Comments Add Comment

नक्कली क्याप्टेनका १४ श्रीमतीः सैनिक बनाउने भन्दै ठगी धन्दा

नक्कली क्याप्टेन धनबहादुर परियार सैनिक पोशाक लगाउँदा र नलगाउँदा 

१२ फागुन, काठमाडौं । सरकारी जागिर प्रायजसोको पहिलो रोजाइ हन्छ । त्यसमा पनि कतिपयलाई सैनिक पोशाकले नै लोभ्याउने गर्छ । तर, सेनाको आफ्नै मापदण्ड हुन्छ, शारिरीक तन्दुरुस्ती पनि त्यति नै चाहिन्छ ।

त्यसैले कतिपय युवायुवतीहरु पैसा लिएर सैनिक बनाइदिन्छु भन्नेहरुको जालमा पर्छन् । यस्तै क्याप्टेन, जो वास्तवमा ठगका नटवरलाल हुन्, उनको जालमा धेरै युवायुवती परेको भेटिएको छ ।

क्याप्टेनको भेषमा ठगी धन्दा

तस्वीरमा देखिएका ओखलढुंगा मानेभञ्ज्याङका धनबहादुर परियार हुन् । सेनाको पोसाक लगाएका छन्, र काँधमा क्याप्टेन दर्जाको फुली पनि छ । सेनाको रेडियो सेट भिरेकै छन् ।

यही तस्वीर देखाएर उनले आफू सेनाको क्याप्टेन हुँ भन्दै धेरैलाई ठगी गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दिनेश अमात्यका अनुसार परियार सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने कुख्यात ठग हुन् ।

सेनाको पोशाक लगाएको फोटो बोक्ने र गाउँका मान्छेहरुलाई भर्ना गर्दिन सक्छु भन्दै पैसा असुल गरेको आरोपमा अपराध महाशाखाको टोलीले परियारलाई पक्राउ गरेको छ ।

बाहिनीलाई सैनिक बनाउने सपना यसरी तुहियो

काठमाडौं-ओखलढुंगा बस चलाउने कपिल पौडेलको करिब चार वर्ष अघि बसमा यात्रारत धनबहादुरसँग चिजजान भएको थियो । धनबहादुरले आफू सेना भएको परिचय दिएका थिए ।

उनीहरुवीच सम्पर्क नम्बर साटासाट भयो । र, सुरुको एक वर्ष जति त लगातार कुराकानी भइरहृयो । तर, पछि सेना भनिएका व्यक्ति अर्थात धनबहादुर परियार गायब भए ।

२ वर्ष अघि एकाएक धनहादुरलाई कपिलले उदयपुरमा देखे । मोटरसाइकलमा हुइँकिएका धनबहादुर सेनाको पोशाकमै थिए । कपिललाई उनले आफू सेकेण्ड लप्टन भएको सुनाए ।

आफ्नै साथी सेकेण्ड लप्टन भएको देखेपछि कपिलले आफ्नी बहिनीलाई पनि सेनामा भर्ना गरिदिन भने । ठगलाई के चाहियो । उनले तुरुन्तै हुन्छ भनिदिए र उनीहरुको टुटेको सम्पर्क फेरि जोडियो ।

गत भदौमा नेपाली सेनामा भर्ना खुल्यो । कपिलले बहिनीलाई सेनामा भर्ना गराउन उनै धनबहादुरलाई सम्भिmए । उनले पनि केही पैसा खर्च गरे सैनिक बनाइदिने आश्वासन दिए ।

कपिलले आफ्नी बहिनी भवानी खड्कालाई काठमाडौंस्थित सैनिक मुख्यालयमा सेनाको लागि आवेदन दिन पठाए । उनी आफू मात्रै आइनन्, आफ्नी साथी कल्पना ओलीलाई पनि पैसा खर्च गरेपछि सेना बन्न सकिने भन्दै सँगै ल्याइन् । दुवैले आवेदन भर्ना फारम भरे ।

धनबहादुरले भर्ना छनोटमा जानु अघि आाफूभन्दा माथिल्लो तहमा पनि पैसा बुझाउनु पर्ने भनेपछि भवानीले ७५ हजार र कल्पनाले एक लाख पचास हजार रुपैयाँ लगेर बुझाए ।

अनि खुल्यो ठगको धन्दा

मंसिर १५ गते भवानी र कल्पना दुवै जना छनोटका लागि भद्रकाली पुगे । दुवैजना दौडमा सामेल भए । दौडमा भवानी पास भए पनि कल्पना फेल भइन् ।

पैसा बुझाएर सेना हुने सपना देखेकी कल्पनाले फेल हुने वित्तिकै तिनै धनबहादुर (नक्कली क्याप्टेन)लाई फोन गरिन् ।

उसले जसरी पनि पास गर्दिने आश्वासन दियो । दौडमा पास भएकी भवानीलाई पनि अन्तर्वार्तामा जान नपर्ने भन्दै रोकेर राखे । जब सेनाको नतिजामा उनीहरु कसैको पनि नाम देखिएन, त्यसपछि दुई युवतीहरुले आफू ठगिएको थाहा पाए ।

र्फम भर्ना जाँदा भेटिएकी मनिषा खड्काले पनि नक्कली क्याप्टेन अर्थात धनहादुर परियारलाई ८० हजार बुझाएकी रहिछन् । तर, सबै जना ठगको चंगुलमा फसेपछि कसरी सैनिक बन्थे र ?

ठगका १४ श्रीमती

अपराध महाशाखाको नियन्त्रणमा रहेका नक्कली क्याप्टेन धनबहादुरका १४ वटी श्रीमती रहेको पनि खुलेको छ । विभिन्न बहानामा ठगी गर्दै हिँड्ने धनबहादुरले १४ वटा श्रीमती बनाएका थिए । धनबहादुर पक्राउ परेलगत्तै कान्छी श्रीमतीले पनि छाडेकी छिन् ।

धनबहादुरले श्रीमती बनाइएकीहरुलाई पनि ठगेको हुन सक्ने प्रहरीले जनाएको छ ।

अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले सेना बनाइदिन्छु भन्दै कोही ठगिएको भए अपराध महाशाखाको सम्पर्कमा आउन आग्रह गरेका छन् ।

उनले भने ‘अहिलेसम्म चार जना पीडितहरु उजुरी लिएर आउनु भएको छ । अरुलाई पनि यसरी नै ठगेको हुन सक्छ । कोही पीडित हुनुहुन्छ भने अपराध महाशाखामा उजुरी गर्न सक्नुहुन्छ ।’

त्यस्तै सेना तथा प्रहरीमा भर्ना गराइदिने नाममा यस्ता थुपै्र ठगहरु सक्रिय भैरहेकाले सचेत रहन पनि एसएसपी अमात्यले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment