+
+

केपी ओलीको गृहजिल्लामा यस्ता छन् मेयरका आकांक्षी

झापाका आठवटै नगरपालिकामा चुनावी चहलपहल बढ्यो

गौरव पोखरेल गौरव पोखरेल
२०७३ फागुन २७ गते १०:२३

२७ फागुन, झापा । लामो समयको अन्यालपछि सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै झापा जिल्लाका राजनीतिक दलहरु निर्वाचनको तयारीमा जुटेका छन् । चिया पसलदेखि लिएर चोक बजारसम्म अहिले नगरको मेयरमा को उठ्ला भन्ने विषयमा बहस हुन थालेको छ ।

डेढ दशकपछि हुन लागेको निर्वाचनले जनतामा पनि उत्साह छाएको छ । जिल्लामै पहिलो पटक दमक नगरपालिकाको मेयरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य रेवतराज -गगन) पुरीले उमेेद्वारी घोषणा गरिसकेका छन् ।

योसँगै अन्य नगरपालिकाहरुमा पनि विभिन्न राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीब्र बनाएको छन् ।

केपी ओलीको गृह नगरमा यस्ता छन् आकाङ्क्षी

झापाको प्रमुख व्यापारिक केन्द्र मध्येको एउटामा पर्ने दमक ७ हजार ५ सय १३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वि.सं. २०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ७५ हजार १ सय २ छ ।

एमाले नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर भएकाले पनि यो नगरलाई विशेष महोत्सवका साथ हेर्ने गरिन्छ । यो क्षेत्रमा एमाले ठूलो शक्तिको रुपमा रहेको छ ।

पार्टी अध्यक्षको गृह नगरसँगै निर्वाचन क्षेत्र पनि भएकाले दमकमा एमालेलाई जित्नै पर्ने दवाव रहेको एमाले कार्यकर्ता बताउँछन् ।

यस क्षेत्रमा एमालेको तर्फबाट सबैभन्दा बलियो उमेद्वारको रुपमा रोमनाथ ओलीको चर्चा गरिन्छ । दमकका पूर्व मेयर समेत रहेका उनी एमालेका पुराना नेता हुन् । उनको केपी ओलीसँग नजिकको सम्बन्ध रहेको बताइन्छ ।

नेपाली कांग्रेसबाट शेरबहादुर भट्टराई, क्षेत्रीय अध्यक्ष ढुण्डराज भण्डारी, युवा नेता भूमिराज राई, देवीप्रसाद दाहाल, रोशन विष्ट, रेगिना भट्टराई, राजन ढुङ्गाना, प्रकाश बुढाथोकी, दीलबहादुर बुढाथोकी, पर्शुराम रिजाल र प्रकाश प्रसाईं मेयरको सम्भावित उमेद्वार हुन् ।

एमालेबाट मेयर पदका लागि अन्य आकाङ्क्षीमा इन्द्र बुढाथोकी, अम्बिका खनाल, होमबहादुर थापा, केन्द्र प्रसाईं, गणेश बस्नेत र ईन्द्र भण्डारीको चर्चा छ । एमालेले सर्वसम्मत रुपमा मेयरको उमेद्वार छानेमा ओलीको नाम आउने कार्यकर्ता बताउँछन् ।

माओवादी केन्द्रबाट गगन पुरीले उमेद्वारी घोषणा गरिसकेका छन् । त्यस्तै, राप्रपाबाट राम थापाको नाम चर्चामा छ ।
‘राप्रपाबाट मेयरको उमेद्वारको रुपमा राम थापाको विकल्प छैन’, एक कार्यकर्ताले भने, ‘अन्य ठूला दलका लागि उनी चुनौति पनि हुन् ।’

थापा यसअघि व्यवस्थापिका संसद्को पनि उमेद्वार बनेका थिए । उनी पूर्व मेयर समेत हुन् ।

विर्तामोड नगरपालिका

झापाको मध्य भागमा रहेेको महत्वपूर्ण वाणिज्य केन्द्रको रुपमा स्थापित विर्तामोडमा अनारमनी, चारपाने र गरामनी गाविसलाई गाभेर नगरपालिका बनाइएको हो ।

पछिल्लो जनगणना अनुसार अनारमनी, चारपाने र गरामनीको जनसङ्ख्यालाई जोड्दा विर्तामोडको जनसङ्ख्या ६० हजार १ सय ७४ छ । महेन्द्रराज मार्गसँग जोडिएको सहर विर्तामोडलाई झापाको मुटु पनि भनिन्छ ।

विर्तामोडमा नेपाली कांग्रेसबाट भोजराज सिटौलाको नाम चर्चामा छ । उनी नगर समिति अध्यक्ष समेत हुन् ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका भतिज भएकाले पनि उनी ‘पावर’ को हिसाबले अगाडि छन् । उनी डिल्ली सिटौलाका छोरा हुन् । भोजराज नेपाल वक्सिङ संघका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

कांग्रेसबाटै अर्को आकाङ्क्षी हुन्, जलकुमार गुरुङ । उनी नेपाली कांग्रेसका जिल्ला समिति सदस्य हुन् ।

साथै, उनी झापा जिल्ला फुटबल संघका र विर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष पनि हुन् ।
हर्कलाल गिरी पनि मेयरका आकाङ्क्षी हुन् । उनी अनारमनी गाउँ पञ्चायतका प्रधानपञ्च समेत थिए । त्यसपछि अनामनी गाविसका अध्यक्ष समेत भए ।

कांग्रेसबाट मेयरको अन्य आकाङ्क्षीमा युवराज विमली, कपिल शिवाकोटी, देवी गिरी, रामलाल उप्रेती लगायतको नाम चर्चामा छ ।

नेकपा एमालेबाट मेयरका लागि ध्रुव शिवकोटी, एकराज कार्की, ज्ञानु प्रसाईं, लोकबन्धु कन्दङ्वा र प्रेम सिटौलाको नाम चर्चामा छ ।

शिवाकोटी अनारमनी गाविसका पूर्व अध्यक्ष हुन् । सामाजिक व्यक्तित्वको रुपमा परिचित उनी माछापालन व्यवसायमा पनि संलग्न छन् ।

अर्का आकाङ्क्षी कार्की गरामनी गाविसका अध्यक्ष भइसकेका छन् । उनी सुकुम्बासी समस्या समाधान आयोग, झापाका पूर्व अध्यक्ष समेत हुन् ।

प्रसाईं एमालेका नगर अध्यक्ष हुन्. भने लोकबन्धु कन्दङ्वा शिवाकोटी अनारमनीमा अध्यक्ष भएका वेला उपाध्यक्ष थिए । सिटौला चारपानेका पूर्व अध्यक्ष हुन् ।

यस्तै, एमालेबाट पुराना कार्यकर्ता हरिचरण शिवाकोटी र तेजबहादुर कन्दङ्वाको पनि चर्चा छ ।

त्यस्तै, माओवादी केन्द्रबाट सीपी कडरिया मेयरको बलियो आकाङ्क्षी भएको एक कार्यकर्ताले बताए । उनको नाम माओवादी केन्द्रको आकाङ्क्षीको सबैभन्दा अगाडि छ ।

कडरिया माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला समितिको विकास निर्माण विभागका संयोजक समेत हुन् । त्यस्तै, झलकसिंह दर्लामी (सन्देश) पनि मेयरको आकाङ्क्षी भएको चर्चा छ । उनी माओवादी शसस्त्र द्वन्द्व ताकाका सक्रिय लडाकु हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग उनको राम्रो पहुँच रहेको दावी गरिन्छ । माओवादीबाटै ज्योतिसिंह दर्लामी मगरको नाम पनि मेयरमा चर्चा गरिन्छ ।

राप्रपाबाट भने भक्ति सिटौला र राजकुमार पोखरेलको नाम चर्चामा छ । सिटौला व्यवस्थापिका संसद्को निर्वाचनमा क्षेत्र नंं. २ बाट उठेका थिए ।

लामो समयसम्म नेविसंघमा रहेर विद्यार्थी राजनीतिमा सक्रिय उनी पछि कांग्रेसको मुल प्रवाहको राजनीतिमा आएका आएका थिए । तर, उनका आफन्त नेता कृष्णप्रसाद सिटौलासँगको आन्तरिक मतभेदका कारण सिटौला कांग्रेस छाडेर राप्रपामा आएका थिए । पोखरेल राप्रपाका केन्द्रीय सदस्य हुन् ।

मेचीनगर नगरपालिका

नेपालको पूर्वी सीमानामा रहेको मेचीनगर नगरपालिका ५ हजार ७ सय ७२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जिल्लाको दुई प्रमुख व्यापारिक केन्द्रहरु काँकडभिट्टा र धुलावारी मेचीनगर नगरपालिका अन्तरगत रहेको भारत र बंगलादेशसँग व्यापार गर्ने देशकै प्र्रमुख नाका हो ।

मेचीनगर नगरपालिकामा नेपाली कांग्रेसबाट अशोक पोखरेल, विमल आचार्य, राम कट्टेल र मणिकुमार उप्रेतीको नाम चर्चामा छ । पोखरेल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।

आचार्य कांग्रेसका महासमिति सदस्य हुन् भने कट्टेल जिल्ला उपसभापति र उप्रेती क्षेत्रीय सभापति हुन् ।
एमालेबाट विष्णु प्रसाईं, गोपाल बुढाथोकी, डिल्ली घिमिरे लगायतको नाम चर्चामा रहेको छ । प्रसाईं एमालेका पूर्व राष्ट्रिय परिषद् सदस्य हुन् भने बुढाथोकी जिल्ला समिति सदस्य हुन् ।

त्यस्तै, घिमिरे झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष हुन् । साथै, उनी एमालेका पूर्व जिल्ला कमिटी सदस्य समेत हुन् ।

राप्रपाबाट अशोक सुब्बा मेयरको सम्भावित उमेद्वार हुन् । उनी राष्ट्रिय परिषद् सदस्य समेत हुन् । त्यस्तै, पूर्व मेयर कल्याण खड्का पनि मेयरका आकाङ्क्षी हुन् ।

भद्रपुर नगरपालिका

झापा जिल्लाको सदरमुकाम समेत रहेको भद्रपुर नगरपालिका मुलुककै पुरानो नगरपालिकाहरु मध्ये एक पर्छ । यो ननगरपालिकामा जिल्लाकै एक मात्र विमानस्थल पनि पर्छ । मेची नदीको दायाँ किनारमा पर्ने यो नगरपालिका विभिन्न कुराले सम्भावनायुक्त छ ।

भद्रपुरमा कांग्रेसबाट राजेन्द्र घिमिरे, गणेश पोखरेल र चण्डी पराजुलीको नाम चर्चामा छ । घिमिरे झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, पोखरेल कांग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सभापति एवम् पराजुली उद्योगी, व्यवसायी हुन् ।

एमालेबाट जीवन श्रेष्ठ, असारु राजवंशी, पुष्पराज पोखरेल र चन्द्रा श्रेष्ठ मेयरका आकाङ्क्षी हुन् । श्रेष्ठ पूर्व उपमेयर, राजवंशी भद्रपुर नगर संयोजक, पोखरेल पूर्वसांसद् एवम् मेयर र चन्द्रा एमालकी जिल्ला समिति उप-सचिव एवम् अनेम संघकी जिल्ला सचिव हुन् ।

त्यस्तै, राप्रपाबाट विश्वनाथ श्रेष्ठको नाम चर्चामा छ । उनी यस क्षेत्रका उद्योगी हुन् ।

कनकाई नगरपालिका

साविक सुरुङ्गा र घैलाडुब्बा गाविस गाभिएर २०७१ साल जेठ ४ गते कनकाई नगरपालिका बनेको हो ।

नेपाली कांग्रेसले यस नगरपालिकामा रमेश श्रेष्ठ, रुद्रप्रसाद चिमरिया, एकराज उप्रेती, नेत्रप्रसाद चिमरिया र लीलाबहादुर कटुवाल मध्ये एकलाई मेयरमा उठाउने चर्चा छ ।

श्रेष्ठ कांग्रेसका महासमिति सदस्य, चिमरिया पूर्व जनप्रतिनिधि र उप्रेती कांग्रेसका सन्तुलित र माथिल्लो तहमा पनि लबिङ गर्न सक्ने खुबी भएका नेता मानिन्छन् ।

चिमरिया पार्टीका नगर सभापति हुन् भने कटुवाल पूर्व नगर सभापति हुन् ।

एमालेबाट मेयर पदका लागि हिराकुमार थापा, कोमलप्रसाद पन्त, खेमनाथ मिश्र, चन्द्रमोहन उप्रेती र राजेन्द्रकुमार पोखरेल सम्भावित उमेद्वार हुन् ।

थापा ०३६ सालको विद्यार्थी आन्दोलनदेखि कम्युनिष्ट आन्दोलनमा पनि जोडिएका पुरा नेता हुन् । पन्त एमाले कनकाई नगर कमिटीका अध्यक्ष हुन् भने मिश्र ०३५सालको विद्यार्थी आन्दोलनबाट वामपन्थी आन्दोलनमा सरिक भएका थिए । उनी हाल जिल्ला कमिटी सदस्य समेत छन् ।

उप्रेती जिल्लाका सक्रिय युवा नेता तथा पोखरेल ०४९ देखि ०५४ सम्मका सुरुङ्गा गाविसका निर्वाचित उपाध्यक्ष हुन् ।
त्यस्तै, माओवादी केन्द्रबाट नगर इञ्चार्ज गोपाल प्रसाईं र नगर संयोजक चन्द्रमान कन्दङ्वा मेयरका आकाङ्क्षी हुन् ।
त्यस्तै, ०४९ र ०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनबाट अध्यक्षमा विजयी भएका भीमप्रसाद अधिकारी पनि मेयरमा उठ्ने चर्चा छ । नेकपा एमाले परित्याग गरी अहिले उनी स्वतन्त्र रुपमा बसेका छन् ।

शनिअर्जुन नगरपालिका

साविक शनिश्चरे र अर्जुनधारा गाविस गाभिएर बनेको शनिअर्जुन नगरपालिकामा पूर्वकै एक प्रमुख धार्मिक एवम् पर्यटकीय स्थल अर्जुनधारा धाम पनि पर्छ । र, यहाँ पर्ने शनिश्चरे जिल्लाकै पुरानो बजार मध्येमा पर्छ । त्यसैले यो नगरपालिका धार्मिक तथा पर्यटकीय स्थल र पुरानो व्यापारिक क्षेत्रको रुपमा चर्चित छ ।

शनिअर्जुनमा नेपाली कांग्रेसबाट हेमराज खरेल, सरस्वती सिटौला, मोहन काफ्ले, मदन बुढाथोकी र कुमार भट्टराई मध्ये एक उठ्ने सम्भावना बढी छ ।

खरेल कांग्रेसका नगर सभापति, सिटौला जिल्ला समिति सदस्य, काफ्ले पूर्व नगर सभापति, बुढाथोकी तरुण दलका पूर्व केन्द्रीय सदस्य तथा भट्टराई नगर विकास समितिको संयोजक एवम् सञ्चारकर्मी समेत हुन् ।

एमालेबाट हरि राना, कुन्दन भट्टराई र प्रेम सागर सापकोटा मेयरमा उठ्न सक्ने सम्भावना छ । राना ४ नम्बर क्षेत्रका क्षेत्रीय अध्यक्ष, भट्टराई जिल्ला समिति सदस्य र सापकोटा नगर अध्यक्ष हुन् ।

माओवादीबाट संयन्त्र सदस्य केशव खड्का र नगर अध्यक्ष भुपेन्द्र तिम्सिना मेयरका आकाङ्क्षी हुन् ।

राप्रपाबाट संयन्त्र सदस्य सूर्य खतिवडा र नगर अध्यक्ष छविलाल लम्सालको चर्चा छ भने नयाँ शक्तिबाट श्याम घिमिरे मेयरमा उठ्ने लगभग पक्का भएको कार्यकर्ता बताउँछन् ।

शिवसताक्षी नगरपालिका

साविक सतासीधाम र शिवगञ्ज गाविस गाभिएर बनेको शिवसताक्षी नगरपालिकाको कुल जनसङ्ख्या ३९ हजार ६ सय ८९ छ । यो नगरपालिकामा चर्चित धार्मिक एवम् पर्यटकीय क्षेत्र सताक्षी धाम पनि पर्छ ।

शिवसताक्षी नगरमा नेपाली कांग्रेसबाट पर्शुराम ढुंगाना, विनोद ढकाल, अरुण थापा, गोविन्द अधिकारी लगायतको नाम चर्चामा छ ।

ढुंगाना कांग्रेसका नगर सभापति, ढकाल धरपुर गाविसका सभापति, थापा पाँचगाछीका सभापति एवम् अधिकारी महाधिवेशन प्रतिनिधि हुन् ।

नेकपा एमालेबाट राधाकृष्ण खनाल, होम गौतम, खोदनाथ चापागाईं, चन्द्र शेर्मा, भोजकुमारी नेपाल, धनबहादुर थेबे, श्रीप्रसाद खरेल, रोशन थोप्राको नाम चर्चामा छ ।

खनाल अवकास प्राप्त शिक्षक, गौतम झापा आन्दोलनमा समेत सहभागिता जनाएका जिविसका पूर्व सदस्य, चापागाई अवकाश प्राप्त शिक्षक, शेर्मा आदिवासी जनजाति महासंघका पूर्व जिल्ला समिति उपाध्यक्ष एवम् पूर्व जिल्ला सदस्य, नेपाल, जिल्ला समति सदस्य, थेबे नगर अध्यक्ष, खरेल शिक्षक एवम् थोप्रा क्षेत्र नं. ५ का क्षेत्रीय उपाध्यक्ष हुन् ।
माओवादी केन्द्रंबाट ढुण्डिराज गुरागाईंको नाम चर्चामा छ । गुरागाईँ नगर इञ्चार्ज हुन् ।

त्यस्तै, राप्रपाबाट डिल्ली फेम्बु र रामबहादुर श्रेष्ठ उठ्ने सम्भावना छ । फेम्बु राप्रपाका पुराना नेता हुन् । श्रेष्ठ शिवसताक्षी नगरका अध्यक्ष छ ।

गौरादह नगरपालिका

दमक र गौरीगञ्जको मध्यभागमा पर्ने गौरादह नगरपालिका महारानीझोडा, जुरोपानी, कोहवरा र साविकको गौरादह गाविस पर्छ ।

गौरादहमा नेपाली कांग्रेसबाट रोहित शाह, यादव सेढाईँ र हेमन्त कार्कीको नाम चर्चामा छ । ‘तीन जना आकाङ्क्षीहरु मध्ये पनि रोहित शाहको चर्चा बढी सुनिन्छ’, एक जना कांग्रेसका कार्यकर्ताले भने ।

त्यस्तै, नेकपा एमालेबाट मदन अधिकारी, नगेन्द्र भण्डारी, दुर्गा गौतम, योगराज दाहाल, बलराम खरेल लगायतको नाम चर्चामा छ । आदिवासी जनजातिको पुरानो कार्यकर्ताको रुपमा चन्द्र सुब्बाले आफ्नो दाबेदारी बलियो रुपमा राख्ने बताइन्छ ।

त्यस्तै, माओवादी केन्द्रबाट पुष्प ढकाल र शेरबहादुर कार्कीको नाम चर्चामा छ भने राप्रपाबाट अमर बिष्ट, खेम तिम्सिना, भुपेन्द्र ढुगाना, भीमबहादुर कार्की लगायतको नाम चर्चामा छ ।

 

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?