Comments Add Comment

पानीघट्टबाट विद्युतीकरण गरेपछि फेरियो मैनाघाटको मुहार


३ चैत, कावासोती । नवलपरासीको मैनाघाट-१का वासिन्दा दामुङखोलामा सुधारिएको पानीघट्टबाट विद्युतीकरण भएपछि उत्साहित भएका छन् । आयोजनाको निर्माण सकिएपछि उनीहरु रातमा विजुलीको उज्यालोमा बस्न पाएका छन् ।

हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफले दामुङ्कखोलामा सुधारिएको पानीघट्टमार्फत विद्युतीकरण गरेपछि चार किलोवाट बिद्युतबाट त्यहाँका ३६ घर धुरी लाभान्वित भएका छन् ।

मैनाघाट-१ का जनता अझैपनि अध्यारोमा बाच्न बाध्य थिए । उनीहरु शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका आधारभूत अधिकार समेतबाट बन्चित पनि छन् ।

अब मैनाघाटबासीले बिजुली बत्ती बाल्न मात्र नभएर टेलिभिजन हेर्न फ्रिज चलाउन र आर्थिक अवस्था सुधार गर्न बिभिन्न ब्यवसायसमेत गर्न सक्नेछन् ।

यो आयोजनामा नेदरल्याण्ड र जर्मन सरकारको आर्थिक सहयोग छ भने ग्रामीण ऊर्जा तथा प्रविधि सेवा केन्द्रले प्राबिधिक सहयोग गरेको छ । स्थानीय श्रमदान समेत गरी २७ लाख ३७ हजार रुपैयाँको लगानीमा निर्माण भएको सो आयोजना समुदायमा हस्तान्तरण भएको छ ।

साथै परियोजनाको तर्फबाट २ जना किसानलाई ब्यवसायिक कुखुरा पालन गर्न चल्ला र आवश्यक सामाग्री समेत बितरण गरिएको छ । सँगै फर्निचर व्यवसाय सुरु गर्न फर्निचर बनाउने सामाग्री समेत वितरण गरिएको हिमालयन सामुदायिक बिकाश मञ्च हिकोडेफका कार्यकारी निर्देशक सुरबिर स्थापितले जानकारी दिए ।

यहाँका बासिन्दाले अध्यारोबाट मुक्ति पाए पनि शिक्षा, स्वास्थ्य, बाटो लगायतका भौतिक पूर्वाधारहरुको विकास हुन आवश्यक रहेको समेत उनले बताए ।

ब्यवसायिक कुखुरा पालनका लागि कुखुराको चल्ला र कुखुरा पालनका लािग सामाग्री पाएपछि धनबहादुर सोमै र भागीराम ढेगा अत्यन्तै खुसी छन् ।

उनीहरू भन्छन्, ‘दामुङखोला सुधारिएको पानीघट्ट विद्युतीकरण आयोजना उज्यालोको लागि मात्र सीमित नभै हाम्रो जीबन स्तर सुधार्न पनि प्रयोग हुने छ ।’

गाउँमा उज्यालो भित्रिएसँगै अब ढिकी र जाँतोमा सीमित महिलाहरुको कार्यबोझ पनि कम हुने भएको छ । सो आयोजनामा पिसानीको लागि घटट् समेत जडान भएपछि घन्टौं लगाएर जातोमा पिसानी गर्नुपर्ने अवस्थाको समेत अन्त्य भएको छ ।

स्थानीय बासीन्दा लालमाया सोमै भन्छिन्, ‘अब त सजिलो हुने भो । बिहानै उठेर जाँतो नचलाए खान-खुवाउनै पाइँदैनथ्यो अब भने घट्टमा अन्न लगेर पिसाउन पाइन्छ ।’

त्यस्तै देबी ढेगा मगरको पनि खुशीको सीमा छैन । उनी भन्छिन्, ‘आजसम्म न बिजुली थियो न कुटानी पिसानी गर्ने मिल नै । अब भने हाम्रो पनि दिन फेरिने भयो ।’

मैनाघाट १ का धेरै युवा श्रम बेच्न भारत गएका छन् । त्यस्तै साउदी, मलेशिया लगायतका खाडी देश जानेको पनि संख्या पनि कम छैन । विद्युतीकरण भएपछि गाउँको महार फेरिने अवस्था आएको परियोजना संयोजक अच्युत खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment