Comments Add Comment

बैंकको स्टोर रुममा लुके, अनि २२ लाख चोरेर परालमुनि लुकाए

झोलामा पैसा हालेर फोनमा भने- एटिएम रित्तियो !

३ फागुन, कैलाली । मान्छेको मति बिग्रिएपछि कस्तो हालत हुन्छ भनेर थाहा पाउने हो भने धनगढीस्थित नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका कर्मचारी गोविन्द उपाध्यायको चर्तिकला हेरे पुग्छ । आफैंले काम गर्ने बैंकबाट २२ लाख रुपैयाँ झोलामा हालेर हिँडेका उपाध्यायले पैसा लुकाउने ठाउँ कहीँ पाएनन् र भाउजूका घरमा पुगेर परालमुनि २२ लाख ७० हजार लुकाए ।

अहिलेको सञ्चारको युगमा यति कच्चा काम गरेर त्यत्रो धनराशी पचाउन सकिन्छ भन्ने मूर्ख-बुद्धिका कारण उपाध्यायले अब लामै समय जेलमा बिताउनुपर्ने भएको छ । चोरीको योजना केही घण्टासम्म टिक्न नसके पनि यी विचरा कर्मचारीले योजना बनाएरै आफ्नै बैंकमा चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पैसा चोरेर बैंकमा फोन

बेलुका रकम चोरी गरेका उपाध्याय भोलिपल्ट बिहानै बैंक पुगेर एटीएमबाट पैसा निकालेका थिए । उनलेे आफ्नो एटीएममार्फत एक हजार रुपैयाँ निकालेको देखिएको छ । ‘एटीएमबाट सय-सयका नोटमात्रै निस्केको भन्दै उपाध्यायले बैंकका सम्बन्धित कर्मचारीलाई फोन गरेछन्’ बुढामगरले भने ।

इन्भेष्टमेण्ट बैंकले कार्यालय बन्द गर्नुअघि एटीएम मेसिनमा २७ लाख रुपैयाँ राखेको थियो । तर, राति नै एटीएममा पैसा सकिएको भन्दै ग्राहकको फोन आयो । पछि हेर्दा थाहा भयो, २३ लाख ४४ हजार गायब भएको रहेछ ।

यसरी फोन गर्ने मध्ये बैंकमै ‘टेलर’ पदमा कार्यरत उपाध्याय पनि थिए । उनले शनिबार बिहान आफ्नो एटीएम कार्डबाट एक हजार निकालेका थिए । तर, १/१ सयको मात्र नोट आयो भन्दै सम्बन्धित कर्मचारीलाई फोन गरे ।

उनले यो सबै रकम चोरीको शंका आफूमाथि नलागोस् भनेर नाटक गरेको खुलेको छ ।

स्टोर रुममा लुके, अनि चोरी गरे

प्रहरीका अनुसार उपाध्याय चोरी गर्ने उद्देश्यले नै शुक्रबार बैंक बन्द हुने बेला स्टोर रुममा लुकेर बसेका थिए । सबै कर्मचारी निस्किएपछि सुरक्षा गार्डले बाहिरबाट ढोका लगाए तर, उपाध्याय भने भित्रै लुकेर बसे ।

करिव ६ बजेर १ मिनेट जाँदा सीसी क्यामेरा बन्द गरेर उपाध्यायले एटीएमबाट रकम झिकेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरक्षक (डीएसपी) वीरबहादुर बुढामगरले बताए ।

‘बैंकको पछाडिको ढोका खुलै रहेछ । झोलामा पैसा राखेर सुरक्षा गार्डलाई झुक्याउन झोला त्यहीँ छाडेर उपाध्याय बाहिर गएछन्’ उनले भने, ‘बाहिर गएपछि गार्डलाई झोला छुटेछ भन्दै आए र पैसा राखेको झोला लिएर गए ।’

उपाध्याय पैसा राख्ने एटीएम मेसिन नजिकैको टेबुलमा बसेर काम गर्थे । र, दैनिकजसो एटीएम मेसिनमा पैसा राख्ने बेला पिनकोर्ड हानेको उनले देख्ने गरेका थिए ।

‘गत भदौदेखि एटीएम मेसिनको पिनकोर्ड बदलिएको रहेनछ’ डीएसपी बुढामगरले भने-‘पिनकोर्ड थाहा पाउने र पैसा चोर्ने उनको पहिलेदेखिकै योजना रहेछ ।’

बैंकले शुक्रबार बेलुका एटीएम मेसिनमा करिब २७ लाख राखेको थियो तर, रकम सकिएको भन्दै राति नै सेवाग्राहीले फोनमार्फत बैंकमा गुनासो गरेका थिए ।

रकम चोरी गरेपछि उपाध्यायले जुगेडास्थित ससुरालीमा लगेर राखेका थिए । तर, त्यहाँ पनि प्रहरी पुग्न सक्ने आशंका लागेपछि उपाध्यायले अन्यत्र रकम लगेर राखेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए ।

चोरी भएको रकममध्ये २२ लाख ७० हजार रुपैयाँ अत्तरिया नगरपालिका-१० स्थित लीला जोशीको घरको आँगनमा रहेको परालमुनि लुकाएर राखेको अवस्थामा भेटिएको छ । लीला उपाध्याय नाताले भाउजू हुन् ।

७४ हजार भने धनगढी-४ ओमशान्ति टोलस्थित उपाध्यायकै कोठाबाट बरामद भएको छ ।

‘उपाध्यायले जोशीलाई थाहै नदिएर उनको घरको आँगनमा परालमुनि रकम लुकाएका रहेछन्’ प्रहरी उपीक्ष्िाक चन्दले अनलाइनखबरसँग भने-‘हाम्रो सुराक र जोशीको सहयोगमा हामीले पैसा बरामद गर्न सफल भएका हौं ।’

रकम चोरीमा अहिलेसम्म उपाध्यायको मात्रै संलग्नता देखिएको प्रहरी उपरीक्षक चन्दले बताए । अनुसन्धानका लागि प्रहरीले एकजना गार्ड र बैंकका कर्मचारी नरहेका अर्का एकजनालाई नियन्त्रणमा लिएको थियो ।

‘हामीले बैंकका सबै कर्मचारीलाई सोधपुछ गर्‍यौं । हाम्रो अनुसन्धानले उपाध्याय एक्लैको संलग्नतामा रकम गायब पारिएको देखिन्छ’ प्रहरी उपरीक्षक चन्दले भने ।

उपाध्यायमाथि चोरी र बैंकिङ कसुर अन्तरगत मुद्दा लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment