Comments Add Comment

राजदूत शर्मिलाः अर्थात् ‘म्यानपावरवाली’ महामहिम !

ओमानमा मेनपावरको काम गर्दागर्दै कूटनीतिक सेवामा प्रवेश


९ मंसिर, काठमाडौं । सरकारले सोमबार १४ जना राजदूतहरुको नाम सिफारिस गर्‍यो । राजदूतको सूची देख्नासाथ अब सांसद पदमा जस्तै कूटनीतिक क्षेत्रमा पनि पैसा खाएर म्यानपावर व्यवसायीलाई भर्ना गर्न थालिएको आशंका जनमानसमा उब्जिएको छ ।

संयोग कस्तो भने, सरकारले शर्मिला पराजुलीलाई ओमानका लागि राजदूत सिफारिस गर्दै गर्दा उनी मेनपावर व्यवसायीका रुपमा ओमानतिरै डिमान्डका लागि डिल गर्दै थिइन् । अर्को संयोग के भने मधेसी जनताको अधिकारको वकालत गर्ने मधेसकेन्द्रित दलबाट राजदूत सिफारिस पर्ने शर्मिला भाग्यमानी पहाडे महिलामा परेकी छिन् ।

३६ वर्षीया शर्मिला पराजुली (ढकाल) ओमानका लागि दोस्रोपटक राजदूत सिफारिस भएपछि वैदेशिक रोजगार व्यवसायी वृत्तमा खैलाबैला मच्चिएको छ । उनी राजदूत बनेको देश ओमानमा समेत कामदार पठाउने व्यवसाय चलाउँछिन् ।

जुन देशमा मान्छे सप्लाई गर्ने हो, त्यही देशको राजदूत भएपछि शर्मिलाको भूमिका अब कता केन्दि्रत होला ? सहजै अनुमान लगाउन सकिन्छ ।

प्रभावशाली नेतालाई ‘प्रभावमा’ पार्न सक्नेबाहेक शर्मिलाको कुटनीतिक अनुभव छैन । शुरुमा मलेसिया र पछि दुबईमा बसेर वैदेशिक रोजगारीको धन्दा चलाएकी पराजुलीको गतिविधि पछिल्लो समय ओमानमा केन्द्रित छ । उनले ओमानकै राजदूत हुन सबै शक्ति प्रयोग गर्नु यसैले पनि अर्थपूर्ण छ ।

झापा चन्द्रगढीकी शर्मिला गृहजिल्लाका नेता केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा पनि विजय गच्छदारको कोटाबाट ओमानको राजदूत सिफारिस भएकी थिइन् । तर, उनी नियुक्त नहुँदै ओली सरकार ढलेकाले सिफारिस बदर भएको थियो ।

शर्मिलाको शक्ति बलियो भएरै होला, गच्छदारको पार्टी सरकारमा नभए पनि उनी राजदूतमा सिफारिस भइन् ।

दुबईमा बसेर बिभिन्न देशमा कामदार सप्लाई गर्ने कार्यमा संलग्न पराजुलीले राजदूत हुनका लागि धनराशीसमेत खर्च गरेको स्रोतको दाबी छ ।

शर्मिलाको सिंगै परिवार म्यानपावर व्यवसायमा सक्रिय छ । बानेश्वरको थापागाउँमा उनका पति विमल ढकालका नाममा फ्लोरिड नामको मेनपावर कम्पनी छ । बीएसडी हुमन रिसोर्स सोलुसन, रोयल डाइमण्ड रिक्युटमेन्ट जस्ता युवायुवती विदेश सप्लाइ गर्ने कम्पनीहरुमा शर्मिला र उनका परिवारजनको संलग्नता छ ।

प्रायः कामदार डिमान्डका लागि बाहिरै रहने शर्मिला आफू उच्च तहको कन्सल्ट्यान्ट रहेको दाबी गर्दै आएकी छिन् । ओमानमा सन् २०१४ मा नेपाली दूतावास खोल्ने निर्णय भएको हो । र, शर्मिला त्यहाँको पहिलो राजदूत बन्न पुगेकी छिन् । राजदूत सिफारिस भएपछि

कूटनीतिक सेवाकै उपहास ! पार्टीकै नेताले नै चिन्दैनन् राजदूत

ओमानमा पहिलोपटक खुलेको राजदूतावासमा मेनपावर व्यवसायीलाई राजदूत बनाउँदा उनको प्राथमिकता नेपाली कामदारको हितमा भन्दा पनि व्यापार प्रबर्द्धनमा केन्द्रित हुने निश्चित छ । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले राजदूत पद र कूटनीतिक सेवाकै उपहास भएको टिप्पणी गरेका छन् ।

उता नेपाली कांग्रेसभित्र राजदूत सिफारिसमा परेका व्यक्तिको नाम सुनेर नेताहरु नै चकित भएका छन् । कांग्रेसका प्रभावशाली नेताहरुमात्र होइन, राजदूत सिफारिस गर्ने क्याबिनेटका मन्त्रीहरुले समेत कांग्रेसबाट राजदूतको सिफारिसमा परेका दुईजना महामहिमलाई चिन्न सकेनन् । तर पनि उनीहरुबाट प्रस्ताव पारित भयो ।

आशा लामा

कांग्रेसको कोटाबाट राजदूत भएका रमेशप्रसाद कोइराला र आशा लामा को हुन् भनेर सोध्दा कांग्रेस नेता र मन्त्रीहरु नै अनविज्ञता देखाए । राजदूत नियुक्तिमा ठूलो आर्थिक चलखेल भएको टिप्पणी एक कांग्रेस नेता तथा पूर्वमन्त्रीले गरे । उनले भने- तीन जनासँग पैसा लिएर राजदूत बनाइएको कुरा आएको छ ।

कांग्रेसबाट युएईको राजदूत बनेकी आशा लामाले ‘आशा फाउन्डेसन’ खोलेकी छिन् । उनको संस्थाले  युवतीहरुलाई काम सिकाएर विदेश पठाउँदै आएको छ र, यो एक प्रकारले म्यानपावर नै भएको व्यवसायीहरू बताउँछन् ।

यसैक्रममा उनी पनि वैदेशिक रोजगारीको राम्रो गन्तव्य मानिने युएईमा कांग्रेसको कोटाबाट राजदूतमा छानिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment