Comments Add Comment

अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका शीर्ष नेता मारिए

१३ चैत, काठमाडौं । अलकायदाका शीर्ष आतंकवादी नेता कारी यासिन अमेरिकी ड्रोन आक्रमणमा मारिएका छन् । पूर्वी अफगानिस्तानमा १९ मार्चमा भएको आक्रमणमा उनी मारिएको पेन्टागनले जनाएको छ ।

यासीनमाथि थुप्रै आतंकवादी हमलाको षडयन्त्र गरेको आरोप छ । यसैगरी दुई अमेरिकी नागरिकको हत्या गरेको अभियोग पनि उनीमाथि रहेको रोयटर्सले जनाएको छ ।

इस्लामावादको मेरियट होटलमा २० डिसेम्बर २००८ मा भएको बम विष्फोटमा यासीनलाई जिम्मेवार ठहर्‍याइएको छ । उक्त विष्फोटमा अमेरिकी वायु सेना नौसेनाका दुई जवान मारिएका थिए ।

यसैगरी २००९ मा लाहौरमा श्रीलंकाको क्रिकेट टिमलाई बोकेको बसमाथि भएको आक्रमणमा पनि उनको संलग्नता रहेको बताइन्छ । उक्त घटनामा ६ पाकिस्तानी प्रहरी तथा दुई सर्वसाधारणको मृत्यु भएको थियो । हमलामा क्रिकेट टोलीका ६ सदस्यहरु घाइते भएका थिए ।

अमेरिकी रक्षामन्त्री जिम मेटिसले भनेका छन्, ‘कारी यासिनको मृत्यु इस्लामलाई बदनाम गर्ने आतंकवादीविरुद्ध कडा कारवाहीको प्रमाण हो ।’

निर्दोष व्यक्तिहरुलाई सुनियोजित रुपमा निशाना बनाउने आतंकवादी न्यायको कठघराबाट बच्न नसक्ने उनले बताए ।

कारी यासीनको सम्वन्ध तहरीक-ए तालिवानसँग रहेको पेन्टागनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अमेरिकाले विगत चार वर्षदेखि यासीनको खोजी गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment