भट्टी आफैंमा एउटा मन्दिर रहेछ । मान्छे गुनासोका पोका बोकेर खुसी खोज्न मन्दिर जान्छ । तर, असली सुख मान्छेले भट्टीमा पाउँदो रहेछ । जहाँ न गुनासो हुने, न पीडा हुने, न त व्यथा नै ।
भट्टी पुगेको मान्छे सन्तुष्टिले मुस्कुराउँदो रहेछ, चाहना बोकेर मन्दिर पुगेको मान्छे अन्योलग्रस्त मुद्रामा फर्कन्छ । एक हप्ता दिनहुँ भट्टी धाएकाले मलाई भट्टीप्रति प्रेम प्रकट भएछ क्यार, भट्टीलाई दोस्रो स्वर्गको उपनाम दिन मन लाग्यो ।
मलाई भट्टीमा गएर एउटा कथा बनाउनु थियो, भट्टीभित्रको प्रेम ।
भट्टीमा प्रेममा हारेको प्रेमी, राजनीतिमा पछारिएको नेता र प्रेम पाएको प्रेमी, राजनीतिमा जितेको नेता सँगसँगै बसेर पिउँदा रहेछन् । यो समीकरण मलाई अजीवको लाग्यो ।
यसैभित्र म कुनै कथा खोज्न चाहन्थेँ । पहिलो दिनको भट्टी बसाइले नै मलाई उत्साह दिएको थियो । म कहिल्यै रक्सी नखाने मान्छे ‘चिया पाइन्छ ?’ भनेर सोध्दै भट्टी छिरेको थिएँ । साहुनीको हाँसोले मख्ख परेको थिएँ । भट्टीमा चिया होइन रक्सी पाइन्छ भन्दै ऊ मुस्कुराएकी थिई । तर, केही समयको पर्खाइमा चिया आएको थियो ।
भट्टीको एक कुनामा केही ठिटाहरु फेसबुकमा प्रेमिकासँग बोलेका गोप्य गफहरु रोचक तरिकाले सुनाइरहेका थिए । साहुनी भने कसैको प्रतीक्षा गरे झैं कहिले भित्र र कहिले बाहिर गरिरहेकी थिई । ग्राहकहरुले केही अर्डर गर्दा तीन-चार पटक बोलाउँदा मात्र सुन्थिन् ।
केही समयपछि एक युवक भित्र छिर्यो । छोटो कपाल, अग्लो कद, चौडा छाती र ठूल्ठूला पाखुराले ऊ कुनै हिरोभन्दा कम देखिँदैनथ्यो । ऊ मेरो टेबल अगाडिको कुर्सीमा बस्यो र साहुनीतिर हेर्यो । दुई जना यसरी मुस्कुराए, मानौं यी दुईबीच आपसमा निकै पहिलेदेखिको चिनजान छ ।
एक छिनमा साहुनीले पुरुषका लागि चिया ल्याएर दिई ।
‘किन ढिलो आउनुभएको ?’ साहुनीको प्रश्न ।
‘मलाई भेट्न यति हतार हुन्छ ?’ युवकले मुस्कुराउँदै भन्यो ।
साहुनी लाजवन्ती झार जस्तो कक्रक्क भई ।
अब चाहिँ मैले कथा भेटे झैं लाग्यो ।
‘भट्टीमा आएर चिया ?’ मैले उसलाई सोधेँ ।
‘म रक्सी पिउँदिनँ’, उसले उत्तर दियो ।
उ मोबाइल फोनमा केही टाइप गरिहेको थियो । उता साहुनी पनि मोबाइल चलाइरहेकी थिई । उनीहरुले बेलाबेला एक-अर्कालाई पुलुक्क हेर्दै मोबाइल चलाएकोले लाग्यो, उनीहरु म्यासेजमा संवाद गरिरहेका छन् ।
उनीहरुको क्रियाकलापले म पनि रोमाञ्चित भइरहेको थिएँ ।
दोस्रो दिन पनि म त्यही भट्टीमा गएँ । म पुग्दा त्यो युवक पहिले नै आएर चिया पिइहेको थियो, साहुनीसँगै बसेर । मलाई देखेर साहुनीले आफू बसेको कुर्सी छोडेर गई ।
युवकको अगाडि मैले हात बढाएँ, हामीले बल्ल दोस्रो दिन परिचय साटासाट गर्यौं । ऊ प्रहरी रहेछ ।
‘तपाईं सधैं आउनुहुन्छ यहाँ ?’ मैले उसलाई सोधेँ ।
‘मलाई यहाँको चिया मीठो लाग्छ’, उसले भन्यो ।
‘साहुनीले मायाले पकाएर दिएपछि मीठो भइहाल्छ नि’, मैले हाँस्दै माहौल रसिलो बनाउन खोजेँ ।
ऊ भावुक हुँदै भन्यो, ‘हो, उनी मेरा लागि चियापत्तीमा माया मिसाएर हाल्छिन्, चिनीमा विश्वास अटाउँछिन्, दूधमा आनन्द मिसाउछिन् अनि पानीमा नजर लगाएपछि उनले बनाएको चिया मेरो लागि अमृत हुन्छ ।’
उसको यो कुराले थाहा भयो, उनीहरुबीच प्रेम रहेछ । साहुनीले पसल थापेदेखि नै ऊ सधैं साहुनीकोमा आउन थालेको रहेछ । युवक प्रहरी भएकोले साहुनीले एघार बजेसम्म पसल खोल्दा पनि अरु प्रहरीहरु बन्द गराउन नआउँदा रहेछन् । ऊ पनि एघार बजेसम्म बसेर साहुनीले पसल बन्द गरेपछि दुवै जना सँगै निस्किँदा रहेछन् ।
म भट्टीमा दिनहुँ जान थालेँ । एउटा सच्चा प्रहरी एउटी भट्टीवालीसँग कसरी प्रेममा पर्दो रहेछ, मलाई यही अनौठो लाग्थ्यो ।
साहुनीको बाध्यता नै होला, अरु ग्राहकलाई रक्सी दिँदा पनि मसक्क मस्कन्थिन् । तर, युवक केही भन्दैन थियो । उनीहरुमा कति विश्वास र अटुट प्रेम छ, म हेरिरहन्थेँ ।
भट्टीको नियमित ग्राहक भएकोले म र युवकबीच मित्रता भइसकेको थियो । एक हप्ता दिनहुँ गए । अफिसको कामले दुई दिन गाउँ जानुपरेकोले दुई दिन जान पाइनँ । दुई दिनपछि हतारहतार भट्टी पुग्दा युवक एक्लै टेबलमा बसिरहेको थियो । कुनाको टेबलमा दुई अधबैंसे संविधान संशोधन हुन्छ र हुँदैन भन्दै झगडा गरिरहेका थिए ।
युवकको अगाडिको कुर्सीमा बस्दै मैले साहुनीलाई बोलाएँ । तर, एउटा बूढो मेरो अगाडि आएर सोध्यो, ‘के चाहियो भाइ ?’
‘खै साहुनी ?’ मैले सोधेँ ।
जवाफ आयो, ‘उनी त पोइल गइन् । पसल मलाई बेचिन्’
मैले युवकतिर हेरेँ, युवक बोतल रक्सी गिलासमा हाल्दै थियो । एक गिलास रक्सी स्वाट्ट एकै घुट्कोमा निल्यो । उसका आँखा राता भइसकेका थिए ।
‘भाइलाई के ल्याऊँ ?’ साहुले फेरि सोध्यो ।
मैले युवकतिर नजर लगाउँदै अर्डर दिएँ, ‘रक्सी ।’
युवकले मतिर हेर्दै भन्यो, ‘जिन्दगीमा सबैले साथ छोड्दा रहेछन्, तर रक्सीको मातले नछोड्दो रहेछ ।’ यति भनेर ऊ मुस्कुरायो ।
सोचेँ, कति उदास अनुहारलाई पनि हसाउँछ यो रक्सीले ।
मैले पनि एक गिलास स्वाट्ट पारेँ । म खुसी थिएँ, किनकि कथा फेला पारेको थिएँ ।
इलाम, हाल– पोखरा