा खाने, व्यायाम गर्ने, पर्याप्त सुत्ने जस्ता कार्यले आफैं ठीक भएर जान्छ । तर अल्सर भइसकेको अवस्थामा भने कति असर गरेको छ त्यो हेरेर उपचार प्रकिया अघि बढाउनुपर्छ । यद्यपि, आन्द्रामा प्वाल परेमा शल्यक्रिया गराउनु आवश्यक हुन्छ ।
त्यस्तै, एचपाइलोरी संक्रमण भएका व्यक्तिका लागि १४ दिनसम्म एन्टीबायोटिक औषधि खानुपर्ने हुन्छ ।
ग्यास्ट्रिकबाट कसरी बच्ने ?
-समयमा खाने, ठिक्क खाने
-छिटो सुत्ने, छिटो उठ्ने
-मदिरा तथा धुम्रपान सेवन नगर्ने
-लामो समयसम्म भोको नबस्ने
-तनाव व्यवस्थापन गर्ने
-मसालेदार खानेकुरा र जंकफुड नखाने
-अनावश्यक रुपमा दुखाइ कम गर्ने औषधि नखाने
-शारीरिक व्यायाम गर्ने ।
(जनरल फिजिसियन तथा ग्यास्ट्रोलोजिस्ट डा. भण्डारीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4