+
+

किन बढ्दैछ जग्गाको मूल्य ? सुकुम्बासी हुन थाले किसान !

समृद्धि क्रान्तिः भिडियो ब्लग

अरुणकुमार सुवेदी अरुणकुमार सुवेदी
२०७३ चैत ८ गते ११:१२

नेपालमा कुनै पनि पूर्वाधार परियोजना तथा वित्तीय संस्थामा मानिसहरुले सेयर लगानी गरिरहेका छन् । यो भनेको विकासका योजनाहरुमा साधारण जनताको लगानी हो । आयोजना/परियोजनाहरुमा आम नागरिकले जति धेरै लगानी गर्न सक्यो, त्यति ठूला आयोजना बन्ने हो ।

सरकारले उर्जा विकासका लागि जनताको सेयरमा ठूला जलविद्युत आयोजना बनाउने महत्वाकांक्षी योजना ल्याएको छ । तर, रोजगार भएकाहरुले पनि घरजग्गामा धेरै लगानी गरेका छन् । जसकारण लगानीका लागि पुँजी निर्माण हुन सकिरहेको छैन । यदि शिक्षा, स्वास्थ्य र आवास सस्तो हुने हो भने विकासमा लगानी बढ्छ । जति नागरिकसँग लगानी गर्ने पैसा हुन्छ, उति ठूलो आयोजना बन्छ ।

अहिले काठमाडौंको रिमोट ठाउँमा एक आना जग्गाको १० लाख रुपैयाँ पर्न थालिसक्यो । एक स्वायर फिट जमिनको ४ हजार पर्न थालिसक्यो । जमिनै यति महंगो भएपछि घर बनाउन झन महंगो पर्छ । काठमाडौं लगायत देशका सहरमा घर हुनु भनेको मध्यमवर्गीय परिवारलाई दुर्लभजस्तै भइसक्यो । आखिर जग्गाको मूल्य किन यसरी बढ्छ ?

अर्थमन्त्रीले बढी कर उठाउन चाहन्छन् । बढी कर उठाउन दुई नीति अपनाउँछन् । एक, नेपाली मुद्रा क्रमशः अवमूल्यमा पठाउने । जसको असर हाम्रो आयात भएका सामानको मूल्य बढ्छ, भन्सार बढी उठ्छ ।

नेपालमा ४० देखि ४५ लाख घरपरिवार निम्नमध्यम वित्तीय अवस्थाका छन् । ती सबैले काठमाडौंमा एउटा घर बनाउने हो भने पनि सबैलाई पुग्छ । तर, यहाँ एकै व्यक्तिका ५/७ वटा घर छन् । किन चाहियो त्यो ? यसले नेपालीको लगानी उत्पादनशील क्षेत्रमा नगएर घरघडेरीमा गएको पुष्टि गर्छ । सुरक्षित लगानी भनेर अनुत्पादक क्षेत्रमा बढेको लगानी घटाउन सरकारले निरुत्साहित नगर्ने हो भने समस्या झन् जटिल बन्छ ।

अहिले १ हजार स्क्वायर फिटको घर बनाउने हो भने ७० लाख रुपैयाँ खर्च हुने स्थिति छ । यसबाट मासिक १५/२० हजार भाडा आउँछ । तर, ब्याजमा लगाउने हो भने ७०/८० हजार रुपैयाँ आउन सक्छ ।

जब तपाईंले गरेको लगानीको ब्याजको २० प्रतिशत मात्रै उठ्ने ठाउँमा लगानी केन्दि्रत भएको छ भने मुलुकको विकास कसरी हुन्छ ? यसरी जनताको लगानी नकारात्मक क्षेत्रमा बढिरहेको छ । तर, जग्गामा लगानी गर्नेहरुले पैसा कमाइरहेकै छन् । किनकि, जमीनको मूल्य बढेको छ । यसमा माग र आपूर्तिमात्रै होइन, हाम्रो देशमा उद्योगहरु कम भएका कारण कर पनि कम उठ्छ ।

अर्थमन्त्रीले बढी कर उठाउन चाहन्छन् । बढी कर उठाउन दुई नीति अपनाउँछन् । एक, नेपाली मुद्रा क्रमशः अवमूल्यमा पठाउने । जसको असर हाम्रो आयात भएका सामानको मूल्य बढ्छ, भन्सार बढी उठ्छ । दोस्रो, जमिनको पटकपटक बिक्री हुने बनाउने । जति बेच्यो, कर बढी उठ्छ । यसमा सबै राजनीतिक दलको सहमति छ । नीति निर्माण तहबाटै यसलाई सम्बर्द्धन गरिएको छ ।

बैंकहरुले पनि घरजग्गामा कर्जा दिने गर्छन् । जनता र देशको अहित हुने ठाउँमा केही व्यपारीको हितमा बैंकहरुले कर्जा दिन्छ । एक पटक जग्गा धितो राखेर १० करोड कर्जा दियो, अर्को बैंकले अर्को वर्ष १५ करोड दिन्छ । एउटै जग्गाका लागि बैंकहरुले बर्सेनी कर्जाको अनुपात बढाइरहेका छन् । यसले गर्दा उद्योगपतिहरुले चाहिँं ऋण पाइरहेका छैनन् ।

उत्पादनशील क्षेत्रमा काम गर्नेले कर्जा नपाउने स्थितिले समस्या बढिरहेको छ । जग्गा दलाल, बैंक र सरकारको स्वार्थले आमजनताको विपरीत काम गरिरहेका छन् ।
जग्गाको मूल्य बढ्नुमा अर्को कारण हो, नेपालमा खेल्न चाहने विदेशीहरुले पनि जग्गमा लगानी बढाइरहेका छन् । उनीहरुले जग्गा निजीकरण गर्न दबाव दिन्छन् । तर, उनीहरुकै देशमा एउटा व्यक्तिले एउटा सहरमा एउटा मात्रै घर राख्न पाउँछ, दोस्रो वा तेस्रो घर बनाउन पाउँदैन । बनाउने हो भने पनि कर र कर्जाको ब्याजदर बढी बनाइएको हुन्छ ।

आर्थिक रुपमा चेतनशील मान्छेले पैसा कुहाएर राख्दैन, उ लगानी गर्न चाहन्छ । तर, लगानी गर्ने ठाउँ नदेख्दा जग्गामा लगानी बढेको छ । अहिले त उद्योगका लागि जग्गाकै अभाव हुन थालेको छ । प्रतिस्पर्धात्मक उत्पादन बढाउन लगानी गर्न भन्दा जग्गाकै मूल्य बढ्यो । जग्गा किन्नै नसक्ने भएपछि औद्योगिक विकास हुँदैन । यस्तो आर्थिक अराजकताले मुलुकको विकास हुँदैन ।
नेपालमा खेलेर अन्तर्राराष्ट्रिय राजनीति विस्तार गर्नेहरुको पनि यसमा भूमिका छ । र, हाम्रा नीति निर्माण तहमा रहेकाहरुले पनि उनीहरुले चाहेजस्तै नीति बनाएका छन् ।

बैंकहरुको कमजोरी कहाँनेर छ ?

अर्को रहस्य, बैंकको धीतो प्रणाली हो । बैंकले उद्योगमा लगानीका लागि आएको प्रस्तावका आधारमा ऋण दिन्छ । तर, नेपालमा उद्योगको भविष्य भन्दा पनि धीतोका आधारमा बैंले ऋण दिन्छ । ठूला उद्योगमा त्यो स्थिति अलि कम छ, तर आम नागरिकलाई स्वरोजगार हुन भने धीतो बिना कर्जा पाउँदैन । जसकारण युवाहरु विदेश पलायन भएका छन् ।

अहिले मेचीदेखि महाकालीसम्मै ठूला औद्योगिक घरनाकाहरु ठूला जमिनदारमा पर्छन् । उनीहरु उद्योग छाडेर घरजग्गामा लागेका छन् । उद्योग डुबे पनि जग्गाबाट उक्सिएका छन् । किसानको नाममा हुनुपर्ने जमिन व्यपारिक घरनाकोमा गयो । यो रोग तराई क्षेत्रमा झन् बढेको छ ।

कृषियोग्य जमिन उद्योगपतिमा नाममा हुँदा धेरैजसो जमिन बैंकमा छ । जसले धेरैलाई सुकुम्बासी बनाउँदैछ । यो निकै डरलाग्दो विषय हो ।

किसानहरु पनि कृषियोग्य जमिन धीतो राखेर कर्जा लिइरहेका छन् । कृषि विकास बैंकको लिलामीको सूची हेर्ने हो भने कृषकका जग्गा धेरै पर्न थालेका छन् । किसानहरु सुकुम्बासी बनिरहेका छन् ।

कृषियोग्य जमिनलाई धितोका रुपमा प्रयोग गर्दा यस्ता विकृतिहरु आएका छन् । यो विकृतिले जमिन खण्डीकरण बढिरहेको छ, जसको फाइदा चङ्खे व्यापारीले उठाइरहेका छन् । दलालहरुले जग्गाको बढी खरिद बिक्री गराउँदै मूल्य बढाएर कढी कर्जा लिन पाउँछन् ।
यसरी सरकार र दलालहरुको मिलेमतोमा जग्गाको मूल्य अप्राकृतिक ढंगमा गोरखधन्दा बढिरहेको छ । जसले हाम्रो उत्पादनशील क्षेत्र क्षय भएको छ । यो अत्यन्त सोचनीय विषय हो ।

भिडियो हेर्नुहोस्

 

लेखकको बारेमा
अरुणकुमार सुवेदी

अर्थ राजनीतिक बिषयमा बिश्लेषण गर्ने सुवेदी जलस्रोतका जानकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?