+
+
Shares

कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर गराइन् पतिको हत्या, पाँच जना पक्राउ

कैलालीमा पत्नीले प्रेमीसँग मिलेर पतिको हत्या गरेको खुलेको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा मृतककी पत्नीसहित पाँच जनालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १८:१८

१० भदौ, धनगढी । कैलालीमा पत्नीले प्रेमीसँग मिलेर पतिको हत्या गरेको खुलेको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा मृतककी पत्नीसहित पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका–४ का ३३ वर्षीय दीपक सुनार गत साउन २२ गते बिहानदेखि हराएका थिए । उनी जानकी गाउँपालिका–९ अमरावतीस्थित ससुरालीबाट हराएका बताइएको छ ।

त्यसपछि उनकी पत्नी यमुना सुनारले इलाका प्रहरी कार्यालय लम्कीमा पति दीपक हराएको भन्दै खोजतलासका लागि जानकारी गराएकी थिइन् ।

प्रहरीले खोजतलाससँगै प्रारम्भिक अनुसन्धान अघि बढाउँदा यमुनाले प्रेमीसँग मिलेमतो गरी पति दीपकको हत्या गर्ने योजना बनाएको तथ्य खुलेको जनाएको छ ।

अनुसन्धानका क्रममा दीपकको अमरावती जंगलमा हत्या गरी शव मोटरसाइकलमा राखेर कर्णाली नदीमा फालेको खुलेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न आरोपमा प्रहरीले पत्नी यमुना, लम्कीचुहा–१० का ४१ वर्षीय दुर्योधन सुवर्णकार, टीकापुर–३ का ३२ वर्षीय रामराजेश महतो, कञ्चनपुरको बेलौरी–९ का ५६ वर्षीय वीरेन्द्र राना र बेलौरी–८ का ३२ वर्षीय भीमा रानालाई पक्राउ गरेको छ ।

उनीहरूलाई कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेकाहरूलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय टीकापुर र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको समन्वयमा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?