Comments Add Comment

कसले चढ्ला भरतपुर महानगरपालिकामा डेढ करोडको गाडी ?

प्रचण्डको घर, कांग्रेसको जनाधार र एमालेको पहिलो बन्ने मिसन

१८ चैत, चितवन । विगत दुई वर्षमा नै नगरपालिकाबाट उपमहानगरपालिका हुँदै महानगरपालिकामा ‘बढुवा’ भएको भरतपुर महानगरपालिकामा स्थानीय तहको निर्वाचन नजिकिएसँगै मेयर बन्न राजनीतिक पार्टीका नेताहरुको दौडधुप सुरु भएको छ । यो महानगरपालिकामा जसले जित्नेछ, यसले डेढ करोडको गाडीमा हिँड्न पाउने छ ।

भरतपुर महानगरपालिकाका मेयरले वार्षिक झण्डै २ देखि ३ अर्बसम्मको स्रोत परिचालन गर्न पाउँछन् । साथै विवादका बीचमा तत्कालीन कार्यकारी अधिकृत नारायण सापकोटाले भित्र्याएको झण्डै डेढ करोड रुपैयाँभन्दा महंगो गाडी चढ्ने रहर जागेका कारणले पनि सबैले आ-आफ्ना तुरुप र हत्कण्डा अपनाउन थालेका हुन् ।

नारायणगढ-मुग्लिन सडक खण्डको जाम सहेर नै होस् वा महंगो टिकट लिएर हवाइ मार्ग प्रयोग गर्दै किन नहोस्, राजधानी काठमाण्डौंमा नेताका घरदैलोमा अनि पार्टी कार्यालयहरूमा धाउने आकांक्षीहरुको लर्को लाग्न थालेको छ ।

भरतपुरभन्दा पहिल्यै उपमहानगरपालिका भएका वीरगञ्ज र बिराटनगरलाई उछिन्दै महानगरपालिका बन्न सफल भरतपुरको मेयर हुत्याउने कांग्रेस, एमाले र माओवादीको विषेश दौडधुप देखिएको छ ।

सांसदले पाउने विकास बजेट भन्दा पनि ठूलो बजेट परिचालन गर्न पाउने, कार्यकर्तालाई कर्मचारी बनाउन सक्ने अवसरहरु पनि रहेका कारण मेयरमा विभिन्न दल निकटका नेताहरुको टकराव शुरु भएको छ ।

भरतपुर महानगरपालिकामा एक नगर अध्यक्ष (मेयर) सहित एक सय ५० जनाप्रतिनिधि चयन हुनेछन् ।

कांग्रेसमा आंकाक्षीको लर्को, प्रतिष्ठाको सवाल


चितवनलाई कांग्रेसले आफ्नो बलियो आधार क्षेत्रका रूपमा लिँदै आएको छ । पूर्वी चितवनमा कांग्रेसको पकड कम भए पनि पश्चिम चितवनमा भने कांग्रेसको प्रभाव बढी छ ।

सोही कारणले पनि दिवंगत भएका कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले दोस्रो संविधानसभा निर्वाचनमा आफ्नो गृह जिल्ला बाँके भन्दा पहिला चितवन -४ नम्वर क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका थिए । ४ नम्वर क्षेत्रको सबै भूभाग भरतपुर महानगरपालिकाभित्र नै पर्छ । कांग्रेसको प्रभाव क्षेत्र भएका कारण जित्न सक्ने सम्भावना बलियो भएको दावी गर्दै कांग्रेसबाट मेयरका आकांक्षी पनि बढी नै देखिएका छन् ।

नयाँ महानगरको मेयरको दौडमा कांग्रेसका पूर्व पार्टी सभापति टेकप्रसाद गुरुङको नाम सबैभन्दा आगाडि छ । कांग्रेस चितवनभित्र संकट परेका बेला केन्द्रले समेत विश्वास गर्ने नेताका रूपमा टेकप्रसादलाई लिने गरिन्छ । यद्यपि पञ्चायती पृष्ठभूमि भएका कारण पनि उनलाई मन नपराउनेहरू कांग्रेसभित्रै छन् ।

नेपाली कांग्रेस चितवनको नेतृत्व युवा नेता जीतनारायण श्रेष्ठका हातमा छ । कांग्रेसभित्र युवाहरुलाई नेतृत्व प्रदान गर्नुपर्दछ भन्ने आवाज पनि जोडतोडले उठ्ने गरेको छ । यसमा सबैभन्दा अघि पार्टी उपसभापति कैलास कोइराला लागिरहेका छन् । पूर्वजिल्ला सभापति विकास कोइरालाका भाई कैलासले युवाहरुको हातमा नेतृत्व आउनुपर्ने भन्दै दौडधुपमा लागेका छन् ।

यस्तै अर्का युवा नेता दिनेश कोइराला, राजेश्वर खनाल लगायतका केही युवा नेताहरु पनि सानेपातिर टहलिँदै छन् । आकांक्षी दिनेश कोइरालालाई नेता कृष्णप्रसाद सिटौलाले मेयरमा अघि सार्न खोजेका छन् । कोइराला यसअघि जेसिसका राष्ट्रिय अध्यक्षसमेत बनेका थिए । उनी क्यान्सर अस्पताल सञ्चालक समितिको बोर्ड सदस्य पनि हुन् ।

यस्तै अर्का युवा नेता भरत गुरुङ, कांग्रेसका भरतपुर नगरसभापति भरत अधिकारी पनि मेयरको टिकट लिन कम्मर कसेर लागेका छन् । पार्टीको नगरसभापति भएकाले आफू मुख्य दाबेदार भएको उनले बताउँदै आएका छन् ।

कांग्रेसका अन्य आकांक्षीहरुमा देउवा गुटबाट प्रकाश अधिकारी र मिलनबाबु श्रेष्ठ कस्सिएका छन् । श्रेष्ठकी श्रीमती अञ्जनी श्रेष्ठ समानुपातिकबाट सांसद छिन् ।

त्यसैगरी जग्गा व्यवसायी विजय शर्मा भुसाल, बखानसिंह गुरुङको लिगेसी बोकेका तोपमानसिंह गुरुङ र कृषि तथा वनविज्ञान विश्वविद्यालयका पूर्वरजिष्टार एवम् नेविसंघका पूर्वनेता सूर्यकान्त घिमिरेले पनि मेयरमा दाबी पेश गरेका छन् । घिमिरले रामचन्द्र पौडेल लबी समातेका छन् ।

मेयरमा कांग्रेसले पुरुषलाई उठाउने लगभग पक्कापक्की छ । उपमेयरमा महिला नेतृहरू सरिता केसीलगायतले दाबी गरेका छन् ।

पार्टीमा देखिएको तीन धारले गर्दा मेयरको टिकट कुन नेता निकटले पाउन सक्छ भन्ने विषयमा टुंगो नलागेको कांग्रेसका एक नेताले जानकारी दिए । पार्टीमा मेयर र उपमेयरका विषयमा अहिले कुनै पनि प्रकारको निर्णय नभएको जिल्ला सचिव उत्तम जोशीले जानकारी दिए ।

हरेक पार्टीमा पश्चिम चितवनलाई मेयरको टिकट दिँदा नारायणगढ वा भरतपुरको केन्द्रीय भागमा बस्नेलाई उपमयेरको टिकट दिएर सन्तुलन मिलाउनुपर्ने दवाब छ । भेगीय हिसाबले उम्मेदवार मिलाउनुपर्ने भएका कारणले गर्दा पनि एकै ठाँउमा सक्षम दुईजना उम्मेदवार भए पनि दुबैले टिकट नपाउने अवस्था सबै पार्टीमा छ ।

एमालेमा पुराना नेताको दौडधुप


आगामी निर्वाचनमा पहिलो दल बन्ने दाबी गरिरहेको एमाले भरतपुर महानगरपालिको मेयर र उपमेयर जसरी पनि जित्ने भनेर लागेको छ । कांग्रेसको प्रभाव क्षेत्र रहेको पश्चिम चितवनसहितको भूभाग समेटेर बनेको भरतपुर महानगरपालिकामा एमालेले कांग्रेसलाई नै आफ्नो प्रमुख प्रतिस्पर्धीका रुपमा उभ्याएको पार्टी सचिव पार्वती रावलले जानकारी दिइन् ।

एमालेबाट महानगरपालिकाको मेयरमा एमाले सल्लाहाकार परिषद्का सदस्य देवी ज्ञवालीका साथै तीन पटकसम्म जिल्ला पार्टी सचिव भैसकेका नेता विजय सुवेदीको चर्चा सबैभन्दा बढी छ ।

त्यसो त गत चैत्र १२ गते चितवनको पार्वतीपुरमा भएको एक कार्यक्रममा सहभागी हुन आएका एमाले उपाध्यक्ष वामदेव गौतमले अर्का नेता केशवलाल श्रेष्ठलाई भरतपुरमा मेयरको उम्मेदवार बनाउनुपर्ने भन्दै दबाव बढाएका थिए ।

यस्तै एमालेबाट मेयरको चर्चामा घनश्याम भट्टराई, पार्वती रावल, डा. तिलचन्द्र भट्टराई, बदि्र अधिकारी लगायतका नेताहरूले पनि आकांक्षा देखाएका छन् । एमालेले देशभरिका चारैवटा महानगरपालिकाको उम्मेदवार केन्द्रले नै तोक्ने निर्णय गरेका कारण पनि नेताहरुको दौडधुप केन्द्रतिर नै बढ्न थालेको छ ।

एमाले चितवनकी नेतृ पार्वती रावललाई मेयरको प्रवल दाबेदारका रुपमा लिइएको भए पनि यसपटक निर्वाचन नउठ्ने रावलले बताउँदै आएकी छिन् । तर, पार्टीले जिम्मेवारी दिए पछि नहट्ने उनको धारणा छ । एमाले वृत्तमा रावललाई उम्मेदवार बनाउँदा महानगरको मेयर जित्न सजिलो हुने चर्चा पनि हुँदै आएको छ । रावल एमाले चितवनकी चर्चित महिला नेतृ हुन् । रावलले वाकओभर दिएको अवस्थामा मेयरमा प्रमुख रूपमा देवी ज्ञवाली, विजय सुवेदी र केशवलाल श्रेष्ठको दावी प्रमुख रहने नेताहरु बताउँछन् ।

देवी ज्ञवाली ०६४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र नं ३ का उम्मेद्वार रहेका थिए भने विजय सुवेदी क्षेत्र नं ५ बाट उम्मेदवार भए पनि दुबै पराजित भएका थिए ।

गत संविधानसभा निर्वाचनमा क्षेत्र नं ३ बाट एमालेले जितेको र पार्टीको प्रभाव पनि बढेकाले निर्वाचन जित्न सकिने विश्वास एमाले नेता देवी ज्ञवालीको छ । ज्ञवाली ०५८ देखि ०६१ सम्म चितवनको पार्टी सचिव भएर काम गरिसकेका नेता हुन् । उनी ०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा उपमेयरमा जितेका ब्यक्ति हुन् ।

एमालेकै अर्का दावेदार विजय सुवेदीले आफ्नो राजनीतिक कर्मथलो नै पश्चिम चितवन भएको र एमाले इत्तरका मतदाताहरूको समेत मत तान्न सक्ने दाबी गरेका छन् । सुवेदी चितवन उपत्यका गुरूयोजना निर्माण समितिको संयोजक भएर काम गरेका नेता हुन् । यस्तै भरतपुर अस्पतालको अध्यक्ष भएर समेत चर्चामा आउने काम गरिसकेका छन् । ज्ञवाली र सुवेदी दुबै केपी ओली समूहका नेता हुन् ।

मेयरका दाबेदार भनिएका केशवलाल श्रेष्ठ बामदेव गौतमसँग निकट मानिन्छन् । कार्यकर्ता पंक्तिमा भने श्रेष्ठको पकड त्यति छैन । कतिपय एमालेकै वडा कमिटीका सदस्यहरूले श्रेष्ठलाई नजिकबाट चिन्ने मौका समेत पाएका छैनन् ।

त्यसैगरी एमाले प्रचार विभाग प्रमुख समेत भैसकेका एमाले नेता घनश्याम भट्टराई युवा नेता हुन् । उनीसँग लायन्स क्लब ३२५ बी का डिष्ट्रिक गर्भनर भएर काम गरेको अनुभव छ । माधव नेपाल समुहका नेता भट्टराईलाई पनि सम्भावित मेयरका रूपमा हेरिएको छ ।

त्यसो त पार्टी अध्यक्ष कृष्णभक्त पोखरेलसँग मेयरमा आफुहरूलाई टिकट दिनुपर्ने र विगतको वाचा कवुल पूरा गर्नुपर्ने भन्दै कृष्णराज न्यौपाने र पूर्वपार्टी सचिव अरुणपीडित भण्डारीले पनि दबाव बढाएका छन् ।

उद्योग बाणिज्य संघ चितवनका पूर्वअध्यक्ष डा. तिलचन्द्र भट्टराईलाई पनि एमाले तर्फबाट मेयरको दावेदारका रुपमा हेरिएको छ ।

मेयरमा पार्वती रावल उठेमा उपमयेरमा पश्चिम चितवनका एमाले नेता कृष्ण भूर्तेलले दाबी पेश गरेका छन् । उपमेयरमा एमालेबाट पार्वती सिलवाल, भगवती पौडेल, ईश्वरी शर्मा ढकाल आकांक्षीहरू देखिएका छन् ।

माओवादी केन्द्रमा उत्साह

झण्डै केही महिना अघिसम्म निष्कृय जस्तै बसेको माओवादी केन्द्रमा पछिल्ला महिनाहरुमा भने केही उत्साह थपिँदै गएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको गृह जिल्लासमेत भएको र प्रधानमन्त्रीको घर समेत भरतपुर महानगरपालिकाभित्र नै पर्ने भएकाले माओवादी केन्द्रका लागि भरतपुर महानगरपालिकाको मेयर प्रतिष्ठाको बिषय बन्दै छ ।

प्रधानमन्त्री दाहालले चितवन जिल्लाका लागि हालै करोडौं बजेटको प्याकेज कार्यक्रम ल्याएपछि माओवादी केन्द्रमा अझै बढी उत्साह थपिएको छ । निर्वाचनको पूर्वसन्ध्यामा घोषणा भएको रकम आउने प्रकृयामा अघि बढेको छ । २६ करोड रकम आइसकेको छ भने बाँकी रकम आउने प्रकृयामा छ ।

जिविस मार्फत करिव ७२ करोड रकम खर्च गर्ने तयारी छ । तत्कालीन पार्टी सचिव रामबहादुर थापा बादल सहितको समूहसँग पार्टी एकता भएकाले पनि त्यसको सकारात्मक प्रभाव माओवादी केन्द्रमा परेको छ ।

बादलको घर पनि यहीँ पर्छ । बाबुराम भट्टराईको फुटको असर चितवन माओवादीमा खासै ठूलो परेको देखिँदैन ।

माओवादी केन्द्रबाट महानगरपालिकाको मेयरमा नारायण दाहाल, सूर्य सुवेदी पथिक, घनश्याम दाहाल अविनास र ठाकुर ढकालको नाम चर्चामा छ । प्रचण्डले चाहेको ब्यक्ति नै भरतपुर महानगरपालिकाका लागि माओवादी केन्द्रको उम्मेद्वार बन्ने भएकाले नारायण दाहालको सम्भावना बलियो रहेको माओवादी कार्यकर्ताहरु बताउँछन् । यद्यपि रामबहादुर थापा बादलले दबाव बढाएमा सूर्य सुवेदी पथिकले पाउन सक्ने सम्भावना पनि छ ।

माओवादी केन्द्रमा उद्योग बाणिज्य संघ चितवनका पूर्व अध्यक्ष मित्रराज दवाडी र खेम भट्टको पनि मेयरका रुपमा चर्चा छ । माओवादीले जिल्ला इर्ञ्चाज इश्वरी भट्टराईको नेतृत्वमा जिल्ला स्तरीय एक समिति पनि गठन गरेको छ । सो समितिले वडा अध्यक्षका उम्मेद्वारहरुको टुंगो लगाउने छ भने, मेयर र उपमेयरका लागि पार्टी केन्द्रमा सिफारिस गर्नेछ ।

माओवादी केन्द्रमा देव गुरूङको नेतृत्वमा उम्मेद्वार चयनका लागि एक समिति गठन गरिएको छ । तर, महानगरपालिकाको मेयर र उपमेयरको उम्मेद्वार कसलाई बनाउने भन्ने विषयमा पार्टी अध्यक्ष प्रचण्डको समेत इन्ट्रेष्टले काम गर्नेछ ।

राप्रपामा बद्रीको चर्चा

चितवन राप्रपाले प्रत्यक्षतर्फ चुनाव जितेको जिल्ला हो । माडी क्षेत्रबाट चुनाव जितेका विक्रम पाण्डे अहिले मन्त्रीसमेत छन् । उनी देशकै ठूला निर्माण व्यवसायीसमेत हुन् । र, यही कारणले गर्दा भरतपुर महानगरपालिको चुनावमा राप्रपाको समेत चासो देखिनु स्वाभाविकै पनि हो ।

राप्रपाले जिल्ला अध्यक्ष बद्री तिमिल्सिनालाई नै महानगरपालिको मेयरमा उठाउने तयारी गरेको पार्टी सचिव केशवराज भण्डारीले अनलाइनखवरलाई जानकारी दिए । तिमिल्सिनासँगै भरतपुर महानगरपालिकाका पार्टी प्रमुख बिष्णुप्रसाद खरालले पनि मेयरमा उम्मेद्वारीको आकांक्षा राखेका छन् । खराल संविधानसभा निर्वाचनमा क्षेत्र नं ३ बाट राप्रपा नेपालको तर्फबाट उम्मेद्वारसमेत बनेका थिए ।

तिमिल्सिना राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाका विश्वास पात्र हुन् । “१ हप्ता भित्रै बद्री तिमिल्सिनालाई उम्मेद्वारको रुपमा टुग्याउने तयारी छ” सचिव भण्डारीले भने, “अन्यले आकांक्षा राख्नु स्वाभाविक हो ।”

यस्तै राप्रपाबाट उपमेयरमा जिल्ला उपाध्यक्ष मीना न्यौपानेले दाबी गरेकी छिन् । काठमाण्डौं महानगरपालिकामा जस्तो प्रभाव राप्रपाको भरतपुर महानगरपालिकामा देखिँदैन । यद्यपि बिक्रम पाण्डेको निर्वाचन क्षेत्र भएका कारण पश्चिम चितवनको मेघौलीमा राप्रपाको केही सुधारउन्मूख मत आउने सम्भावना छ ।

डेढ लाख मतदाता, २४ दल, ६५ मतदान केन्द्र

संघीय संरचनाअनुसार प्रदेश नं ३ मा सबैभन्दा बढी तीनवटा महानगरपालिका मध्येको एक हो भरतपुर महानगरपालिका । ४३२.९५ वर्ग किमी क्षेत्रफल रहेको भरतपुर महानगरपालिकामा २९ वडा छन् । यहाँको जनसंख्या २ लाख ८० हजार छ ।

महानगरपालिकामा मतदाता १ लाख ५१ हजार ६ सय ४१ जना छन् । महानगरपालिकामा झण्डै ४० प्रतिशत जनजाति बाहुल्य छ । भरतपुर महानगरपालिकाको वडा नं ११ मा सबैभन्दा बढी १० हजार ५४ मतदाता छन् भने सबैभन्दा कम मतदाता वडा नं २४ मा छन् । यो वडामा २ हजार २ सय ७३ मतदाता छन् ।

चितवन जिल्लामा २४ वटा राजनीतिक दलले निर्वाचन कार्यालयमा दल दर्ता गरेका छन् । चितवन जिल्लामा रहेका १६१ मतदान केन्द्रमध्ये भरतपुर महानगरपालिकामा मात्रै ६५ वटा केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए ।

कसले जित्ला भरतपुर महानगर ?

विगत ०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालीन भरतपुर नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जीत हात पारेको थियो । एमाले नेता हेमबहादुर पिया मेयर र उपमेयरमा देवी ज्ञवाली बिजयी भएका थिए । त्यसबेला कायम रहेका १४ वटा वडामध्ये वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ नम्वर वडाहरु एमालेले जितेको थियो ।

यसपटक पश्चिम चितवनको सबै भूभाग महानगरपालिकामा समेटिएकाले शक्ति सन्तुलन फेरिएको छ । यद्यपि प्रमुख रूपमा कांग्रेस र एमालेका बीचमा नै प्रतिस्पर्धा हुने देखिन्छ ।

पश्चिम चितवनको साविकको गाविस मेघौली कांग्रेस, एमाले र माओवादीका साथै राप्रपाको समेत प्रभाव क्षेत्र हो । यहाँ राप्रपाका नेता बिक्रम पाण्डेको प्रभाव छ । तर, समग्र मत प्याट्रनमा एमाले बलियो रहेको सो दलका नेताहरुको दाबी छ ।

महानगरपालिका अन्तर्गत साविकको पटिहानी गाविस र शिवनगर गाविसमा माओवादी केन्द्रको प्रभाव राम्रै मानिन्छ । शिवनगर प्रधानमन्त्री पुष्पकमल दाहालको गाउँ हो । यी बाहेक अन्य माओवादी केन्द्रको उपस्थिती कमजोर छ । माओवादी केन्द्रको भोट जीतकै लागि पर्याप्त देखिँदैन ।

कांग्रेसको मुख्य प्रभाव क्षेत्र मानिएको चितवन निर्वाचन क्षेत्र नं ४ हो, जहाँ ०७१ सालमा भएको संविधानसभा उपनिर्वाचनमा कांग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरेसँग करिव ३ हजार मतले एमाले उम्मेद्वार पार्वती रावल पराजित भएकी थिइन् । रावल ०७० सालमा भएको संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट शुशील कोइरालासँग झण्डै ११ हजार मतले पराजित भएकी थिइन् । तर, ६ महिनापछि भएको उपनिर्वाचनमा रावलले झण्डै ७ हजार मत थपेकी थिइन् ।

पश्चिम चितवनका साविकका गाविसहरु जगतपुर, शुक्रनगर, दिब्यनगर, गुञ्जनगर, शिवनगर र फूलवारी क्षेत्र कांग्रेसको बलियो पकड क्षेत्र हो । यी क्षेत्रहरुमा कांग्रेसका उम्मेद्वार हावी हुने देखिन्छ ।

भरतपुर महानगरपालिकाभित्रका वडा नम्वर २, ९, ११, १२ मा आउँदा एमालेको उपस्थिति बलियो हुन सक्छ । पश्चिम चितवनको कांग्रेसको मतलाई साविक भरतपुर नगरपालिका क्षेत्रका केही धेरै मतदाता भएका वडाहरुले काट्न सकेमा कांग्रेस र एमालेको अवस्था बरावरीमा पुग्न सक्छ ।

भरतपुर महानगरपालिकाको वडा नम्वर ११ सबैभन्दा धेरै मतदाता भएको वडा हो । जहाँ १० हजार ५४ मतदाता छन् । यो एमालेको बलियो पकड क्षेत्र हो । भरतपुरको मुख्य केन्द्र वडा नं १० मा कांग्रेस र एमालेको मत बराबरी जस्तै छ । वडा नं १२ मा एमाले बलियो छ, जहाँ ५ हजार ५ सय ३ मतदाता छन् । गत निर्वाचनको मत अवस्थालाई हेर्दा साविक मंगलपुर गाविस र हाल महानगरको वडा नं १६ मा एमाले र वडा नं १५ मा कांग्रेसको पकड देखिन्छ । वडा नं १६ मा ७ हजार ३ सय ७१ मतदाता छन् भने वडा नं १५ मा ७ हजार ६ सय ४७ मतदाता छन् ।

महानगरको वडा न ४ (साविक भरतपुर उपमहानगरपालिकाको वडा नं ५ र ६ ) मा ७ हजार ६ सय ४७ मतदाता छन् । यसमा कांग्रेस सामान्य मतका साथ अगाडी छ । वडा नं १ मा एमाले सामान्यरुपमा अगाडि छ भने वडा नं ३ मा कांग्रेसको अग्रता देखिन्छ ।

साविकको कविलास गाविसलाई महानगरपालिकाको २९ नम्वर वडा कायम गरिएको छ । महानगरमा यो गाविसलाई समावेश गर्न लागि एमालेका नेताहरु निकै लागिपरेका थिए । कारण यो गाविसमा एमालेको राम्रो पकड छ । महानगरका अन्य वडाहरूमा कांग्रेस र एमालेको मतमा खासै फरक नपर्ने र कविलास गाविस अर्थात हालको २९ नम्वर वडाले निर्णायक मत हाल्ने देखिन्छ । यस वडामा २ हजार ९ सय ५२ मतदाता छन् ।

यी पनि पढ्नुस्

देशकै ठूलो महानगर पोखराः यस्ता छन् मेयरका आकांक्षी

को बन्ला काठमाडौंको मेयर ? यस्ता छन् प्रमुख दलका दावेदारहरु

ललितपुरमा चुनावी चर्चाः महानगरको मेयरका यी हुन् दाबेदार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment