Comments Add Comment

चमेलियाको सुरुङ खन्न अब १६ मिटर बाँकी

८ अर्बमा बन्नुपर्ने आयोजनाको लागत १५ अर्ब पुग्यो

१६ फागुन, काठमाडौं । दार्चुलामा निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको अब १६ मिटर मात्रै सुरुङ खन्न बाँकी छ । कुल ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना अहिले चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी)ले निर्माण गरिरहेको छ ।

आइतबारसम्म २५ मिटर रक ट्रयापिङको काम सम्पन्न भइसकेको छ । ६५ मिटरमा गर्नुपर्ने रक ट्रयापिङको काम पनि अहिले अघि बढेको छ । कुल ८ सय ४३ मिटर लामो सुरुङमध्ये १६ मिटर मात्रै खन्न बाँकी रहेको आयोजना प्रमुख अजय दाहालले अनलाइनखबरलाई जानकारी दिए । उनले भने ‘८ सय ४३ मिटर मध्ये अब हामीले १६ मिटरमाात्रै सुरुङ खन्न बाँकी छ अन्य काम पनि द्रुत गतिमा भएको छ ।’

अबको ८ देखि १० दिन भित्र जेनेरेटर जडान गरिने दाहाल बताउँछन् । आयोजनाले आगामी डिसेम्बरमा यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना बनाएको छ ।

आगामी सेप्टेम्बरसम्म लगभग सुरुङको सबै काम सकिने दाहाल बताउँछन् । दार्चुलाको शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको निर्माण सन् २००७ देखि सुरु भएको थियो । तर, लेखा समितिले भ्रष्टाचार भएको आशंकामा काम रोक्न निर्देशन दिएपछि लगभग एक वर्ष निर्माण रोकिन पुगेको थियो ।

कुल ६ सय ११ मिटर सुरुङ खनेको समयमा २ सय ३२ मिटर भने खुम्चिएको थियो । संसदको सार्वजनिक लेखा समितिले भेरिएसन मूल्यांकनमा भ्रष्टाचार भएको भन्दै वीचैमा काम रोक्न निर्देशन दिएको थियो ।

सन् २०१५ को फेब्रुअरी १० देखि बन्द भएको सुरुङ मर्मतको काम सन् २०१६ को सेप्टेम्बर २८ बाट मात्रै सुरु भएको थियो । अहिले खुम्चिएको र बाँकी रहेको निर्माणको काम द्रुत गतिमा अघि बढाइएको छ । अहिलेसम्म कुनैखालका समस्याहरु नदेखिएका कारण समयमै काम सकिने दाहाल बताउँछन् ।

ऊर्जा मन्त्रालयले गत २२ सेप्टेम्बरमा नयाँ कार्यसूची दिई सन् २०१७ को डिसेम्बरमा आयोजना सम्पन्न गर्न निर्देशन दिएको थियो ।

दाहालका अनुसार यस आयोजनाको कुल लागत १५ अर्ब ६ करोड रुपैयाँ छ । सरकारी बेवास्ता, ठेकेदार र परामर्शदाताको लापरवाहीका कारण ८ अर्ब रुपैयाँमा बन्नुपर्ने आयोजनाको लागत १५ अर्ब पुग्न गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment