+
+

भारतसँग सम्बन्ध सुधारको अभियानमा नारायणकाजी

नेपालमाथि हस्तक्षेप नगर्न आग्रह, नाकाबन्दीको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ३ गते ९:५५

३ फागुन, नयाँ दिल्ली । नेपालको आन्तरिक मामिलामा भारतले गर्ने हस्तक्षेपको कडा विरोध गर्दै आएका नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ यतिबेला भारतका राजनीतिक दल, वुद्धिजीवी एवं अन्य क्षेत्रका मानिसहरुसँग भेटघाटमा व्यस्त छन् ।

गत शुक्रबारदेखि दिल्ली भ्रमणमा रहेका श्रेष्ठ भारतीयहरुसँग माओवादी पार्टीको सम्वन्ध सुधार गर्ने मिसनमा व्यस्त छन् । तर, उनले आफ्नो अडानलाई भने नफेरेको उनका साथमा रहेका नेताहरुले जानकारी दिएका छन् ।

दिल्लीमा गरेको राजनीतिक भेटघाटमा श्रेष्ठले नेपालको आन्तरिक मामिलामा भारतले गरेको हस्तक्षेप, अहिलेको संविधान संशोधनमा भारतको चासो तथा गत वर्षको नाकावन्दीको विषयमा खुलेर आफ्ना कुराहरु राखेका छन् ।

नेपालका पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले भारतीय नेताहरुलाई नेपालको आन्तरिक मामिलामा ‘माइक्रोम्यानेज’ नगर्न आग्रह गरेका छन् ।

श्रेष्ठले विभिन्न राजनीतिक दलका नेता तथा वुद्धिजीवीहरुका लागि सोमवार आयोजना गरेको डिनरसहितको भेटघाटमा नेपाल र भारतका वीचमा खुला छलफलको आवश्यकता औल्याउँदै नेपालको आन्तरिक मामिलामा नेपाली जनता र राजनीतिक दलका नेताहरुले नै निर्णय गर्न पाउनुपर्ने धारणा राखे ।

माओवादी पार्टीको प्रवासी संगठन नेपाल-भारत प्रवासी एकता मञ्चको कार्यक्रमा भाग लिनका लागि भनेर भारत आएका श्रेष्ठको मुख्य उद्देश्य भारतसँग माओवादी पार्टीको राजनीतिक सम्पर्क विस्तार गर्नु नै हो ।

सो डिनरमा नेपालमा लागि पूर्वराजदुत केभी राजन, विपक्षी काँग्रेस आइका नेता मणिशंकर अय्यर, वुद्धिजीवी तथा भारतका पत्रकारहरुको उपस्थिति थियो । उनले सो रात्रीभोजमा गत वर्षको नेपाल-भारत सम्वन्ध तथा अन्य विषयहरुमा आफ्ना धारणा राखेका थिए ।

तत्कालीन सातदल र माओवादीका वीचमा भएको १२ बुँदे सहमति तथा त्यसपछिको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठको भारतीय नेताहरुसँग खासै गहिरो सम्वन्ध छैन । अझ सन् २०१४ मा भारी बहुमतका साथ सत्तामा आएको भारतीय जनता पार्टीका नेताहरुसँग त श्रेष्ठको सम्वन्ध एकदमै कम छ ।

त्यसैले आफूले लिएको अडान पनि परिवर्तन नगर्ने र भारतीय पक्षसँग पनि सम्वन्ध सुधार गर्ने लक्ष्य बोकेर उनी दिल्ली आएका छन् । माओवादी पार्टीको प्रवासी संगठन नेपाल-भारत प्रवासी एकता मञ्चको कार्यक्रमा भाग लिनका लागि भनेर भारत आएका श्रेष्ठको मुख्य उद्देश्य भारतसँग माओवादी पार्टीको राजनीतिक सम्पर्क विस्तार गर्नु नै हो ।

यसक्रममा श्रेष्ठले भारतीय नेसनल कांग्रेसका महासचिव डीपी त्रिपाठी, विपक्षी कांग्रेसका नेताहरु करण सिंह, मनिसंकर अय्यर तथा आनन्द शर्मासँग भेटघाट गरिसकेका छन् । उनले भारतीय जनता पार्टीका महासचिव राममाधवसँग मंगलबार भेटघाट गर्ने कार्यक्रम छ ।

राजनीतिकबाहेक प्रशासनिक तहमा श्रेष्ठले गरेको भेटघाटका बारेमा भने श्रेष्ठ र दिल्लीस्थित नेपाली दुतावासले केही पनि बताएका छैनन् । प्रचण्डपछि माओवादी केन्द्रको दोस्रो बरियतामा रहेका श्रेष्ठ भारतको राजनीतिक नेतृत्वसँग आफ्ना कुराहरु स्पष्टसँग राख्ने मुडमा देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?