Comments Add Comment

बिराटनगरदेखि गौरसम्म तनावः भैरहवाको बेलहिया नाकामा यात्रु अलपत्र

२४ फागुन, काठमाडौं । सप्तरीमा सोमबार भएको गोलीकाण्डको प्रतिक्रियास्वरुप तराई-मधेसका विभिन्न जिल्लामा आन्दोलन फैलिएको छ । मधेसी मोर्चाले घोषणा गरेको दुईदिने बन्दको असर पूर्वको बिराटनगरदेखि पश्चिमको कपिलवस्तुसम्म फैलिएको छ ।

सोमबारसम्म शान्त रहेको मोरङको बिराटनगरमा मंगलबार आन्दोलनकारीहरु सडकमा उत्रेर टायर बाल्न थालेका छन् । बन्दको असरले भैरहवास्थित बेलहिया नाकामा नेपाल-भारत ओहोर-दोहोर गर्ने यात्रुहरुसमेत अलपत्र परेका छन् ।

बिराटनगरमा टायर बालेर प्रदर्शन

बिराटनगरबाट अनलाइनखबरकर्मी ध्रुव भट्टराईले दिएको जानकारी अनुसार सप्तरी घटनाको विरोधमा संयुक्त मधेसी मोर्चाले बिहानैदेखि सडकमा उत्रेर प्रदर्शन सुरु गरेका छन् । मोर्चाका कार्यकर्ताहरु सरकारको विरोधमा विराटनगरका मुख्य चोक क्षेत्रमा टायर बालेर प्रर्दशनमा उत्रिएका हुन् ।

सोमबार प्रहरीको गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दका कारण विराटनगर क्षेत्रको जनजीवन प्रभावित बनेको हो ।

आन्दोलनकारीले उनीहरुले जनआन्दोलन चौक, रोडशेष चोक, शनि मन्दिर चोक लगायतमा राजमार्ग क्षेत्र केन्द्रित भएर सरकारविरुद्ध नारावाजी गरिरहेका छन् ।

मोर्चाले मंगलबार र बुधबारका लागि आह्वान गरेको बन्दका कारण विराटनगर क्षेत्रवाट लामा तथा छोटा दूरीका सवारी चलेका छैनन् । बजार पसल, कलकारखना शैक्षिक संस्था पनि ठप्प छन् ।

मोर्चाका कार्यकर्ताहरुले विभिन्न स्थानमा प्रदर्शनमा उत्रिएपछि स्थितिलाई अराजक हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सिरहामा एमाले कार्यालयमा आगजनी

राजविराजको गोलीकाण्डपछि सप्तरी मंगलबार पनि तनावग्रस्त बनेको छ । सप्तरी जिल्लाका सबै सरकारी कार्यालयहरु बन्द छन् ।

मोर्चाले आहृवान गरेको बन्दका कारण सडकमा कुनै सवारी साधन चल्न सकेका छैनन् । सर्लाहीमा सरकारी कार्यालय खुले पनि बन्दका कारण सवारी साधन चल्न नसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जनाएका छन् ।

मोर्चाका कार्यकर्ताहरुले सरकारी कार्यालयमा तोडफोडको प्रयास गरिरहेको सप्तरी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइरालाले जानकारी दिए ।

सिराहाका सहायक प्रमुख  जिल्ला अधिकारी सोम भट्टराईका अनुसार मोर्चाका कार्यकर्ताले सिराहा सदरमुकाममा रहेको एमाले कार्यालयमा आगजनी गरेका छन् । मोर्चाका कार्यालयका फर्निचर र कम्प्युटर बाहिर निकालेर जलाएका हुन् ।

सिराहामा दिउँसो करिब १ बजेसम्म सरकारी कार्यालयहरु खुल्ला रहेको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जनाए । सिराहामा सोमबार भने मोर्चाका कार्यकर्ताले केही गाडी र मोटरसाइकलमा आगजनी गरेका थिए ।

आगजनीको घटनामा १३ जनालाई नियन्त्रणमा लिएको सिराहाका डीएसपी हिरा पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । प्रदर्शनकारीले मालपोत कार्यालयमा पनि ढुंगामुढा गरेका छन् ।

जनकपुरमा मानव अधिकार आयोग घेराउ

मधेस बन्दको प्रभाव सप्तरी, सिराहा धनुषा, सर्लाही, बारा र पर्सामा समेत परेको छ ।

जनकपुरमा स्थानीय युवाहरुले राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय घेराउ गरेका छन् ।

सप्तरीको राजविराजमा भएको झडपमा तीन जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न माग गर्दै उनीहरुले मानवअधिकार कार्यालय घेराउ गरेका हुन् ।

उनीहरुले सप्तरीका एसपी दिवस लोहनीलाई कारवाही गरिनुपर्ने मागसमेत गरेका छन् । साथै सरकार र मानव अधिकार आयोग विरुद्ध नाराबाजी गरेका छन् ।

रौतहटमा बन्द र प्रदर्शन जारी

रौतहटबाट गौतम श्रेष्ठले दिएको जानकारीअनुसार मंगलबार बिहानैदेखि रौतहट सदरमुकाम गौरमा मधेसी मोर्चाका नेता कार्यकर्ताले प्रदर्शन गरीरहेका छन् ।

बिहानैदेखि रौतहटको मध्यबजार गरुडा र सदरमुकाम गौरको विभिन्न चोकमा मोर्चा कार्यकर्ताले टायर बालेर नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन् । राजबिराजमा भएको घटनाको दोषीलाई कारवाहीको माग गर्दै मोर्चाका कार्यकर्तामाथि गरिएको दमनको उनीहरुले विरोध गरिरहेका छन् ।

मध्य बजार गरुडा बजारको मेथुर चौक, गंगापिप्रा, कटहरीया, पथरा, बडहर्वा, शिवनगर, शिवदेवचौकमा समेत मोर्चा कार्यकर्ताले प्रदर्शन गरेका छन् । उनीहरुले सदरमुकाम गौरको वीपी चोक एवं गौरको बजार क्षेत्रमा टायर बालेका छन् । अधिकांश सरकारी कार्यालयको काम प्रभावित भएको छ । गौरका निजी तथा सामुदायिक सबै शैक्षिक संस्था बन्द रहेको छ ।

सुरक्षा स्थिति बलियो बनाउन तथा शान्ति सुरक्षा कायम राख्न सबै सरकारी कार्यालय तथा मुख्य चोकहरुमा प्रहरीको टोली खटाइएको रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए । अहिलेसम्म कुनै पनि स्थानमा अपि्रय घटना नभएको उनले बताए ।

सप्तरी घटनाको विरोधमा मधेसी मोर्चाले गरेको दुई दिने बन्दलाई सफल पार्न तथा राजविराजमा मारिएकाहरुलाई शहिद घोषणा र घाइतेहरुलाई स्वास्थोपचार सहतिको व्यवस्था गर्न आफूहरुले माग गरेको सदभावना पार्टीका सहमहासचिव अजय गुप्ताले बताए । परिमार्जनसहित संविधान संशोधन र मोर्चाले उठाएका माग अविलम्ब सम्बोधन हुनुपर्ने उनले बताए ।

राजविराजमा प्रहरीको गोली लागेर प्रदर्शनकारीको मृत्युको खबर आएपछि आक्रोशित बनेका मोर्चा कार्यकर्ताले सोमबार बेलुका नेकपा एमालेनिकटको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष मणिशंकर निधीलाई गौरको वीपी चोकमा कालोमोसो दलेका थिए ।

भैरहवा आन्दोलित, बेलहिया नाकामा असर

सप्तरी घटनाको विरोधमा आहृवान गरिएको बन्दले भैरहवाको जनजीवन प्रभावित भएको छ । अनलाइनखबरकर्मी सलमान खानका अनुसार मोर्चाका नेता कार्यकर्ताहरुले भैरहवाको बुद्धचोकमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । बन्दकर्ताहरुको अवरोधका कारण सवारी साधन चल्न सकेका छैनन् ।

बन्दका कारण भैरहवाका बैंक, वित्तीय संस्था, उद्योग कलकारखाना बन्द छन् । छिटफुटमा साना पसलहरु खुल्नुका साथै भित्री मार्ग हुँदै मोटरसाइकल चलेका छन् । त्यस्तै बेलहिया नाका हुँदै नेपाल आउने यात्रुहरु पनि सीमा नाकामै अलपत्र परेका छन् ।

कपिलवस्तु पनि बन्द, तौलिहवाको होटल र गाडीमा तोडफोड

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले सप्तरी घटनाको विरोध गर्दै कपिलवस्तुमा पनि बन्द गरेका छन् । उनीहरुले तौलिहवाको मखन होटल र दुई वटा गाडीमा तोडफोड गरेका छन् ।

मोर्चाका कार्यकर्ताहरुले बजारका मुख्य चोकमा टायर बाल्दै प्रदर्शन गरिरहेका छन् । उनीहरुले सरकार र नेकपा एमालेका अध्यक्ष केपी ओलीविरुद्ध चर्का नाराबाजी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment