सुदूरपश्चिम रोयल्सको विजयसँगै नेपाली क्रिकेटको महापर्व नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको समापन भएको छ। झन्डै एक महिना उत्सवमय बनेको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानले अब केही दिनका लागि विश्राम पाएको छ।
भन्छन्, क्रिकेट अनिश्चितताको खेल हो। एनपीएलका सन्दर्भमा पनि फाइनल खेल त्यस्तै भयो भन्दा फरक पर्दैन । पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएर एलिमिनेटर खेल्दै फाइनलमा पुनः लुम्बिनीसँग नै भिड्न आइपुगेको सुदूरपश्चिमले सानदार विजय प्राप्त गर्यो।
कीर्तिपुरको शनिबारको साँझ साँच्चै अद्भुत थियो र भावनात्मक पनि। सुदूरपश्चिमको विजय एनपीएलको पहिलो संस्करणदेखि नै बहुप्रतीक्षित थियो, जुन यसपटक मात्र सम्भव हुन सक्यो।
सुदूरपश्चिमले विजय ट्रफी उचाल्यो र साविकको विजेता लुम्बिनी उपविजेतामा सीमित रहन पुग्यो। वास्तवमा को जित्यो र को हार्यो त्यो प्राविधिक पक्ष मात्र हो; विश्लेषण गर्ने हो भने समग्रमा नेपाली क्रिकेटले जितेको साँझ हो त्यो।
साँच्चै सुदूरपश्चिम विजयको हकदार थियो, जित्यो। एनपीएलको पहिलो संस्करणदेखि नै लगातार फाइनलमा पुग्दै आएको सुदूरपश्चिमले तेस्रो संस्करणमा विजय हात पारेको छ, त्यो पनि ऐतिहासिक।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य बिनाकुनै विकेटको क्षतिमा १४औँ ओभरमै पछ्याएर विजयी हुँदा सम्पूर्ण रङ्गशाला नै विजयको उल्लासमा डुब्न पुगेको अनुभूति गरिएको थियो। लुम्बिनी लायन्सलाई १० विकेटको विशाल र ऐतिहासिक अन्तरले पाखा लगाउँदै सुदूरपश्चिमले शनिबार साँझ उपाधि उचाल्दा नेपाली खेलकुदको क्षितिजमा एउटा नयाँ बिहानीको अनुभूति निकै महत्त्वपूर्ण थियो।
अघिल्ला दुई संस्करणमा फाइनलमा पुगेर पनि खाली हात फर्कनुको पीडा सँगाल्न बाध्य सुदूरपश्चिमका लागि यो सफलता ट्रफी प्राप्ति मात्र होइन; निरन्तरको साधना र आत्मविश्वासको परिणाम पनि हो। टस हारेर पहिले ब्याटिङ गर्दै लुम्बिनीले दिएको १५६ रनको चुनौतीपूर्ण लक्ष्य सुदूरपश्चिमले स्कटल्यान्डका ओपनर जर्ज मुन्सेको विस्फोटक शतक (अविजित १२५ रन) को सहयोगमा मात्र १३.३ ओभरमा कुनै क्षतिबिनै पूरा गरेको थियो।
एनपीएल अब खेलको सामान्य विषयसम्म मात्र सीमित रहेन। यो आयोजना नेपाललाई विश्वमा चिनाउने माध्यमसमेत बन्न पुगेको छ। यति मात्र होइन, देशभित्र देश जोड्ने माध्यम बनेको यो आयोजना एक प्रकारले संयुक्त सांस्कृतिक उत्सव बन्न पुगेको छ भन्दा फरक पर्दैन। यो आयोजनाले नेपाली क्रिकेटको संरचनात्मक विकास र व्यावसायिकतामा एउटा नयाँ मानक पनि स्थापित गरेको छ।
लामो समयसम्म घरेलु क्रिकेटमा नियमित, प्रतिस्पर्धात्मक र स्तरीय खेलहरूको खडेरी परिरहेका बेला एनपीएलले खेलाडीहरूलाई वर्षभरि व्यस्त र धारिलो राख्ने बलियो मञ्च प्रदान गरेको छ। स्वदेशी र विदेशी विश्वस्तरीय चर्चित खेलाडीहरूको फ्युजनले नेपाली क्रिकेटको प्राविधिक स्तर, रणनीतिक गहिराइ र प्रतिस्पर्धात्मक धारलाई अझ तिखार्न तेस्रो संस्करणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।
फाइनल खेलको टिकट १५ मिनेटमै सोल्ड आउट हुनु र कीर्तिपुरको डाँडाकाँडा ढाक्ने गरी उर्लिएको जनसागरले नेपाली जनमानसमा क्रिकेटप्रतिको क्रेजलाई पुनः एकपटक प्रमाणित गरिदिएको छ।
नेपाली समाजलाई सन्देश
नेपाली समाज यतिबेला एक किसिमको अधैर्य र निराशाको मनोविज्ञानबाट गुज्रिरहेको छ भन्दा फरक पर्दैन। राजनीति हाबी भइरहेको नेपाली समाजको मनोविज्ञान केही फरक चाहन्छ र त्यो पनि उपलब्धिमूलक। यस्तोमा क्रिकेट एउटा माध्यम बनेको छ, जसले नेपाली समाजलाई मानसिक रूपमा सन्तुष्टि प्रदान गरेको छ र गरिरहेको छ।
यति मात्र होइन, खासगरी एनपीएलजस्ता आयोजनाले नेपाली समाजलाई एकताको सूत्रमा आबद्ध गर्न पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। एनपीएलले नेपाली समाजमा विगत लामो समयदेखि व्याप्त भूगोल, समुदाय, भाषा र संस्कृतिको छेकबारलाई भत्काएर राष्ट्रिय संस्कृति निर्माणमा समेत योगदान पुर्याएको छ।
व्यक्तिकेन्द्रित लाभ लिने, अर्कालाई होच्याएर आफूलाई ठूलो बनाउने, छिटो परिणाम खोज्ने, सानो धक्कामै विचलित हुने र प्रणालीगत सुधारमा धैर्य गुमाउने प्रवृत्ति हाम्रो सामाजिक र राजनीतिक वृत्तमा हाबी छ। यस्तो परिवेशमा एनपीएलको आयोजनाले नेपाली समाजलाई दिएको सबैभन्दा सशक्त सन्देश भनेको ‘सङ्गठित राष्ट्रियता’ हो।

यस्तै धैर्य, निरन्तरता र हार नमान्ने जिजीविषालाई पनि यस आयोजनाको महत्त्वपूर्ण सन्देश मान्न सकिन्छ। सुदूरपश्चिम रोयल्सको यात्रा यसको दृष्टान्त हो। पहिलो र दोस्रो संस्करणमा फाइनलमा पुगेर पराजित हुँदा पनि सुदूरपश्चिमले अरूले जस्तो न आफ्नो संरचना भत्कायो, न त लक्ष्यप्रतिको निष्ठा नै गुमायो; बरु आफूलाई निरन्तर सङ्घर्षरत बनाइरह्यो।
माथि पनि चर्चा गरियो, यो आयोजनाले सङ्गठित राष्ट्रियता निर्माणका सन्दर्भमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। प्रतियोगितामा सहभागी आठवटा टोलीका समर्थकका रूपमा रङ्गशालामा दर्शक र समर्थक मात्र जोडिएनन्, बरु यो आयोजना राष्ट्र र राष्ट्रियता जोड्ने महत्त्वपूर्ण सेतु पनि बन्न पुग्यो।
समग्रमा राष्ट्र निर्माणको प्रक्रियामा यस आयोजनाले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण छ। राष्ट्र निर्माण केवल भौतिक पूर्वाधार, सडक वा नीतिगत दस्ताबेजबाट मात्र पूर्ण हुँदैन; नागरिकबीचको भावनात्मक सम्बन्ध, साझा गौरव र सामूहिक पहिचानले राष्ट्रलाई जीवन्त बनाउने कुरामा शङ्का छैन। फ्रेन्चाइज टोलीहरूको सहभागिताका माध्यमबाट एनपीएलले प्रादेशिक विविधता र राष्ट्रिय एकताबीच सन्तुलन कायम गर्ने सुन्दर अवसर निर्माण गरेको मान्न सकिन्छ।
एनपीएलको यो सफल निरन्तरताले आगामी दिनमा नेपाली खेलकुद र समाजमा दूरगामी प्रभाव पार्ने निश्चित छ। उच्च स्तरको घरेलु प्रतिस्पर्धाबाट खारिएका खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा अझ आत्मविश्वासका साथ प्रदर्शन गर्ने वातावरण निर्माणमा यो आयोजनाले सघाएको छ।
यस्तै यो आयोजनापछि प्रदेश र स्थानीय तहका सरकारहरूलाई रङ्गशाला, तालिम केन्द्र तथा आधुनिक खेल पूर्वाधारमा लगानी गर्न नैतिक दबाब र प्रोत्साहन मिलेको हुन सक्ने अनुमान गर्न सकिन्छ। जुन प्रकारले दर्शक त्रिभुवन विश्वविद्यालयको रङ्गशालामा ओइरिए, त्यसबाट आमनेपालीको रुचिबारे सम्बन्धित निकायले अध्ययन गर्न सक्ने अवसर यस आयोजनाले दिएको छ।

यति मात्र होइन, यस्ता आयोजना पर्यटन प्रवर्द्धनका लागि पनि महत्त्वपूर्ण माध्यम बन्न सक्ने सम्भावनाको विस्तार भएको छ। विभिन्न टोलीमा सहभागी विदेशी खेलाडीले जब नेपाल घुमे र आफ्ना भ्रमण अनुभूति सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गरे, त्यो क्षण नेपालका लागि विश्वव्यापी परिचयको क्षण बन्न पुगेको कुरामा विमति हुन सक्दैन। अतः भविष्यमा यस्ता थप आयोजनाका माध्यमबाट विदेशी खेलाडीलाई नेपालमा आमन्त्रण गरेर नेपाललाई विश्वमा थप चिनाउन सकिन्छ।
यस सन्दर्भमा पनि प्रदेश र स्थानीय सरकारहरूले आवश्यक रणनीति तय गर्नु जरुरी छ। आज ‘ग्लोबल’ विश्वको जमाना हो। स्थानीय परिचय र परिवेशलाई विश्वव्यापी बनाउन यस्ता आयोजना निकै सहयोगी हुने कुरामा विमति हुन सक्दैन।
हामीले उपलब्धिका कुरा गरिरहँदा यससँग सम्बन्धित चुनौतीका विषयलाई पनि इन्कार गर्न सकिँदैन। भौतिक पूर्वाधारको सीमितता अझै पनि टाउको दुखाइको विषय बनेको छ। कीर्तिपुरको एउटै मैदानमा निर्भर रहनुपर्ने बाध्यता हाम्रासामु छ। यसैसँग सम्बन्धित छ दर्शक, पार्किङ र सुरक्षा व्यवस्थापन।
यस विषयमा सम्बन्धित निकाय संवेदनशील बन्नु जरुरी छ। कीर्तिपुरकै रङ्गशालामाथि कहिलेसम्म भर परिरहने ? कम्तीमा यसपटकको आयोजनाले वैकल्पिक अन्तर्राष्ट्रिय स्तरका रङ्गशालाको आवश्यकता र त्यसको उपलब्धताको सन्दर्भलाई थप बल पुर्याएको छ। आगामी दिनमा सम्बन्धित पक्ष यी विषयमा थप संवेदनशील बनेर नेपाली खेलकुदलाई थप उचाइमा पुर्याउन क्रियाशील हुनु अपेक्षित छ।
जय क्रिकेट, जय नेपाल !
प्रतिक्रिया 4