Comments Add Comment

रवीन्द्र मिश्रको पार्टी घोषणा ‘केही दिनमै’, को-को छन् टिममा ?

१७ फागुन, काठमाडौं । चर्चित पत्रकार रवीन्द्र मिश्र बीबीसी नेपाली सेवा छाडेर नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन् । उनी आफ्नो टिमसँग छलफलमा छन् र केही दिनमा नै नयाँ पार्टीको औपचारिक घोषणा गर्ने तयारी भइरहेको छ ।

अहिले सञ्चार माध्यमसँग कुराकानी गर्ने जिम्मेवारी मिश्रले मात्र लिएका कारण अरु सदस्यहरु औपचारिक रुपमा बोल्न चाहिरहेका छैनन् । साथै उनको पार्टीमा आबद्ध हुनेहरु अझै विभिन्न पेशामा रहेकाले पनि खुल्न चाहेका छैनन् ।

मिश्रको पार्टीमा मुमाराम खनाल रहने छन् । उनले आफू रवीन्द्र मिश्रको टिममा रहेको स्वीकार गरे । पूर्व माओवादी खनाल डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा पनि थिए । तर, नयाँ शक्ति पनि छाडेर रवीन्द्रतिर लागेका छन् ।

यस्तै अधिवक्ता ओमप्रकाश अर्याल पनि रवीन्द्रको नयाँ पार्टीमा लाग्ने भएका छन् । उनकै मुद्दामा सर्वोच्चले अख्तियारका तत्कालीन लोकमानसिंह कार्कीको नियुक्ति खारेज गरेको थियो, जसका कारण उनी निकै चर्चामा आए ।

मिश्रले गठन गर्ने पार्टीमा पूर्वसचिव किशोर थापा, पूर्वाधारविद् सूर्यराज आचार्य लगायत पनि रहेको बताइएको छ ।

यसबारे जिज्ञासा राख्दा पूर्व सचिव थापाले औपचारिक रुपमा केही बोल्न नमिल्ने बताएका छन् ।

रवीन्द्र मिश्रसहितको टोलीले केही दिनमा नै पार्टीको औपचारिक घोषणा गर्ने बताइएको छ । मिश्रको टिममा आवद्ध एक सदस्यले भने, ‘पार्टीको नामसहितका विषयमा छलफलमै छौं ।’

यो दलले वैशाख ३१ मा हुने स्थानीय चुनावमा भने भाग लिन पाउने छैन । आयोगले माघ १७ भित्र दर्ता भएका ११० दलले मात्र चुनावमा भाग लिन सक्ने बताएको छ ।

पार्टी गठन गर्ने घोषणा गर्नुपूर्व मिश्रले निर्वाचन आयोगमा दल दर्ताबारे चासो राखेका थिए । तर, आयोगले समय घर्किसकेको जवाफ दिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment