
२६ वैशाख, काठमाडौं । एक दशकपछि बालाजु पौडी पोखरी पुनर्निर्माण भएको छ । वैशाख २०७२ मा आएको विनाशकारी भूकम्पले क्षति पुर्याएपछि यो पौडी पोखरी बल्ल पुनर्निर्माण भएको हो ।
२०७२ सालको भूकम्पको कम्पनले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो । त्यसपछि पोखरी पुनर्निर्माण थालिएको थियो । ७ करोड ८५ लाख रुपैयाँ लागत अनुमान गरिएको पुनर्निर्माण गर्न पशुपतिनाथ कन्स्ट्रक्सनले ७ करोड ४३ लाख रुपैयाँमा निर्माण कबोल गरेको थियो ।
निर्माणको खर्च रकम ७ करोड ४३ लाख ३१ हजार १ सय ९७ रुपैयाँ हो । कामका लागि ५ असोज २०७९ मा कार्यादेश दिइएको थियो । १९ चैत २०८० मा निर्माण सम्पन्न भएको हो ।
‘पुनर्निर्माणको पहिलो चरणमा १८ लाख लिटर पानी अट्ने क्षमताको ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको पोखरी बनाइएको हो,’ पुनर्निर्माणबारे जानकारी दिँदै सार्वजनिक निर्माण विभागका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले भने, ‘पौडी पोखरीको गहिराइ ३ फिटदेखि १० फिटसम्म छ । पोखरी पुनर्निर्माणसँगै पानी प्रशोधन प्लान्ट, शुद्धीकरण प्लान्ट, १ सय ५० जना क्षमताको दर्शक बस्ने ठाउँ निर्माण गरिएको छ ।’
उनका अनुसार पुरानो शौचालय र स्नान घर पुनर्निर्माण गरिएको छ । लकरहरूको व्यवस्था गरिएको छ । पोखरीको वरिपरि काँडे तारले सुरक्षा लगाइएको छ । पानीको पीएच भ्यालु र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको छ ।
पानीको गुणस्तर हेरेर मात्रै चलाउन निर्देशन
काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले पानीको गुणस्तर सुनिश्चित गरेरमात्र पौडी पोखरी खुला गर्न र इनडोर पोखरी बनाउन निर्देशन दिइन् । साथै पोखरी सञ्चालनलाई उद्यानको गुरुयोजना अन्तर्गत व्यवस्थापन गर्नुपर्ने उनले बताइन् ।
सहरी योजना आयोग उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीका अनुसार उद्यानको गुरुयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठले स्थानीयवासीले गुरुयोजना कार्यान्वयनको अपेक्षा गरेको बताइन् ।
उनका अनुसार पोखरीको प्रवेशमार्ग उद्यानको मूल ढोकाबाट मात्र भएकाले व्यावसायिक हिसाबमा सञ्चालन गर्न कठिन छ । यसकारण दोस्रो चरणमा पोखरीकै छेउबाट ढोका खोल्ने लगायत काम गर्ने योजना छ ।
बालाजुमा धेरै बाँदर भएकाले पोखरीमा उनीहरूलाई आउनबाट रोक्न चुनौती छ । यसलाई रोक्न फाइबर फेन्सिङ गर्ने, क्याफेटेरिया बनाउने, बालबालिकाका लागि पौडी पोखरी बनाउने, ड्राइ फाउन्टेन बनाउने, ओभरहेड पानी ट्यांककी बनाउने लगायत योजना छन् ।
पौडी सञ्चालन गर्न संघसँग सम्झौता
पौडी पोखरी सञ्चालन गर्न महानगरपालिकाको उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाले नेपाल पौडी संघसँग सम्झौता गरेको छ ।
आयोजना प्रमुख नवराज थापा र संघका महासचिव ईश्वरकुमार कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार संघले एक जना वरिष्ठ जीवन रक्षक (लाइफ गार्ड), एक महिला अनिवार्य सहित ३ जना लाइफ गार्ड, एक जना पानी प्रशोधन प्राविधिक सहित ५ जनशक्ति उपलब्ध गराउने छ ।
महानगरले तोकेको पोखरी सञ्चालन हुने दिनमा सेवाग्राही आउनुभन्दा १० मिनेट अगाडि नै जनशक्ति पोखरीमा पुगिसक्नुपर्ने छ । समय सकिएपछि कार्यालय प्रमुखलाई दैनिक कामको विवरण दिएर फर्किनुपर्ने छ । यो सम्झौता पोखरी सञ्चालन अवधिका लागि हो ।
के छ बालाजु उद्यानको विशेषता ?
बालाजु उद्यान १ सय ५८ रोपनी क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लको पालामा २१ वटा धारा निर्माण भएका थिए । पछि रणबहादुर शाहले बीचको एउटा ठूलो धारा निर्माण गराएपछि यसको नाम बाइस धारा रहन गएको हो । २०१८ सालमा राजा महेन्द्रको पालामा बालाजु बाइसधारा उद्यान निर्माण गरिए पनि २०२१ सालदेखि मात्र सर्वसाधारणका लागि खुला गरिएको थियो ।
धार्मिक तथा प्राकृतिक दुवै कोणबाट पवित्र मानिने नागार्जुन डाँडाको फेदमा बालाजु बाइसधारा उद्यान छ । यस धारामा आउने पानीमा नुहाउँदा ल्हुतिपुन्हिका दिन जान अन्जानमा गरेका पाप पखालिने विश्वाससाथ श्रद्धालु स्नानका लागि आउने गरेका छन् ।
हिन्दु र बौद्ध दुवै धर्मावलम्बीको धार्मिक आस्थासँग जोडिएको बाइसधारा मेलामा नुहाएपछि नजिकै रहेको मन्नादि देवी लगायत मन्दिरमा पूजाआजा गर्नाले रोगव्याधी नलाग्ने, पारिवारिक सुख समृद्धि बढ्ने तथा फलिफाप हुने जनविश्वास छ ।
प्रतिक्रिया 4