Comments Add Comment

पीडा भुल्दै पुनर्निर्माणमा हातेमालो गर्दैछन् भूकम्पपीडित

कोही अर्मपर्मबाट घर बनाउँदै, कोही घरमै गिट्टी कुट्दै

कृष्णबहादुर खड्का

२८ माघ, काठमाडौं । २०७२ वैशाखको पहिलो हप्ता आन्द्रामा समस्या आएपछि दोलखाको चिलङ्खा गाविस-८ यार्साभर्‍याङका कृष्णबहादुर खड्का काठमाडौं आएर शल्यक्रिया गराए । शल्यक्रिया गरेर घर फर्किएको ४ दिनमा भुइँचालो आयो । १२ गतेको भुईँचालोले मक्काएको घर २९ गतेको परकम्पले जमिनमै पछारिदियो । खड्काले आफ्नै अगाडि घर लडेको मात्रै देखेनन्, श्रीमतीलाई पनि गुमाउनुपर्‍यो । विरामी अवस्थामा रहेका उनीमाथी भुईँचालोले बज्रपात गरायो । काम गर्न नसक्ने अवस्थामा रहेका उनलाई ३ बालबच्चाको हेरचाह गर्न हम्मेहम्मे पर्‍यो । लामो समय टहराको बास भएपनि भूकम्पले दिएको गहिरो चोटलाई विर्सदै सरकारी अनुदानको पहिलो किस्ता वापतको ५० हजार लिएर उनी अहिले नयाँ घर बनाउँदैछन् ।

उनी भन्छन्, ‘काम गर्न नसक्नाले आम्दानीको कुनै स्रोत छैन, म धेरै बाँच्दिन पनि होला तैपनि यी छोराछोरीका लागि एउटा गतिलो त घर बनाइदिनै पर्‍यो । त्यसैले पुरानो घरका ढुंगा, काठ प्रयोग गरी पहिला जस्तै अग्लो नबनाएर सानो एक तले घर बनाउने प्रयास गर्दै छु ।’

उनले घर बनाउन १ जना तालिम प्राप्त डकर्मी पनि लगाएका छन् । ढोकामुनी चाहिँ पानीले काठलाई बिगार्ला भनेर ढलाने डिपीसी हाले पनि सुर बन्धन र कैँचीको रुपमा पुराना काठलाई नै प्रयोग गरेका उनी अर्को किस्ताको रकम कुर्दैछन् ।

गोरखा भूकम्पका कारण प्रभावित ३१ जिल्लामध्येका बढी प्रभावित १४ जिल्लालाई मात्र एउटा भूगोल मान्ने हो भने दोलखा, नुवाकोट र धादिङ भौगोलिक हिसाबले क्रमशः पूर्वी, मध्य र पश्चिम क्षेत्रमा पर्छन् । यी तीन जिल्लामा देखिएका समस्या वा भए देखिएका सकारात्मक परिणामबाट भूकम्प प्रभावित अन्य जिल्लाको पनि चित्र बुझ्न सकिन्छ ।

२०७२ बैशाख १२ को भूकम्पका कारण ठूलो क्षति व्यहोरेका धादिङ र नुवाकोट अनि वैशाख २९ गतेको परकम्पका कारण व्यापक क्षति भएको दोलखाका बस्तीहरु विस्तारै उठ्दैछन् । सरकारी अनुदान कुर्दाकुर्दै टहरामा १५ महिनाभन्दा बढी गुजारेका यी जिल्लाका भूकम्प पीडितहरु कतिले पहिलो किस्ता वापतको ५० हजार बुझेर र कतिपयले पैसा आउँदै गर्छ, घर बन्दै गर्छ भन्ने बुझाइमा घर बनाइरहेका छन् । घरको जग बसालेर दोस्रो किस्ताको रकम कुरेर बसेका पनि धेरै छन् ।

दोलखामा पुनर्निर्माणको गति बढ्यो

चिलङ्खा-४, लोटिङका शिव बहादुर खड्काले पहिलो किस्ताको रकम लिएर पुरानो जगबाटै घर बनाउन थालेका थिए । त्यसै शिलशिलामा उनले अमेरिकी सहायता नियोगको सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालद्वारा सञ्चालित बलियो घर कार्यक्रमको मोबाइल टोलीसँगको प्राविधिक परामर्शपछि पुरानो जगबाट घर बनाउनु र नयाँ जगबाट घर बनाउनुको फाइदाबारे थाहा पाए । अनि पुरानो जग हटाएर नयाँ जग राख्न राजी भए । उनले अहिले नयाँ जग खनेर आरसिसि बन्धनको प्रयोगमा माटोको मसलाको जोडाइमा ढुङ्गाको गारोवाला १ तले र बुँइगल राखेर घर निर्माण गरिसकेका छन् ।

दोलखाकै मागापौवा गाविस-१ चिसापानीका ६९ वर्षीय बोमबहादुर श्रेष्ठले २ महिना लगाएर घर बनाए । सरकारी एवं गैर सरकारी संस्थाका इन्जिनियरहरुसँगको पटकपटक परामर्श लिँदै उनले ६ जना रहेको परिवारको लागि गज्जबको घर बनाएका छन् ।

बोमको घरभन्दा थोरै माथि ७१ वर्षीया नन्दकुमारी श्रेष्ठले तालिमप्राप्त डकर्मी प्रयोग नगरे पनि इन्जिनियरहरुको नियमित अनुगमनमा एक तलाको घर निर्माण सम्पन्न गरिसकेकी छन् ।

दोलखाका शहरी इलाकामा पिलरवाला घर बनिरहेका छन् भने ग्रामिण भूभागमा ढुंगामाटोका घर धमाधम बनिरहेका छन् । अधिकांश ठाउँमा निर्मित र बन्दै गरेका ढुंगामाटोको घरमा सिमेन्टको सुर बाँधेर निर्माण गरिएको छ भने कतै काठको बन्धन राखेर पनि निर्माण भइरहेको छ । दोलखाका बाबरे, विगु, लामीडाँडा, लादुक, काटाकुटी, भीरकोट, मालु, झुले लगायतका गाविसमा पनि धमाधम भूकम्प प्रतिरोधी नयाँ घर बनिरहेका छन् ।

‘घर बन्नु मात्रै ठूलो कुरा होइन, ती घर भूकम्पीय दृष्टिकोणले कति सुरक्षित छन् भन्ने कुरा महत्वपूर्ण हो । खुसीको कुरा के हो भने, अधिकांश घरहरु अहिले भूकम्प प्रतिरोधी छन् । भूकम्पपछि सबैमा सचेतना आएको छ । सरकारी तथा धेरै गैरसरकारी संस्थाको तहबाट अभिमुखिकरण तालिमहरु सञ्चालन भएका छन् । भूकम्प प्रतिरोधी आवास निर्माणको लागि डकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम दिइएपछि घरधनीहरुले तालिमप्राप्त डकर्मीको प्रयोग पनि गरेका छन्,’ बलियो घर कार्यक्रमका प्रबन्धक रञ्जन ढुंगेलले भने ।

दोलखाका विभिन्न गाविसहरुमा युएनडिपी, युएसएड, एनसेट, सेभ द चिल्ड्रेन, रेडक्रस, प्लान, कारितास, हुराडेक लगायतका संस्थाहरुले सुरक्षित पुनर्निर्माणको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरी सरकारलाई सहयोग पुर्‍याइरहेका छन् ।

पुनर्निर्माणमा महिला

दोलखा भिमेश्वरकी बाल कुमारी काफ्ले उमेरले ५२ वर्ष नाघिसकिन् तर उनी अहिले आवास पुनर्निर्माणमा कम्मर कसेर लागेकी छन् । यसअघि उनी निर्माण हुने घरमा ढुंगा, पानी, माटो ओसारेर पुरुष डकर्मीलाई सहयोग पुर्‍याउँथिन् ।

सन् २०१६ को जुलाइमा अमेरिकी सहायता नियोग (USAID) को सहयोगमा एनसेटद्वारा सञ्चालित बलियो घर कार्यक्रमले दिएको डकर्मी तालिममा सहभागी भएपछि काफ्लेको जीवनमा नयाँ मोड आयो ।

उनी अहिले डकर्मी मात्र होइनन्, ठेक्का लिएर चरिकोट वरिपरी थुप्रै घर निर्माणमा संलग्न छिन् । उनलाई अर्की महिला डकर्मी ३३ वर्षीया डम्बर कुमारी काफ्लेले सघाइरहेकी छन् ।

घरमै गिट्टी तयार

दोलखा मालु गाविस-१ तिलहरमा उमेरले ६० कटेकी धनमाया भण्डारी गिट्टी कुट्दै गरेकी भेटिइन् । ‘छोरा विदेश गाको छ, छोरो आएपछि घर बनाउने योजना छ । ढुंगामाटोको घर बनाउँदा सिमेन्टको बन्धन राख्ने सोचेकी छु, त्यसैलाई आवश्यक पर्ने गिट्टी घरमै तयार पार्दै छु,’ उनले भनिन् ।

सोही ठाउँकी १८ वर्षीया ज्योति लकाई पनि घरमै गिट्टी तयार पार्दैछिन् ।

ज्योति लकाई

नुवाकोटको गति उस्तै

नुवाकोटको विदुर नगरपालिकाको बट्टार बजारबाट ३ किलोमिटर दक्षिणमा रहेको पिपलटारस्थित कुमालगाउँमा यतिबेला निर्माण हुन लागेका प्रशस्तै घरहरु देख्न सकिन्छ । कुमालगाउँका अधिकांश भूकम्प पीडितले पहिलो किस्ताको रकम बुझेका छन् तर सो रकम घडेरी खार्न मात्र काम लागेको बताउँछन् । कतिले पिलर राखेर घर बनाइरहेका छन् भने आर्थिक अवस्था अलि कमजोर हुनेहरुले सिमेन्टको जोडाइमा पाकेको इँटाको गारोवाला घर निर्माण गरेका छन् । सरकारी अनुदान कम भएपनि आफ्नो घर आफँैले बनाउनुपर्ने भन्दै उनीहरु भूकम्प प्रतिरोधी घर निर्माणमा लागिरहेका छन् ।

एक तले घर निर्माण सम्पन्न गरेर टहराबाट नयाँ घरमा सर्नै आँटेका स्थानीय भरत कुमालले भने, ‘जति पीडा भएपनि वास्तवमा भन्नुहुन्छ भने भुईँचालो आउनु नै नेपालले प्रगति गर्नु हो । भुईँचालोले हामीलाई हाम्रो घर बलियो बनाउन र बस्तीहरुलाई सुरक्षित पार्न ठूलो अवसर दिएको ठान्छु म त । बलियो घर कार्यक्रमबाट तालिमप्राप्त डकर्मीको प्रयोगले यत्तिको घर बनाइएको छ । अब ठूलै हुरी आएर छानो लगे मात्रै हो, नत्र भुईँचालोसँग अब डर छैन ।’

उनको घर छेउमै जिल्ला प्राविधिक कार्यालय नुवाकोटमा कार्यरत ५० वर्षीय सुभाकर कुमालले थोरै जग्गा बेचेर भएपनि पिलरवाला घर बनाउँदै छन् । ‘जग्गा त पछि-पछि पनि किन्न सकिन्छ, तर बलियो घर अहिले नै चाहिएको छ, त्यसैले थोरै जग्गा बेचेर भएपनि घर बनाउँदै छु,’ उनले भने ।

विदुर नगरपालिकाकै वडा नम्बर ९ रानाथोक, भौतिक पूर्वाधारका दृष्टिले हेर्ने हो भने नगरपालिका भन्न लायकको छैन । नजिकै जंगल रहेको सो वस्तीमा धमाधम गारोवाला घरहरु निर्माण भइरहेका छन् ।

स्थानीय ३३ वर्षीय रामकृष्ण गिरी तालिमप्राप्त डकर्मी हुन् । आफ्नो घर निर्माण सम्पन्न गरेर बुबाआमालाई त्यहाँ राखेर रामकृष्ण अहिले ठूलोबुवा कुष्ण बहादुर गिरीको घर निर्माणमा लागिरहेका छन् । कोरिया पुगेको छोरोको सहायता र जम्मा गरेको नगदले घर बनाउन आँटेका कृष्णबहादुरले अहिलेसम्म २ कोठे घर बनाउन ५ लाख खर्च भइसकेको र रंगरोगनसम्म पुग्दा ६ लाखमा भूकम्प प्रतिरोधी घर निर्माण सम्पन्न हुने बताए । ‘सामान्य रुपमा पहिला बनाउने पद्दतिमा केही सुधार मात्रै गर्दा भूकम्प प्रतिरोधी घर बन्दो रैछ, खर्च धेरै बढेको पाइन मैले त,’ उनले भने ।

नुवाकोटको थानापति गाविस वडा नम्बर ७ का रामशरण पाण्डे शारीरिक रुपमा अशक्त छन् । केही वर्षअघि उनी लडेर घाइते भएका थिए । राम्रो उपचार हुन नसक्दा उनको शरीरमा पक्षघात भयो । अहिले उनी हृवीलचेयरको माध्यमबाट यताउति गर्छन् । भूकम्प गएको २१ महिनापछि नजिकैको जस्ताले बेरिएको टहराबाट उनीभूकम्प प्रतिरोधी नयाँ घरमा सर्दैछन् । तालिमप्राप्त डकर्मी छत्र बहादुर गुरुङको टोलीले २ महिना लगाएर उक्त घर बनाएको थियो । थानापति गाविसमा जम्मा ७ सय ७९ घरधुरीमध्ये ६ सय ६९ घर भूकम्पका कारण ध्वस्त भएका थिए । सो गाविसमा अहिलेसम्म जम्मा २८ वटा घर निर्माण सम्पन्न भइसकेका छन् भने १०० बढी घर निर्माणको चरणमा छन् ।

धादिङ उठ्दै छ विस्तारै, उत्तरी भूभागमा समस्या

धादिङको सदरमुकाम धादिङवेशीबाट ३ घण्टाको कच्ची मोटरबाटोबाट पुगिने मार्पाक गाविस पुनर्निर्माणमा नमूना बन्दै छ । गिटी, बालुवा, सिमेन्ट, रड ढुवानी गरेर गाउँमा पुर्‍याउन समस्या छ । त्यसैले अधिकांशले ढुंगा माटोका घर बनाइरहेका छन् ।

‘गोरखा भूकम्पको बेला सबैभन्दा बढी ढुंगामाटोको घर भत्काएपछि धेरैलाई ढुंगामाटोको घर बनाउन हुँदैन भन्ने भ्रम भयो । सकेसम्म पिलरवाला घर नभए जस्तामुनिकै बास ठीक भन्ने मानसिकता पनि देखियो । तर कुरो बुझ्दै जाँदा र इन्जिनियर तथा सामाजिक परिचालकहरुको निरन्तर अभिमुखिकरणपछि अहिले सबैजना ढुंगामाटोको घरलाई पनि विधि पुर्‍याएर बनाइयो भने बलियो हुन्छ भन्नेमा ढुक्क छन्,’ मार्पाकका तालिमप्राप्त डकर्मी नेत्रबहादुर अधिकारीले भने ।

पास हुने हो कि होइन भन्ने चिन्ता

मार्पाक मात्र होइन, धादिङका उत्तरी गाविसहरु दार्खा, सेर्तुङ, तिप्लिङमा पनि घर बन्ने क्रम बढिरहेको छ तर केही समस्याका बीच । ‘भवन संहिताले भनेझैँ घरमा सिमेन्ट वा काठको बन्धन राख्नका लागि यहाँ ठूलो समस्या छ । सिमेन्ट, वालुवा ल्याउनका लागि बाटो नै छैन । काठ राखुन् भने गोब्रे सल्लाभन्दा अरु काठ पाइँदैन । अहिले घर बनाइहालौँ भने पछि पास हुने हो कि होइन भन्नेमा स्थानीयबीच चिन्ता बढेको छ,’ तिप्लिङमा खटिएका इन्जिनियर सुजल निरौलाले भने ।

अर्मपर्मबाट घर बन्दै

निलकण्ठ नगरपालिकाभित्रैको एउटा बस्ती भुलभुलेमा पहिरोको जोखिम छ । सो ठाउँलाई अन्यत्रै सार्ने विषयमा पनि सरकारी निकायमा यसअघि छलफल पनि भइसकेको हो तर निर्णय हुन नसक्दा भूकम्प पीडितहरु अलमलमै छन् । अलमलकै बीचमा उनीहरुले घर निर्माण थालिसकेका छन् ।

पुनर्निर्माणको लागि तालिमप्राप्त डकर्मीहरुको अभाव देखिएको बेला भुलभुलेका गाउँलेहरु भने आपसमा मिलेर अर्मपर्मबाट घरहरु बनाइरहेका छन् ।

भुलभुलेमात्र होइन, भूकम्प प्रभावित अन्य जिल्लामा पनि स्थानीयहरु मिलेर पालैपालो घर बनाइरहेका छन् । विपतका बेला पनि हाँस्न सक्ने र विपतकैबीच अतिथिको सत्कार गर्न कुनै कसर बाँकी नराख्ने संस्कारका धनी सबै नेपालीहरुबीचको हातेमालोबाट मात्रै पुनर्निर्माणको अभियान सफल हुन सक्छ भन्ने सन्देश यी क्षेत्रका जनताले दिएका छन् ।

– लेखक शर्मा भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)मा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment