Comments Add Comment

नेताका छोराछोरी युरोप-अमेरिका, जनताका छोराछोरी स्ववियुमा

के स्ववियु निर्वाचन ढुंगा हान्ने लाइसेन्स हो ?

हिजो बिहान फेसबुक हेर्दै थिएँ, विश्लेषक केशवप्रसाद भट्टरार्इको गजबको स्टाटस देखेँ, कुन नेताका छोराछोरी र नातिनातिनी पढ्ने क्याम्पसमा स्ववियु चुनाव हुँदै रहेछ ?’

एउटै वाक्यको त्यो स्टाटसले एउटा ठूलो समसामयिक घटनाको जवाफ सरोकारवालासँग मागेको थियो । लेखनमा सक्रियता केही घटाउँछु भन्ने मेरो आफ्नै अडानलाई दाजुको एउटै स्टाटसले भाइ, यसलाई तन्काएर लेख भने झैं लाग्यो । गहन सैद्धान्तिक बहसभन्दा पनि स्ववियु चुनावको सन्दर्भमा रहेर सामान्य विषय उठान गरेको छु ।

देशमा ०५४ देखि स्थानीय निर्वाचन हुन सकेको छैन  स्थानीय निकायहरुमा कर्मचारीहरुको खटनपटनले सुशासन नै धरापमा परेको छ । यसैबीच हालै सरकारले आगामी बैशाख ३१ गते स्थानीय तहको चुनावको घोषणा गरेको छ, जुन स्वागतयोग्य छ ।

संयोग नै भन्नुपर्छ, लामो समयदेखि रोकिएको त्रिवि र यसका आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव पनि यही फागुन १८ गते हुने भएकोले यसको सरगर्मी बढेको छ ।

एकथरी कथित राजनीतिक नेतृत्वका अनुसार, स्ववियु चुनाव भएन भने आम जनताकै भविष्य अन्धकारमय हुन्छ रे !

सरगम भट्टराई

मेरो ब्रह्मले मानेन र यसबारे केही लेख्न मन लाग्यो । समग्र विद्यार्थीको हकहितका लागि स्ववियुको अवधारणा राजनीतिक संकुचनको बेला राम्रै होला । तर,व्यावहारिक रुपमा यो आम विद्यार्थीलाई राजनीतिको भुङ्ग्रोमा हालेर उनीहरुको शैक्षिक भविष्यलाई अँध्यारो बनाउने कृत्य हो भन्ने स्तम्भकारको ठम्याइ छ ।

संस्थान, निजामती कर्मचारी, स्थानीय निकाय तथा विभिन्न पेशागत समूहका ट्रेड युनियन र संगठनहरु कर्मचारी र सेवाग्राहीको हकहितका लागि भन्दा पनि नेताको चाकरी गर्ने, माथिल्लो निकायमा सरुवाबढुवाका लागि दबाव दिने, काम नगरी दलको छत्रछायामा नेतागिरी गर्दै हिँड्ने तीतो सत्य हाम्रो अगाडि देखिन्छ । स्ववियुमा निर्वाचित पदाधिकारीहरुले पनि विद्यार्थी हकहितमा उल्लेख्य काम गरेका छन् र गर्नेछन् भनेर ठोकुवा गर्ने ठाउँ छैन ।

विद्यार्थी भर्ना तथा स्वागत समारोह बाहेकका क्षेत्रमा स्ववियुका पदाधिकारीले केही काम गर्न सकेका छैनन् । खासगरी स्ववियु राजनीतिक दलहरुका लागि आज्ञाकारी हनुमान उत्पादन गर्ने गतिलो माध्यम बनेको छ ।

चुनावको पूर्वसन्ध्यामा निर्वाचनमा भोट हाल्नैका लागि विभिन्न क्याम्पसमा भर्ना हुने फर्जी विद्यार्थीकै स्ववियुमा बोलवाला देखिन्छ । यो सत्य लुकाएर लुक्ने देखिँदैन ।

विद्यार्थी राजनीतिमा आउनैका लागि कुलीन वर्गका मानिसहरु उमेर पाको हुँदासम्म क्याम्पस भर्ना भइरहँदा क्याम्पस अध्ययन गर्नेभन्दा पनि राजनीति गर्ने थलो बनेको छ । यो स्थितिमा स्ववियुका लागि २८ वर्षे उमेरहद तोकिनु सकारात्मक मान्नुपर्छ । तर, विद्यार्थीलाई दलको हनुमान बनाउन खोज्ने अहिलेको प्रवृत्ति हेर्दा स्ववियु चुनावकै औचित्य देखिँदैन । यसलाई खारेज गरेमा आम जनता र तिनका छोराछोरीको भविष्य अन्धकारमय हैन, बरु उज्ज्वल हुन्छ ।

स्ववियु चुनाव कसका लागि ?

स्ववियु चुनाव दलका नेताहरुले जनताका छोराछोरीको पढाइ निस्तेज पार्ने गरी राजनीतिमा होम्ने डिजाइन अन्तर्गत सुरु गरेको भान हुन्छ । किनभने आफ्ना छोराछोरीलाई पढ्न महँगा प्राइभेट कलेज वा युरोप, अमेरिका पठाउने भएपछि नेताहरुलाई केही फिक्री छैन । आफ्ना छोराछोरी सरकारी क्याम्पसमा पढ्ने भए पो त्यहाँको राजनीतिले पढाइ बिग्रेला भनेर उनीहरु सचेत हुन्थे ।

अहिले पनि दलका सबैजसो उच्च र मध्यम तहका नेताका छोराछोरी कि त महँगा प्राइभेट कलेजमा वा युरोप, अमेरिका र अष्ट्रेलियाका कलेजहरुमा पढ्छन् । देशभित्रकै निजी कलेजमा स्ववियुको चुनाव हुँदैन । त्यहाँको शिक्षाको गुणस्तर हेरे मात्र पनि पुग्छ ।

दलका नेताहरुले देशमा पहिलो संविधानसभा भंग भएको देखेनन् । दोस्रो प्रयासमा बल्लतल्ल संविधान बने पनि कार्यान्वयन हुन नसकेर जिउँदो लाश बनेको देखेनन् । दुई दशक स्थानीय चुनाव नभएर स्थानीय निकाय भताभुंग भएको पनि तिनले देखेनन् । तिनैले स्ववियु चुनाव नभए आम जनताको भविष्य अन्धकारमय देखेछन् । कति हास्यास्पद तर्क !

कहाँ पढ्छन् नेताका छोराछोरी ?

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा वीरध्वज देउवा बेलायतमा पढ्छन् । प्रभावशाली नेता रामचन्द्र पौडेलका छोरा पनि बेलायतमा पढ्छन् । कृष्णप्रसाद सिटौलाका छोरा अमेरिका, प्रकाशमान सिंहका छोरा अष्ट्रेलिया, विमलेन्द्र निधिका छोराहरु अमेरिका र भारतमा पढेका छन् । यस्तै, एमाले नेता माधवकुमार नेपालका छोरा अष्ट्रेलिया र झलनाथ खनाल लगायत धेरै नेताहरुका छोराछोरीले अमेरिकामै अध्ययन गरिरहेका या गरेका हुन् ।

मधेसवादी दल, राप्रपा र अन्य ससाना दलका नेताहरु तथा उच्चपदस्थ कर्मचारी र ठूला व्यापारीहरुका छोराछोरी समेत स्वदेशका महँगा निजी कलेज अथवा विदेशमै पढेका छन् । यद्यपि यो लहरलाई माओवादीका सबै नेताले पूर्णरुपमा पछ्याउन भ्याएका छैनन् ।

पूर्व माओवादीमध्ये नेता बाबुराम भट्टराईले छोरी मानुषीलाई भारत पढाए भने नेत्रविक्रम चन्दका छोरा चितवनस्थित मेडिकल कलेजमा पढ्छन् । यस्ता तथ्य केलाउने हो भने नेताहरुले खुब बयान गर्ने स्ववियु निर्वाचनको धरातल यत्तिकै भत्किएर जान्छ ।

संसारमा कतै नभएको विद्यार्थी राजनीतिले शिक्षा क्षेत्रमा गुणस्तर होइन, विकृति मात्र निम्त्याएको छ । पार्टीहरुको दलाली गर्नु र भोलिका लागि दलका नेतालाई हनुमान उत्पादन गर्नु बाहेक स्ववियु चुनावको कुनै उपादेयता देखिन्न । त्रिविको काम अध्ययन, अध्यापनको दायरा फराकिलो पार्ने र दक्ष जनशक्ति उत्पादन गर्नु हो । स्ववियु निर्वाचन जस्तो अनुपात्दक कुरामा उसको संलग्नता अपेक्षित छैन ।

प्रभावशाली नेताहरुका छोराछोरी पढ्ने भए सरकारी क्याम्पसहरुको शैक्षिक गुणस्तर अब्बल हुन्थ्यो होला । विद्यार्थी आन्दोलनलाई कुत्सित राजनीतिक उद्देश्य प्राप्तिका लागि उपयोग गर्न नपाएको झोकमा नेताहरुबाट यस्ता अभिव्यक्तिहरु आएको सत्य हामीले कहिले बुझ्ने होला ?

गरिब देशका धनी राजनीतिज्ञहरु विदेशमै उपचार गर्छन्, छोराछोरीलाई विदेशमै पढाउँछन् । तर, जनताका छोराछोरी पढ्ने सरकारी स्कूलदेखि क्याम्पसहरुमा पढाइभन्दा बढी राजनीति हुन्छ । त्यसरी पढेर फेल भएपछि अरबको खाडीमा श्रम गर्नु या राजनीतिक दलका नेताहरुको गोटी बन्नु बाहेक अरु उपाय रहँदैन ।

विपन्न जनताका छोराछोरीले विद्यार्थी राजनीति अघि बढाउँदै पछि सांसद र मन्त्री बन्ने सम्भावना पनि हुँदैन । किनभने चुनाव जित्न करोडौं खर्च गर्न सक्ने हैसियत उनीहरुको छैन ।

एक समय थियो, राजनीतिक दलहरु प्रतिबन्धित रहेको बेला विश्वविद्यालयका विद्यार्थीका माध्यमबाट राजनीति गर्नुपर्ने अवस्था रहुन्जेल विद्यार्थी संगठन अस्तित्वमा रहनु ठीकै थियो होला । तर, राजनीतिक स्वतन्त्रतापछि तिनको औचित्य समाप्त गर्नेतिर लागेमा मात्र अब गुणस्तरीय शिक्षाको लागि मार्गप्रशस्त हुन सक्छ ।

विद्यार्थी आन्दोलनले राज्यसत्ता सञ्चालनमा देखिएका कमीकमजोरीलाई सच्याउने न्यायालय र नियन्त्रण गर्ने संसद् कमजोर भएको अवस्थामा सडकबाट नियन्त्रण र सन्तुलनको लागि सचेतक को भूमिका निर्वाह गर्नुपर्ने हो । तर, त्यसलाई राजनीतिक दलको रखवारी र दलाली गर्ने ठाउँमा पुर्‍याउन विशेष भूमिका खेल्नेहरुले आफ्नो राजनीतिमा विद्यार्थीलाई क्याटलिष्ट बनाउन नपाएर मात्र आम जनताको भविष्य अन्धकारमय देखेका हुन् ।

विद्यार्थी आन्दोलनलाई खबरदारीबाट चाप्लुसी र दबावबाट दलालीमा रुपान्तरण गराउने काम स्ववियुबाटै भएको छ । यसैले यिनीहरूबाट स्वतन्त्र विद्यार्थी आन्दोलन हुन नसक्ने भएकोले अब विद्यार्थी संगठन र स्ववियुको औचित्य समाप्त भयो भन्ने बेला आएको छ ।

विद्यार्थीमा एक हदसम्मको राजनीतिक चेतना हुनु राम्रो कुरा हो । त्यही चेतनाकै कारण ०३६, ०४६ र ०६२/६३ का आन्दोलनहरु उत्कर्षमा पुगेकै हुन् । तर,परिवर्तनको आन्दोलनपछि पनि राजनीतिक चाप्लुसी, दलहरुको दास र मुखपत्र बन्न गरिने विद्यार्थी राजनीतिले लक्षित वर्गलाई समेट्न र उनीहरुको हकहितको रक्षा कुनै हालतमा  गर्दैन र गरेको पनि छैन ।

राजनीति विद्यार्थीले हैन, विद्वानले गर्नुपर्छ  देश चलाउने व्यक्ति पहिले आफू शिक्षित र दीक्षित भए मात्रै समग्र भावी पुस्ता सक्षम हुन्छ । अहिले दलहरुको निर्देशनमा ढुंगा हान्नेहरु न त भोलि नेता बन्ने हुन्, न त विद्यार्थी आन्दोलन नै उँचाइमा पुग्नेछ ।

राजनीतिक परिवर्तनपछि अबको युग विकास र समृद्धिको हो । त्यसैले विद्यार्थी जस्तो सचेत वर्गले ढुंगा हान्ने राजनीति हैन, ढुंगा कुँद्ने अभियान थाल्ने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment