Comments Add Comment

गुलजार गुञ्जनः जो, गीतकार हुनुअघि कार ग्यारेजका मिस्त्री थिए

ओ माझी रे आपना किनारा, तुझसे नाराज नहीं जिन्दगी, तेरे बिना जिन्दगी से कोई, आने वाला पल जाने वाला है जस्ता थुप्रै-थुप्रै गीतका स्रष्टा, गुलजार । यस्तो लाग्छ, उनी आफैमा धुन हुन्, लय हुन्, सुर हुन्, ताल हुन् ।

तर, उनको जीवनको लय कहिं कतै टुट्न पुग्यो । खासगरी उनको पारिवारिक जीवन पनि त्यती माधुर्य रहेन, जति उनले लेखेका गीत हुन्छ । अभिनेत्री राखीसँगको सम्बन्ध चिसिएपछि उनी एक्लिए । सधैका लागि ।

एक गुलजार, अनेक रुप

गुलजार गीतकार हुन् । तर, त्यसअघि कवि । उनी फिल्म निर्देशक हुन्, पटकथा लेखक र नाटककार पनि । एउटा गुलजारभित्र अनेक रुप छन् । उनले लेखेका कविता, गीत, फिल्म एक से एक अब्बल छन् ।

२००४ मा भारतको सर्वोच्व सम्मान पद्य भूषणबाट सम्मानित उनले लेखेको गीतले ओस्कार अवार्ड समेत प्राप्त गर्‍यो । उक्त गीत उनले फिल्म ‘स्लमडग मिलेनियर’का लागि लेखेका थिए । यहि गीतबाट उनलाई ग्रामी अवार्ड समेत प्राप्त भयो ।

संक्रमणकालिन बाल्यकाल

गुलजारको जन्म १८ अगस्ट १९३६ मा दीनामा भएको हो, जुन अहिले पाकिस्तानी भूमि पर्छ । भारत-पाकिस्तान बिभाजनको संक्रमणमा उनको वाल्यकाल बित्यो, त्यही दीनामा ।

पिता माखनसिंहकी दोस्रो पत्नीको एक्लो सन्तान, गुलजार । पिता माखनसिंहले दीनामा एक कपडा पसल खरिद गरेका थिए । सबै परिवार त्यही बस्थें । गुलजारले जीवनको प्रारम्भिक दिन सोहि सेरोफेरोमा गुजारे ।

देश विभाजनपछि उनको परिवार पंजाबको अमृतसरमा आएर बस्न थाले । त्यहीबाट गुलजार मुम्बई पुगे ।

ग्यारेजको मिस्त्रीबाट कसरी गीतकार बने ?

त्यतीबेला उनी गुलजार बनेकै थिएनन्, जतिबेला मुम्बईको कार ग्यारेजमा काम गर्थे । ग्यारेजमा काम गरिरहेकै बेला हो, उनले कविता लेख्न थालेको । यसै सिलसिलामा केहि फिल्मकर्मीसँग उनको चिनापर्ची भयो । गायक किशोरकुमारकी पूर्व पत्नी रुमा गुहा हुँदै फिल्म लेखक देवू सेन, फिल्मकार वासु भट्टचार्यसित सरसंगत बढ्यो ।

गीत-कवितामा लहसिदै उनले रंगीन दुनियामा पर्दापण गरे । निर्देशक बिमल राय, हृषिकेश मुखर्जी, मेहन्द कुमारले उनलाई मिस्त्रीबाट फरक संसारमा डोहोर्‍याउँदै लगे । अन्ततः उनी एसडी बर्मनका लागि गीत लेख्न पुगे । एउटा गीत लेखे, फिल्म ‘बन्दिनी’का लागि । गीत थियो, ‘मेरा गोरा अंग लेई’ ।

विमल राय निर्देशित यहि फिल्मबाटै उनले हिन्दी सिनेमाको संगीतमा आफ्नो खाता खोले । तर, यहि एउटा गीतमा मात्र गुलजारले संगीतकार एसडी बर्मनसँग सहकार्य गरे । त्यसपछि भने उनीहरु अलग्गिए, नदिको दुई किनारा झै । तर, कालन्तरमा एसडीका छोरा आरडी बर्मनसँग गुलजारको सम्बन्ध निकै घनिष्ठ रह्यो । उनीहरुको जोडीले भारतिय फिल्मी संगीतमा नयाँ आयम थपिदियो ।

सन् १९६८ मा उनले फिल्म आर्शिवादको संवाद लेखे । यस फिल्ममा अशोक कुमारले मूख्य भूमिका खेलेका थिए, जसले फिल्मफेयर उत्कृष्ट अभिनेता अवार्ड पनि पाए । त्यसपछि गुलजारले निरन्तर फिल्मी गीतहरु लेखे, जो श्रोताको ओंठमा बेग्लै मीठास बनेर झुन्डियो ।

तर, उनी गीतकारमा मात्र सीमित भएनन् । फिल्मी संवाद लेखे, निर्देशन गरे, टेलि ऋंखला बनाए । उनले गलिबको जीवनकथामा आधारित रहेर बनाएको ‘मिर्जा गालिब’को उचाई सायदैले चुम्न सक्छ । पछि उनले निर्देशकको हैसियतमा आफुलाई उतारे फिल्म ‘मेरे अपने’बाट । हुतुतु, आँधी, खुशबू, मौसम, किनारा, इजाजत जस्ता डेढ दर्जन जति फिल्म निर्देशन गरे । धारावाहिक टिभी शो, मिर्जा गालिब, किरदार, काश्मिर र दुई बृत्तचित्र उस्ताद अमजद अली खान र पण्डित भीमसेन बनाएर उनले सिनेमा निर्देशनबाट हात पखाले, सन् १९९९ मा ।

दुखद दाम्पत्य

सन् १९७३ मा गुलजारले त्यसताकाकी चल्तापूर्जा अभिनेत्री राखीसँग बिवाह गरेका थिए, जे कोलकाताबाट फिल्म खेल्न मुम्बई आएकी थिइन् । बाहिरी हल्ला के छ भने, बिवाहका लागि गुलजारले राखीसँग एउटा सर्त राखेका थिए ।

सर्त थियो, ‘बिवाहपछि फिल्म नखेल्ने ।’ तर, पछि राखीले एक फिल्मको अफर स्विकार गरिन् । यहि फिल्मको कारण उनीहरुको सम्बन्ध दुई चिरा पर्‍यो । उनीहरु अघोषित रुपमा छुटिए । त्यसबेला छोरी मेघना जन्मिसकेकी थिइन् । दुबैले छोरीको नाम बोस्की राखे । र, छोरीको नामबाट घरको नाम, बोस्कीयाना राखेका थिए ।

गुलजार र राखी छुटिए तर विधिवत् ढंगले होइन, गुपचुप । यसको कारण उनीहरुले कहिल्यै खुलाएनन् पनि । बरु, गुलजारले प्रेम, सम्बन्ध र वियोगको गीत लेखे । तर आफ्नो दाम्पत्य टुट्नुको कारण केहि बोलेनन् ।

मीनाकुमारीसँगको सम्बन्ध

गुलजारको केहि सम्बन्धहरु रहस्यमय र केहि घतलाग्दो रह्यो । अभिनेत्री मीना कुमारीसँग उनको गहिरो भावनात्मक सम्बन्ध थियो । मीनाले आफ्नो मृत्युअघि सबै डायरी र शायरीको कपी गुलजारलाई दिएकी थिइन् । गुलजारले त्यसलाई सम्पादन गरेर प्रकाशन गरिदिए । उनीहरुको भेट, फिल्म ‘बेनजीर’को सेटमा भएको थियो । यसमा बिमल राय निर्देशक थिए र साहयक थिए, गुलजार । पछि आफु स्वतन्त्र निर्देशक भएपछि गुलजारले मीना कुमारीलाई मूख्य भूमिकामा लिए । अहिलेपनि गुलजारको अफिसमा ‘ट्राजिटी क्विन’ मीनाकुमारीको तस्बिर टागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment