Comments Add Comment

चैत २ बाट चौथो राष्ट्रिय लघुवित्त सम्मेलन


११ फागुन, काठमाडौं । आगामी चैत्र २ गतेबाट ‘वित्तीय, सामाजिक र मानवीय मुल्यहरु वीच संतुलन’ को मूल नाराका साथ चौथो ‘राष्ट्रिय लघुवित्त सम्मेलन २०७३’ हुने भएको छ ।  तीनदिनसम्म चल्ने सम्मेलन ४ गते अनत्य हुने छ ।

सम्मेलनमा नीति निर्माता, सेवाग्राही, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोगी निकाय, बैंकर र लघुवित्त बैंक÷वित्तिय संस्था तथा वित्तीय मध्यस्थता गर्ने गैरसरकारी संस्था, वित्तिय सहकारी संस्था, साना किसान, कृषि सहकारी तथा विशेषज्ञहरु सहित करिव ८ सयको  सहभागीता हुने अपेक्षा गरिएको छ ।

लघुवित्तको वर्तमान स्थिति, दक्षिण एशियाली मुलुकको परिप्रेक्षमा नेपालको लघुवित्त क्षेत्रको समिक्षा, विपन्न वर्गमा लघुवित्तको पहुंच, गरिवी न्यूनीकरण, वित्तीय प्रभाबकारिता, संस्थागत विकास लगायतका विषयमा कार्यपत्रहरु प्रस्तुत गरिने छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययन तथा अनुभवहरु प्रस्तुत गर्ने र सो बारे ब्यापक छलफल गर्नको लागि आठ वटा पूर्ण सत्र र २० विभाजित सत्रहरु सञ्चालन गर्ने योजना बनाइएको छ । यस सम्मेलनले लघुवित्त क्षेत्रका प्रमुख सकारात्मक पक्षहरु र प्रभावकारिता बृद्धिका क्षेत्रहरुको पहिचान गरी मार्गचित्र निर्माण गर्न सहयोग गर्नेछ ।

यस सम्मेलनमा तेश्रोे राष्ट्रिय लघुवित्त सम्मेलन २०६९ फागुन को घोषणापत्रमा उल्लेखित प्रतिवद्धताहरुको कार्यान्वयनमा भएको प्रगति बारे गरिएको अनुगमनको समिक्षा गरिने भएको छ । सम्मेलन अवधिमा प्राप्त भएका सुझावहरु र निश्कर्षहरुको आधारमा सम्मेलनको अन्तिम दिन काठमाण्डौं घोषणापत्र जारी हुने छ ।

सेन्टर फर माइक्रोफाइनान्स नेपालले सदा झै सम्मेलनको आयोजनामा सक्रिय नेतृत्व लिँदै आएको छ । सह–आयोजकहरुमा नेपाल राष्ट्र बैंक तथा सक्षम कार्यक्रम रहेका छन् । आयोजकहरुमा लघुवित्त बैंकर्स संघ, गरिवी निवारण कोष, युवा स्वःरोजगार कोष, साना किसान विकास बैंक, लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment