+
+
Shares

कैलालीमा प्रेमीसँग मिलेर पतिको हत्या गर्ने महिलासहित ५ जना कारागार चलान

कैलालीमा प्रेमीसँग मिलेर पतिको हत्या गरेको अभियोगमा पक्राउ परेकी महिलासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जनक विष्ट जनक विष्ट
२०८३ असोज ८ गते १९:२९

८ असोज, धनगढी । कैलालीमा प्रेमीसँग मिलेर पतिको हत्या गरेको अभियोगमा पक्राउ परेकी महिलासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

कैलाली जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलाशले लम्कीचुहा नगरपालिका–१० का दीपक सुनार हत्या प्रकरणमा पक्राउ परेका पाँचै जनालाई कारागार पठाउने थुनछेक आदेश दिएको हो ।

बिहीबार भएको थुनछेक आदेशअनुसार हत्यामा संलग्न भनिएकी मृतक दीपककी पत्नी यमुना सुनार, उनका प्रेमी दुर्योधन सुवर्णकार, टीकापुरका रामराजेश महतो, कञ्चनपुरका वीरेन्द्र राना र भीमराज रानालाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले बिहीबार अदालतले दिएको आदेशअनुसार उनीहरू पाँचै जनालाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको जानकारी दिए ।

प्रहरीको अनुसन्धान अनुसार यमुना र उनका प्रेमी दुर्योधनको योजनामा साउन २१ मा दीपकको हत्या गरेर उनको शव कर्णाली नदीमा बगाइएको थियो ।

दीपकको हत्या गर्न उनीहरूले रामराजेश महतोको सहयोगमा कञ्चनपुरका वीरेन्द्र राना र भीमराज रानालाई एक लाख ६० हजारको सुपारी दिएका थिए ।

उनीहरूकै योजनामा यमुनाले पति दीपकलाई जानकी गाउँपालिकाको अमरावती जंगलमा पुर्‍याएकी थिइन् । जहाँ दीपकको हत्या भयो । हत्यापछि शव टुक्राटुक्रा पारेर कर्णाली नदीमा बगाइएको खुलेको प्रहरीले जनाएको छ ।

पछि अनुसन्धानका क्रममा जंगलमा फेला मासुको टुक्राका आधारमा त्यहाँ भेटिएको रगत मानिसकै भएको पत्ता लागेको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा पत्नी यमुना र प्रेमी दुर्योधनको योजनामा उनको हत्या भएको कुरा पत्ता लगाएको थियो ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?