Comments Add Comment

भाबुक हुँदै उद्योगमन्त्रीले भने-७ खर्ब रेमिट्यान्स भित्र्यायौं, युवाशक्ति र विकास गुमायौं


२० फागुन, काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशी शुक्रबार लगानी सम्मेलनको बन्द शत्रमा निकै भाबुक मुद्रामा प्रस्तुत भए । उनले स्वदेशमा लगानीको अवसर भएपनि पुँजी अभाव लगायतका समस्याले नेपाली ऊर्जाशील युवा रोजगारीका लागि विदेशिनु परिरहेको यथार्थलाई उनले आफ्नो सम्बोधनमा उतारे ।

मन्त्री जोशीले अहिले भित्रिरहेको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेपनि यसलाई ‘सच्याउनुपर्ने विडम्बनापूर्ण यथार्थ’ का रुपमा चित्रण गरे ।

‘नेपालमा वार्षिक रुपमा भित्रिने ७ खर्ब रेमिट्यान्स् भित्रिँदैछ । नेपाली युवा आफ्नो श्रम बेच्न विदशेमा पुग्नै पर्ने बाध्यता किन बन्यो ? समीक्षा त अब गर्नैपर्छ’ उद्योगमन्त्री जोशीले भने ।

उनले थपे- ‘म त भन्छु, ७ अर्ब रेमिट्यान्स भित्रिन्छ भनेर हामी धेरै खुसी हुनुपर्ने अवस्था छैन । हामीले युवा विदेश पठाएर ७ खर्ब भित्राएका हैनौं, अरु ७ खर्ब गुमाएका हौं ।  उनीहरुलाई यहीँ अवसर दिएर नेपालकै विकासमा लगाउनुपर्ने हो, तर हामीले विकास गुमायौं ।’

नेपालमै अवसर हुने हो भने युवाले खर्च गरेको श्रम देशकै विकासका लागि हुने र त्यति नै मूल्य बराबरको अर्को लाभ नेपालले पाउने उनको तर्क थियो ।

‘विदेशबाट ७ खर्ब त पैसा आयो । तर, त्यो युवाले गरेको कामको प्रतिफल देशले गुमायो’ उद्योगमन्त्री जोशीले भने,’रेमिट्यान्स त पैसाको रुपमा आयो । तर, त्यो युवाको पसिना यहाँ नै पोखिएको भए नेपालले ति अरब देशले प्राप्त गरेका विकासको दर पनि प्राप्त गथ्र्यो । युवाले पनि घरमै बसेर काम पाउँथे ‘ मन्त्री जोशीले भने ।

उद्योगमन्त्री जोशीले सम्बोधन गर्दा लगानी सम्मेलनका सहभागीमा मौनता छायो । उनको युवा केन्द्रित भनाइहरूले धेरैलाई गम्भिर बनायो ।

उद्योगमन्त्री जोशीले उद्योग मन्त्रालय भनेर यसअघि हेला गरिेने गरेकोमा आफूले छोड्दासम्म यो देशकै महत्वपूर्ण अाकर्षक मन्त्रालयका रुपमा विकास गरिसक्ने बताए ।

उनले पुँजी भित्र्याएर युवालाई अवसर र देशलाई विकासको मार्गमा डोर्‍याउने जिम्मेवारी बोकेको उद्योग मन्त्रालय अझ धेरै काम गर्ने गरी स्थापित हुने बताए ।

यो वर्षको लगानी सम्मेलनबाट नेपालमा लगानीका लागि १३ खर्ब ५२ अर्बको प्रतिवद्धता आएको छ । दुईदिनसम्म चलेको लगानी सम्मेलन आजै सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment