Comments Add Comment

सप्तरीमा गोली चल्दा गृहमन्त्री कैलालीमा, गृहसचिव अमेरिकामा

महन्थ ठाकुरलाई फोन गरेर दुःख व्यक्त

२३ फागुन, काठमाडौं । सप्तरीमा सोमबार गोलीकाण्ड हुँदा गृहमन्त्री विमलेन्द्र निधी काठमाडौंमा थिएनन् । निर्वाचन आयोगले मन्त्रीहरुलाई पार्टीको कार्यक्रममा नजान भनिरहेका बेला मन्त्री निधी नेपाली कांग्रेसको कार्यक्रममा भाग दिन सोमबार बिहानै कैलालीतिर लागेका थिए ।

राजविराजमा सोमबार एमालेले जनसभा आयोजना गरेको र मधेसी मोर्चाले अवरोध गर्न खोजेको सूचना पक्कै पनि गृहमन्त्रीलाई थियो । तर, उनी दिनभरि नै जिल्लामै व्यस्त रहे ।

मन्त्रालयमा गृहमन्त्रीमात्रै अनुपस्थित भएका होइनन्, गृहसचिव लोकदर्शन रेग्मी अघिल्लो सातादेखि नै अमेरिका भ्रमणमा मस्त छन् ।

अर्कोतर्फ प्रहरी प्रधान कार्यालय पनि नेतृत्वविहीन अवस्थामा छ । डाक्टरले प्रहरी महानिरीक्षक पदमा निमित्तको भूमिका निभाइरहेका छन् । र, उनी आफ्नो कार्यकालमा सकभर कुनै तनाव व्यहोर्नु नपरोस् भन्ने पक्षमा छन् ।

गृहमन्त्रालयमा कमजोर नेतृत्व रहेको र भएका मन्त्री एवं सचिवहरुसमेत हेडक्वार्टर छाडेर देश-विदेश डुल्न हिँडेका कारणले पनि सोमबार सप्तरी जिल्ला प्रशासनका साथै फिल्डमा खटिएका प्रहरीहरु अन्योलमा परेको स्थानीय अधिकारीहरुको गुनासो छ ।

लगनपछिको निर्देशन

यसैवीच सोमबार राजविराजमा घटना भइसकेपछि गृहमन्त्री निधीले कैलालीबाटै प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेललाई टेलिफोन गरेर संयममता अपनाउन र अनावश्यक बल प्रयोग नगर्न निर्देशन दिएका छन् ।

त्यसैगरी मन्त्री निधीले सप्तरीमा रहेका एमाले अध्यक्ष केपी ओलीलाई पनि टेलिफोन गरी मेची कहाकाली अभियान स्थगन गर्न आग्रह गरेका छन् ।

मन्त्री निधीले जनकपुरमा रहेका तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई पनि सोमबार साँझ कैलालीबाटै टेलिफोन गरेका छन् । ठाकुरसँगको फोन सम्वादमा मन्त्री निधीले राजविराज घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति समवेदना व्यक्त गरेका छन् ।

साथै मन्त्री निधीले घाइतेहरुको निशुल्क उपचारका लागि आफूले निर्देशन दिइसकेको नेता ठाकुरलाई टेलीफोन मार्फत आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment