+
+
Shares

जेन–जीको प्रतिवादमा विद्यार्थी नेताको आलोचनात्मक समर्थन

‘नेताको छोराछोरीको फोटो सार्वजनिक गर्नुअघि विरासत हेर्नू’

यसबारे मुख्य दल कांग्रेस, एमाले र मआवादीका विद्यार्थी संगठनका नेताहरू के सोचिरहेका छन् ? उनीहरू कहाँ छन् ? जेन–जीको आन्दोलनलाई विद्यार्थी संगठनले कसरी हेरिरहेका छन् ?

दिनेश गौतम दिनेश गौतम
२०८२ भदौ २२ गते २२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि जेन–जीले 'नेपो बेबी' अभियान चलाउँदै प्रदर्शन घोषणा गरेका छन्।
  • तीन प्रमुख विद्यार्थी संगठनले सामाजिक सञ्जाल बन्द निर्णयलाई विकल्प नदिइ गरिएको कमजोरी भन्दै फिर्ता लिनुपर्ने माग गरेका छन्।
  • विद्यार्थी नेताहरूले जेन–जीको भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन जनाउँदै व्यवस्था विरोधी घुसपैठ नभएको सुनिश्चित गर्नुपर्ने बताएका छन्।

२२ भदौ, काठमाडौं ।

गाउँ गाउँबाट उठ,
बस्ती बस्तीबाट उठ,
यो देशको मुहार फेर्न उठ…!

गाइ त बाँधो ढुङ्ग्रोमा मोही छैन,
मोही छैन,
गरिबको चमेली बोल्दिने कोही छैन …!

माथि उल्लेखित गीतमा जेन–जीले सामाजिक सञ्जाल टिकटकमा नेताका छोराछोरीको र गरिबका छोराछोरीको फोटो जोडेर हजारौं भिडियो बनाइरहेका छन् । सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि आक्रोशित बनेका जेनजीले ‘नेपो बेबी’ अभियान चलाएका हुन् । र, यो अभियानमा नेताका छोरोछोरीका हरेक गतिविधि जेन–जीले सार्वजनिक गरिरहेका छन् । जेनजीले सोमबार प्रदर्शनको घोषणा गरेका छन् । उनीहरूले स्व:स्फूर्त प्रदर्शन गर्न लागेका हुन् ।

सामाजिक सञ्जाल बन्दको कारण जेन–जीलाई ठूलो असर परेको छ । किनकी, अध्ययनको सामग्रीसमेत विद्यार्थीको युट्युब र फेसबुक जस्ता सञ्जाल बनेको छ । हजारौं युवा डिजिटल व्यवसाय गरिरहेका छन् । सामाजिक सञ्जाल बन्द भएपछि रोजीरोटी गुमाएपछि जेन–जी आक्रोशित बनेका हुन् ।

यसबारे मुख्य दल कांग्रेस, एमाले र मआवादीका विद्यार्थी संगठनका नेताहरू के सोचिरहेका छन् ? उनीहरू कहाँ छन् ? जेन–जीको आन्दोलनलाई विद्यार्थी संगठनले कसरी हेरिरहेका छन् ?

सामाजिक सञ्जाल बन्द गर्नु गलत

तीन वटै विद्यार्थी संगठनका नेतृत्वलाई सरकारले सामाजिक सञ्जाल बन्द गरेकोबारे पहिलो प्रश्न गरेका थियौं । जसमा उनीहरूको साझा धारणा देखियो । सरकारले विकल्प नदिइ बन्द गरेकोमा विद्यार्थी संगठनहरू पनि सन्तुष्ट छैनन् । सत्तारुढ दल कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारको निर्णय अध्ययन बिना भएको टिप्प्णी गरेको छ ।

‘अध्ययन बिना सामाजिक सञ्जाल सरकारले बन्द गर्‍यो । युट्युबबाट विद्यार्थीले अध्ययन गरिरहेका छन् । पढाइसँगै लाखौं युवा विद्यार्थीले डिजिटल पेसा अपनाइ रहेका छन् । सरकारको निर्णयले प्रत्यक्ष असर युवा विद्यार्थीलाई परेको छ । अध्ययन विना नै बन्द गर्ने निर्णय सच्याउनुपर्छ,’ नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले भने ।

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्ने माग उनको छ । ‘विकल्प नदिइ गरेको निर्णय सरकारले फिर्ता लिनुपर्छ,’ उनले भने ।

दुजाङको मतमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पनि विजयप्रकाश सापकोटा सहमति जनाउँछन् ।

‘सामाजिक सञ्जाल बन्द गर्दा १० औँ हजारको रोजिरोटी खोसिएको छ । यो भनेको लाखौंको परिवारमा असर पर्छ । अर्को विकल्प नदिइ बन्द गर्नु सरकारको कमजोरी हो । यसमा सरकारले पुनर्विचार गर्नुपर्छ,’ अखिल क्रान्तिकारीका अध्यक्ष सापकोटाले भने, ‘अनलाइनबाट विद्यार्थीले पढिरहेका छन् । पढाइमासमेत असर परेको छ ।’

सरकारको नेतृत्व गरिरहेको एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सामाजिक सञ्जाल बन्द हुँदा नयाँ पुस्तालाई असर परेको तर कम्पनीहरू पनि दर्ताको लागि आउनुपर्ने तर्क गर्छन् ।

‘फेसबुक, इन्स्टाग्राम ह्वाट्सएप जस्ता सामाजिक सञ्जाल विश्वव्यापी बनेको छ । नयाँ पुस्ताको भावनाको प्रतिनिधत्व गरेको छ, यसैमा निर्भर छन् । त्यसैले यो बिना जीवन कष्टकर बन्ने एउटा बाध्यता छ,’ अध्यक्ष डा. सुजन कडरियाले भने, ‘तर देशको स्वतन्त्रतासँग पनि जोडिएको विषय हुन्छ । नेपाल सानो भएको कारण अवहेलना अथवा अवमूल्यन गरिरहेका छन् । राष्ट्र र राष्ट्रियता भन्दा माथि कुनै पनि मिडियाहरु हुन सक्दैनन् ।’

सरकारले आह्वान गरेकाले सामाजिक सञ्जाल सूचीकृत हुन आउनु पर्ने मत उनको छ । भावनामा नबहकिन अध्यक्ष कडरिया जेनजीलाई सुझाव दिन्छन् ।

‘जेन–जीले उठाएको जस्तो मात्र विषय छैन । भोलि जेन–जी सोसल मिडिया क्राइममा पर्यो भने सरकारले त्यतिबेला कसरी कन्ट्रोल गर्छ ? आफ्नो स्वाधीनता हुन्छ । अनुसन्धान गर्न पनि यहाँको नियम अनुसार चल्नुपर्छ । राज्य भावनाबाट मात्र चल्दैन । विधि विधान अनुसार चल्छ । राज्यको सार्वभौमसत्ता माथि कसैले अवहेलना गर्छ भने त्यस्तो बेलामा भावनामा बकिनु हुँदैन,’ उनले भने ।

भ्रष्टचारविरोधी अभियानमा साथ

जेन–जीले आन्दोलनलाई भ्रष्टाचार विरोधीकोरुपमा पनि लिएका छन् । यसबारे तीन वटा विद्यार्थी संगठनका नेतालाई हामीले दोस्रो प्रश्न राखेका थियौं ।

जेन–जीको भ्रष्टाचार विरोधी आन्दोलनमा विद्यार्थी नेताहरूले समर्थन जनाएका छन् । ‘एन्टी करप्सनमा हाम्रो समर्थन छ । तर कतै व्यवस्था विरोधीको घुसपैठ त भएको छैन ? अहिलेको निराशालाई कुण्ठालाई कसैले प्रयोग गरेर व्यवस्थालाई कमजोर बनाउन पाइँदैन,’ अखिल क्रान्तिकारीका अध्यक्ष सापकोटाले भने ।

नेविसंघका अध्यक्ष शेर्पा पनि लोकतन्त्रमा जेन–जीले आफ्नो आवाज राख्न पाउनुपर्ने तर फ्याक्ट पनि हेर्नुपर्ने तर्क गर्छन् ।

‘उहाँहरूले रचनात्मक ढंगबाट कुरा राख्न पाउनु हुन्छ । लोकतन्त्रमा कुरा राख्न नपाउने भन्ने हुँदैन तर फ्याक्ट बेसमा हुनुपर्छ,’ अध्यक्ष शेर्पाले भने ।

दलहरू सुध्रनुपर्नेमा एकमत

यथास्थितिबाट दलहरूले नयाँ ढुंगले अगाडि नबढ्दा नयाँ पुस्तामा निराशाको बादल छाएको छ । यसबारे दलका युवा विद्यार्थी पनि जानकार छन् ।

‘अब पुरानो ढंगबाट चल्दैन । युवाले सेवाप्रवाह छिटो खोजेको छ । यो ढोकाबाट त्यो ढोकामा जाउँ । यति नम्बर कोठाबाट उति नम्बर कोठामा जाउ भन्ने कुरा अहिलेको पुस्ताले मान्दैन । यो अवस्थाको अन्त्य हुनुपर्छ । यसमा पुनर्संरचना हुनुपर्छ,’ क्रान्तिकारीका अध्यक्ष सापकोटाले भने ।

‘नेताको छोराछोरीको फोटो सार्वजनिक गर्नुअघि विरासत हेर्नू’
जेन–जीले नेताको छोराछोरीको फोटो सार्वजनिक गरिरहेको विषयमा भने दलका विद्यार्थी नेताले फरक मत राखेका छन् ।

‘फोटो सार्वजनिक गर्नुअघि ट्याक्स तिरेको छ कि छैन हेर्नुपर्छ । कमाइ नभएकाको सार्वजनिक ठिकै होला तर आफ्नो कमाइमा चलेकाको फोटो सार्वजनिक गर्नुअघि फ्याक्ट हेर्नुपर्छ,’ नेविसंघ अध्यक्ष शेर्पाले भने, ‘फ्याक्टभन्दा बाहिर गयो भने स्थिति जटिल बन्छ । कतिपयको पारिवारिक विरासत हुन्छ, सम्पत्ति हुन्छ ।’

देश परिवर्तनका लागि नेताहरूले पुर्‍याएको योगदान पनि नबिर्सन जेन–जीलाई सुझाउँछन् शेर्पा । ‘व्यवस्था परिवर्तनका लागि लडेका नेताहरूलाई अवमूल्यन गर्नुहुँदैन । इतिहासलाई पनि नबिर्सन जीन–जीलाई सुझाव छ,’ उनले भने ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?