Comments Add Comment

दिल्लीको जेएनयुमा नारायणकाजीको ‘खस्रो’ भाषण ! के के भने ?

'चीनसँग पारवहनसन्धी गर्दा भारतले विरोध गर्न मिल्दैन'

४ फागुन, नयाँ दिल्ली । नेपाली समाजमा एउटा आहान छ- ‘रोटी चिल्ला मीठा, कुरा खस्रा मीठा !’ नेपालका नेताहरुले भारतमा गएर चिप्ला कुरामात्रै गरेर आउँछन् भन्ने मान्यतालाई माओवादी नेता नारायणकाजी श्रेष्ठले दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा पुगेर खण्डन गरे । श्रेष्ठले त्यहाँ भारतीय प्रश्नवानचकहरुको चिलाइ मर्नेगरी निकै खस्रो जवाफ दिए ।

माओवादी नेता श्रेष्ठको भाषण सुनिसकेपछि विश्वविद्यालयमा पढ्ने र पढाउने भारतीयहरुले ‘युनिक भाषण’ को संज्ञा दिएका छन् ।

च्ाारदिने भ्रमणका क्रममा भारतमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेका श्रेष्ठले मंगलबार स्वदेश र्फकनुअघि जवाहरलाल नेहरु विश्वविद्यालयमा अन्तराष्ट्रिय सम्वन्ध अध्ययन गरिरहेका नेपाली तथा विदेशी विद्यार्थीहरुसँग दुई देशको सम्वन्धबारे अन्तरक्रिया गरेका थिए । सो अन्तरक्रियामा उनले विद्यार्थीहरुले राखेका जिज्ञासाको जवाफ दिए ।

नेपाल र भारतका वीचमा रहेका समस्याहरुका बारेमा स्पष्ट र खरो कुरा राखेका श्रेष्ठको भाषणलाई भारतीयहरुले ‘युनिक भाषण’ भने । अनुसार भारतमा आएर कुनै पनि नेपाली नेताले यति खरो र स्पष्ट कुरा राखेको उनीहरुले सुनेका थिएनन् ।

विश्वविद्यालयका साउथ एसिया अध्ययन केन्द्रका प्रोफेसर राजेश खरातले समेत नारायणकाजीको भाषणको तारिफ गरेका थिए ।

श्रेष्ठले सो अन्तरक्रियामा व्यक्त गरेका महत्वपूर्ण बुँदा यस्ता छन्ः

१.राम्रो सम्वन्धको विकासः

हामी नेपाल र भारतवीचको सम्वन्धलाई थप सुमधुर बनाउन चाहान्छौं । यसलाई अझ सुदृढ बनाउने पक्षमा छांै । नेपाल-भारत सम्वन्धको विकल्प भनेको अझ राम्रो नेपाल-भारत सम्वन्ध नै हो । नेपाल भारतको विरोधमा गएको छैन र जानै सक्दैन । संसारमा नै दुई छिमेकी वीचमा कस्तो सम्वन्ध हुनुपर्छ भन्ने उदाहरण हामी दिन सक्छौं ।

२.माइक्रो म्यानेजको प्रयास भयोः

हामी जहिले पनि हाम्रो राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा रहन्छौं । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने तथा माइक्रोम्यानेजमेन्ट गर्ने प्रयासको हामी विरोध गर्दछाैं। यसो भन्नु भारतविरोधी अडान होइन भन्ने सबैले बुझ्न आवश्यक छ ।

हामी भारतको वास्तविक चासोलाई सम्वोधन गर्न सधैं तयार छौं । यदि भारतले माइक्रो म्यानेज नगर्ने हो भने मधेसवादी दलहरुले उठाएका मागहरुको सम्वोधन गर्नका लागि हामीलाई सजिलो हुन्छ ।
किनभने, संविधान संशोधन भारतको चाहना हो र यसलाई किन सम्वोधन गर्ने भन्ने भावना एक पंक्तिमा जागृत भएको छ, जसले समस्या समाधानमा जटिलता उत्पन्न भयो ।

३.संविधान रोक्न भनियोः

नेपाली जनताले लामो संघर्षपछि पाएको संविधान सभाले संविधान तयार पारेर त्यसलाई अनुमोदन गरेपछि त्यसलाई रोक्ने भनियो । त्यसका लागि भारतले विशेष दूत नै पठायो । तर, हामीले त्यसलाई मानेनौं र हामीले संविधान जारी गर्‍यौं ।

४.नाकावन्दी संविधान जारी गरेवापत हामीले पाएको दण्ड हो

हामीले संविधान जारी गरेपछि भारतले नाकावन्दी लगायो । हामीले ऐतिहासिक रुपमा संविधान जारी गर्दा भारतले नाकावन्दी लगाएर हामीलाई दण्डित गर्‍यो । नाकावन्दीले हाम्रो भान्सा प्रभावित भयो, हाम्रा केटाकेटीहरु प्रभावित भए । यसले गर्दा युवाहरुमा भारतविरोधी भावना जागृत भयो । हामी नाकावन्दी पनि नहोस् र भारतविरोधी भावना जागृत नहोस् भन्ने चाहान्थ्यौं । यतिबेला नाकावन्दी भयो भन्ने विषयमा बहसको आवश्यकता छैन । भारतीय साथीहरु मधेसवादी दलहरुको आन्दोलनका कारण नाकावन्दी भएको भनिरहेका छन् । तर, यो कुरा संसारको कसैले पनि पत्याउँदैन । त्यतिबेला भारतले एक ट्रक सामान पनि नेपाल पठाएन । आन्दोलन नभएको नाकावबाट पनि सप्लाई भएन ।

५.भारतले फिल्ड कार्यालय बन्द गरेन

नौ वर्ष अगाडि हाम्रो पार्टी सरकारमा रहँदा कोशीमा ठूलो बाढी आयो । हामीले यातायात सुविधाका लागि अर्काे बाटो लिनुपर्ने भयो । त्यति बेला गाडीहरुलाई अनुमति प्रदान गर्नका लागि भारतले कोशीमा फिल्ड कार्यालय स्थापना गर्‍यो । पछि बाटो वन्यो, त्यो फिल्ड कार्यालयको काम सकियो । तर, भारतले त्यो कार्यालय अझैसम्म हटाएको छैन । त्यो गैरकानुनी फिल्ड कार्यालयलाई तुरुन्त बन्द गर्नुपर्छ ।

६.भारतका शासक वर्गमा समस्या छ

भारतले नेपालका लागि केही पनि गरेन भन्ने होइन । नेपालको आर्थिक तथा अन्य विकासका परियोजनामा नेपाललाई ठूलो सहयोग गरेको छ , हामीले त्यसको प्रशंसा गर्नुपर्छ । तर, भारतको शासक वर्गमा नेपाललाई हेर्ने मामिलामा समस्या देखियो, त्यसमा चाहिँ सुधार गर्नुपर्छ ।

७.यसरी अगाडि बढ्नुपर्छ सम्वन्ध

दुई देशको सम्वन्धलाई अगाडि बढाउनका लागि केही कदमहरु चाल्नुपर्ने देखिन्छ । पहिलो हो- दुवै देशले एक-अर्काको सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ । दोस्रो- एकअर्काको वीचमा लाभको वाँडफाँड गर्नुपर्छ । तेस्रो- दुबै देशले एकअर्काका जायज चासोलाई सम्वोधन गर्नुपर्छ ।

८. नेपालीमा पनि समस्या छ

दुईदेशको सम्वन्ध राम्रो नहुनुमा भारतमा मात्रै होइन, नेपालमा पनि समस्याहरु छन् । विशेषगरी आफ्नो राजनीतिक लाभका लागि भारतलाई प्रयोग गर्ने प्रवृत्ति नेपालमा छ, जसलाई हटाउन आवश्यक छ, सम्वन्धलाई सुधार गर्नका लागि ।

९.सडकमा कराएर समाधान निस्कँदैन

नेपाल र भारतको वीचमा रहेको समस्या समाधानका लागि सँगै बसेर छलफल गर्नुपर्ने आवश्यकता छ । सडकबाजी र चर्काे भाषणले समस्या समाधान हुँदैन ।

हामीले दोहोरो चरित्र देखाउनहुँदैन । हामी दुई देश टेवुलमा बसौं र हामीवीच रहेका समस्याहरुबा बारेमा खुला छलफल गरांै । मेरो आग्रह छ- हामी हातेमालो गरौं र अगाडि बढौं ।

१०. सिके राउतले हेट स्पीच दिए

देश नै विखण्डन गर्ने अभिव्यक्ति दिएका कारण सिके राउत पक्राउ परेका हुन् । त्यो अहिले अदालती प्रक्रियामा छ, त्यसैले हामीले धेरै बोल्न मिल्दैन । तर, उनले देश विखण्डन गर्ने अभिव्यक्ति दिए, जुन हामीलाई स्वीकार्य छैन ।

११.हामीसँग दुई तिहाई छैन

हामी मधेसवादी दलहरुको माग सम्वोधन गर्नका लागि संविधान संशोधनको तयारी गरिरहेका छौं । त्यसका लागि दुई तिहाइ चाहिन्छ, तर हामीसँग त्यो मत छैन । त्यसैले हामीले प्रमुख प्रतिपक्षी एमालेलाई सहमतिमा ल्याउने प्रयास गरिरहेका छौं । एमालेले अझै मानेको छैन ।

१२. हामी कुनै कार्ड प्रयोग गर्दैनौं

हामी कुनै पनि कार्डमा विश्वास गर्दैनौं । हामी दुबै देशसँग राम्रो सम्वन्ध बनाउने पक्षमा छौं । भारतविरुद्ध चीन तथा चीनविरुद्ध भारतको कार्ड प्रयोग गर्ने पक्षमा हामी छैनौं । भारतको विकल्प चीन हुन सक्दैन । तर, हामीले पारवहन सन्धी चीनसँग गर्दा भारतले विरोध गर्न मिल्दैन । किनकि यसले भारतको हितमा असर गर्दैन ।

१३. चुनावमा प्राथमिकता

निर्वाचनको मिति घोषणा गर्न अब ढिलाइ भइसकेको छ । त्यसैले अब सरकारले निर्वाचनको घोषणा गर्छ र तयारीमा लाग्छ । त्यसपछि मधेसवादीदलहरुको मागलाई पनि सम्वोधन गर्ने प्रयास गर्छौं । नत्र देशमा संवैधानिक संकट आउँछ ।

१४.त्रिदेशीय बैठक थिएन

भारतको गोवामा गत अक्टोबरमा भएको बि्रक्स सम्मेलनका क्रममा भारत, नेपाल र चीनका सरकार प्रमुखका बीचमा भएको भेटघाट त्रिपक्षीय वार्ता थिएन । नेताहरु आफ्नो सवारीका लागि पर्खेर बसेको समयमा भएको त्यो भेट संयोग थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment