Comments Add Comment

विप्लवको भाषणः घैंटेदेखि चटकेसम्मको चर्चा

खुल्लामञ्चमा आक्रोश पोखियो, तर निकास के ?

१ फागुन, काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द भावुक नेता मानिन्छन् । आइतबार खुल्लामञ्चमा पार्टीको आठौं महाधिवेशन उद्घाटन एवं २२ जनयुद्ध दिवस मनाइरहँदा उनले माओत्सेतुङजस्तै देखिनका लागि खैरो पोशाक लगाएका थिए । उनले खजुराजस्तै देखिने जुँगा पटक-पटक मुसार्दै खुल्लामञ्चबाट सुशीला कार्कीदेखि प्रचण्ड-बाबुराम, गगन थापा, कसैलाई पनि गाली गर्न बिर्सिएनन् ।

के-के भने विप्लवले ?

माओवादी नेता विप्लवले आफ्नो भाषणमा समाजका सबै तप्कालाई सम्वोधन गर्ने प्रयास गरे । सुरुमा उनले देशभरि ४० लाख सुकुम्बासीहरु भएको भन्दै सरकारले सुकुम्बासीको मकैबारी फाँडेको र वर्षायाममा घर भत्काइदिएको बताए । उनले सुकुम्वासीहरुलाई साथ दिन माओवादी पार्टी तयार रहेको भन्दै देशैभरिका सुकुम्बासीलाई फकाउने प्रयास गरे । त्यसैगरी उनले मजदुर र किसानका समस्याहरु देखाउँदै माओवादी उनीहरुको साथमा रहेको बताए ।

विप्लवले वैदेशिक रोजगारीका गएका युवाका बारेमा कुरा गर्दै विगतमा जीपीएमजी खोस्न सक्ने युवाहरु विदेश जान नहुने बताए । देशभित्रै बसेर क्रान्ति गर्न उनले युवालाई आग्रह गरे । त्यसैगरी महिलाहरुलाई विदेशमा दलालका हातबाट नबेचिन आग्रह गर्दै आवश्यक परे फेरि बन्दुक बोक्न आग्रह गरे ।

विप्लवले दलित र जनाजातिका समस्याका बारेमा पनि बताए । जनजातिहरु संघीयताको भुलभुलैमा परेर बस्न नहुने भन्दै समाजवादी क्रान्ति नगरेसम्म बुर्जुवा संघीयताबाट समस्या समाधान हुन नसक्ने विप्लवले बताए ।

मधेसी समुदायलाई ‘मधिसे’ भन्दै विप्लवले मधेसका गरिबहरु, मधेसका दलितहरुलाई दलालहरुले थिचोमिचो गरिरहेको र ‘पहाडे-मधिसे’ का नाममा शासकहरुले फुटाएको बताए । त्यसैले यो जात र उ जात भनेर विभाजित नभई सबै जातजाति मिलेर अहिलेको संसदीय व्यवस्था ढाल्नुपर्ने उनले बताए । साथै विप्लवले क्षेत्री बाहुनहरु पनि उत्पीडित रहेको भन्दै राणा शासनदेखि राजतन्त्रसम्म ढाल्ने लडाइँमा क्षेत्री बाहुनले अग्रणी भूमिका खेलेको बताए ।

विप्लवले मजदुर र किसान अनि सुकुम्बासीलाई मात्रै फकाएनन्, यो देशमा केही गरौं भन्ने राष्ट्रिय पूँजीपति वर्गको समेत संरक्षण माओवादीले गर्ने दाबी गरे ।

यति सबै भाषण गरिसकेपछि विप्लवले यसको राजनीतिक निश्कर्ष सुनाउँदै देशमा अहिलेको सबै समस्याको जड संसदीय व्यवस्था भएको दाबी गरे । यो संसदीय व्यवस्थाको अन्त्य गरेर नयाँ जनवादी समाजवादी राज्य स्थापना गर्नुपर्ने विप्लवले बताए ।

घैंटेदेखि चटकेसम्मको चर्चा

माओवादी नेता विप्लवले भाषणका क्रममा कतिपय नेताहरुको नाम लिएर र केहीको नाम नदिई सक्दो गाली गरे ।

भाषणका क्रममा विप्लवले देशमा स्वास्थ्य महंगो भएको र उपचार गर्न नसकेर मानिसहरुले छतबाट हाम्फालेर मरेको बताए । यसक्रममा उनले स्वास्थ्यमन्त्री गगन थापाले घैंटेको पैसा पचाउन बाग बजारमा भाषण गरेजसरी आफूहरुले भाषणमात्रै नगर्ने बताए ।

विप्लवले प्रचण्ड र केपी ओलीको पनि प्रशंग ल्याए । प्रचण्डले दिनभरि गरेको भाषण ओलीले एउटै टुक्का भनेर सिध्याइदिने विप्लवले बताए । त्यसैगरी ओलीले भनेको टुक्कालाई प्रचण्डको एउटै ढाँटले सिध्याइदिने गरेको र ओली प्रचण्ड दुबै चटके नेता भएको उनले आरोप लगाए ।

कांग्रेसका केही नेताहरुको नाम नलिई विप्लवले ‘भूकम्प पीडितको त्रिपाल र जस्ता खाने नेताहरु’ भने । यस्ता नेतालाई खाडल खनेर गाड्नुपर्ने उनले बताए । ४० वर्ष सरकारमा बसेको कांग्रेसले भ्रष्टाचारबाहेक केही नगरेको भन्दै त्यस्ता नेताले आफूलाई प्रजातन्त्र नसिकाउन विप्लवले आग्रह गरे ।

बाबुराम भट्टराईलाई पनि विप्लवले प्रश्न गरे । ‘जनयुद्धको कमाण्डर अरे, केको कमाण्डर ?’ विप्लवले प्रश्न गरे- आफ्ना सदस्यहरुको रक्षा गर्न नसक्ने पनि केको कमाण्डर ?

माओवादी नेता प्रचण्डले भारत गएर नरेन्द्र मोदीसँग आत्मसमर्पण गरेर आएको विप्लवले आरोप लगाए । उनले भने- भारत गएर बाबुरामले बिप्पा गरे, प्रचण्डले २५ बुँदे गरेर आए, असमान सन्धी सम्झौता खारेजीको कुरै भएन, मोदीका अगाडि गरुडसामु सर्प गुँडुल्किएजस्तो भएर आए ।’

प्रचण्डपछि कांग्रेस सभापति शेरबहादुर देउवा दिल्ली गएको भन्दै विप्लवले देउवाले भारतमा दलाई लामासँग भेट गरेको बताए । देउवाले नेपालको ‘जियो पोलिटिक्स’ लाई ख्याल नगरेको उनले आरोप लगाए ।

कृष्णबहादुर महरा र वर्षमान पुनलाई समेत विप्लवले गाली गरे । उनीहरुले अर्थमन्त्री भएर पनि रोल्पाका लागि केही काम नगरेको विप्लवले बताए । रोल्पाको एउटा कलेजका लागि भारतीय दूतावासमा पैसा मागेको भन्दै विप्लवले यो लाजमर्दो विषय भएको बताए । उनले भने- ‘रोल्पाको लिवाङ कलेजमा लैनचोरको पैसा, भारतीय दूतावासको पैसा ? यो लाजमर्दो कुरा हो । महराजी अर्थमन्त्री हुनुहुन्छ, वर्षमानजी अर्थमन्त्री हुनुभो, रोल्पाका लागि केही गर्नुभएन ।’

जनयुद्धका बेला माओवादीले रोल्पामा आफैं बाटो खनेको र पहाड फुटाएको विप्लवले बताए ।

सबैलाई गाली गर्दैगर्दै विप्लव सर्वोच्च अदालत र प्रधानन्यायाधीश सुशीला कार्कीमाथि खनिए । अदालतले मजदुरहरुको पक्षमा नभई मालिकहरुको पक्षमा फैसला गर्ने गरेको विप्लवले आरोप लगाए ।

विशेष गरी जनयुद्धकालमा माओवादीमाथि लगाइएका मुद्दाहरु तत्काल खारेज गर्न विप्ल्वले प्रधानन्यायाधीश कार्कीलाई चेतावनी दिए । उनले भने- ‘कार्कीले खारेज गर्नुभएन भने, प्रचण्डको हात काँप्यो र यताउति भयो भने माओवादीले खारेज गर्छ ।’

माओवादीलाई कसैले सिके राउतलाई जस्तै जेल हाल्न चाहेको छ भने हाले हुन्छ भन्दै विप्लवले चेतावनी दिए । उनले भने- ‘हामी काठमाडौंमै छौं, सक्छौ भने जेल हाले हुन्छ, तर देश बेच्नेहरु जेल जानुपर्ने हो कि देशको रक्षा गर्नेहरु जेल जानुपर्ने ? यसको हिसाब-किताव इतिहासले गर्छ ।’

माओवादी नेता विप्लवले सेना प्रहरी लगायत सुरक्षाकर्मीमाथि कुनै गाली गरेनन् । सेना र आफूहरु हिजो मिलेर लडेको तर अहिले वीचमा ‘बाँदरले जसरी’ कांग्रेस एमाले लगायत संसदवादीहरुले सत्ताको स्वाद चाखिरहेको विप्लवले बताए । तर, उनीहरुले माओवादीलाई हेपिरहेको उनले बताए ।

शान्ति प्रक्रियामा आएपछि माओवादी नेताहरुमा लैनचौर र बालुवाटारको किटाणु पसेको र केही नेताहरु थला परेको भन्दै विप्लवले उनीहरु रोगले थला परे पनि आफूहरु फेरि उठ्न सफल भएको बताए । आफूहरुले यो वा त्यो माओवादी नभनी जनयुद्ध लडेका सबै माओवादी कार्यकर्ताको संरक्षण गर्ने विप्लवले बताए । यसो भनिरहँदा उनले अन्य समूहमा रहेका माओवादी कार्यकर्ता र पूर्वलडाकूहरुलाई आफूतिर तान्न खोजेको जस्तो देखिन्थ्यो ।

आक्रोश देखियो, तर निकास देखिएन

विप्लवको भाषणमा अहिलेको राजनीतिक अवस्था र नेतृत्वप्रति तीव्र आक्रोश देखिन्थ्यो । तर, यसको एकमात्र समाधान उनले ‘संसदीय व्यवस्थाको अन्त्य गर्नु’ र समाजवादी राज्यसत्ता स्थापना गर्नु रहेको तर्क गरे ।

त्यस्तो राज्यसत्ता कसरी ल्याउने ? यसको विधि, प्रक्रियाबारे उनले खासै केही बताएनन् । पुरानै तरिकाले लड्ने कि ? चुनावलाई उपयोग गरेर अघि बढ्ने कि ? यसबारे उनले कुनै राजनीतिक एजेण्डा पस्केनन् । बरु उनले ‘जीपीएमजी उचालेका हातहरु’ भन्नेजस्ता उग्र र भावावेशपूर्ण जार्गनहरु मात्रै दोहोर्‍याए ।

महाधिवेशनमा पार्टीको नामबाट ‘माओवादी’ हटाएर ‘नेपाल कम्युनिष्ट पार्टी’ मात्रै राख्नुपर्ने प्रस्ताव गरेका विप्लवले खुल्लामञ्चबाट भाषणको अन्त्यमा ‘माओवादी जिन्दावाद’ नारा लगाए, जसलाई खुल्लामञ्चमा खचाखच भरिउका कार्यकर्ताले साथ दिएका थिए ।

विप्लव नेतृत्वको माओवादीले आइतबार खुल्लामञ्चबाट महाधिवेशनको उदघाटन गरे पनि बन्दशत्रचाँहि सोमबारदेखि रोल्पाको थबाङमा गर्ने भएको छ । यसका लागि काठमाडौंमा भेलाभएका नेता कार्यकर्ताहरु आइतबार साँझ थबाङतिर लागेका छन् ।

महाधिवशेनको उदघाटनपूर्व राजधानीमा रातो झण्डासहित विप्लव माओवादीका कार्यकर्ताले जुलुस लगाएका थिए । खुल्लामञ्चमा देखिएको माओवादी कार्यकर्ताको उल्लेख्य उपस्थितिले विप्लव माओवादी देशव्यापीरुपमा माओवादीका अन्य समूहभन्दा बढी शक्ति आर्जन गर्नेतिर लागेको आभाष दिएको छ ।

विप्लव माओवादीमा बढीजस्तो युवापुस्तामा कार्यकर्ताहरुको उपस्थिति देखिन्छ । जबकि प्रचण्ड र वैद्य समूहमा युवाहरु कम र प्रौढहरु बढी देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment