Comments Add Comment

प्रधानमन्त्री कार्यालयबाट सहसचिवसहित १४ कर्मचारी गायव !

सवारीचालक समेत लिएर विदेश गएको अनुमान


२८ माघ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट एकैपटक सहसचिव, उपसचिवदेखि ड्राइभरसहित गरि १४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । उनीहरु गत आइतबारदेखि कुनै जानकारीविना अनुपस्थित रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

ठूलो संख्यामा जिम्मेवार तहका कर्मचारीहरु एकैपटक कार्यालयमा अनुपस्थित भएपछि प्रधानमन्त्री कार्यालयले उनीहरुबारे सूचना संकलन थालेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार यसरी अनुपस्थित हुने कर्मचारीहरुमा आर्थिक पूर्वाधार महाशाखा प्रमुख रामेश्वर दंगाल, सोही महाशाखाका उपसचिव तारानाथ अधिकारी, मुकेश रेग्मी र आर्थिक लेखा अधिकृत नारायणप्रसाद नेपाल लगायत छन् ।

विदेशी कम्पनीको पैसामा विदेश भ्रमणमा ?

स्रोतका अनुसार उनीहरु प्रधानमन्त्री कार्यालयलाई जानकारी नै नदिई खुसुक्क एक फ्रान्सेली कम्पनीको लगानीमा एक साता विदेश भ्रमणमा गएको हुन सक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री कार्यालयकै एक विस्वस्त स्रोतका अनुसार उनीहरु आइतबारदेखि आगामी सोमबारसम्म फा्रन्स र नेदरल्याण्ड भ्रमणमा रहने छन् ।

फ्रान्सस्थित मर्को फ्रान्स भन्ने कम्पनीले नेपालको राष्ट्रिय परिचय पत्रको टेण्डर पारेको छ । सोही कम्पनीले प्रधानमन्त्री कार्यालयमा महत्वपूर्ण भूमिकामा रहेका कर्मचारीहरुलाई घुमाउन लगेको हो ।

अरु कर्मचारी को-को छन् ?

यसैगरी कार्यालयलाई कुनै जानकारी नदिई कार्यालय अनुपस्थित हुने अन्य कर्मचारीमा धेरैजसो अधिकृत छन् । उनीहरुमा विनोद गेलाल, अर्जुन खड्का, रामहरि न्यौपाने, जुनु भट्टराई, निरञ्जन श्रेष्ठ रहेका छन् । यस्तै नायव सुब्बाहरुमा टुक्ती शेर्पा, तीर्थराज थापामगर, कृष्णप्रसाद ढकाल र ड्राइभर श्रीहरी पुडासैनी छन् । उनीहरु सबैजना आइतबारदेखि नै कार्यालयमा अनुपस्थित रहेको र अहिलेसम्म उनीहरु कहाँ गएको भन्नेबारेमा जानकारी नभएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

समाचार प्रकाशित भएपछि अनलाइनखबरलाई सम्पर्क गर्दै शाखा अधिकृत विनोद गेलाल र रामहरि न्यौपानेले भने आफूहरु नियमित कार्यालय गइरहेकेा बताएका छन् । साथै जुनु भट्टराईले आफू विदा स्वीकृत गराएर अस्पतालमा रहेको बताइन् ।

के भन्छ प्रधानमन्त्री कार्यालय ?

कर्मचारी कार्यालयमा अनुपस्थित भएको स्रोतको दावीलाई प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले स्वीकार गरे । उनले भने केही साथीहरु अनुपस्थित देखिनुभएको छ, उहाँहरु किन आउनुभएन, कुनै सूचना आएको छैन ।’

रेग्मीले त्यसरी सूचनाविना कार्यालयमा अनुपस्थित हुने कर्मचारीलाई निजामति सेवा ऐन र नियमावली अनुसार कारबाही गरिने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment