Comments Add Comment

घट्यो मूल्य वृद्धिदर, ३ प्रतिशतबाट ओर्लियो


२७ चैत, काठमाडौं । यो वर्ष फागुनमा मूल्यवृद्धिदर २.९ प्रतिशतमा सीमित भएको छ । माघमा मूल्यवद्धि ३.३ प्रशित भएपनि फागुनमा अझै घटेर ३ प्रतिशतभन्दा तल भफरेको छ ।

यो वर्षकै सबैभन्दा कम मूल्यवृद्धिदर हो । गतवर्षको फागुन महिनामा सो मुद्रास्फीति १०.२ प्रतिशत रहेको थियो । गतवर्षको आधार मूल्यको प्रभाव तथा समीक्षा अवधिमा आपूर्ति व्यवस्थामा आएको सुधारका कारण पछिल्ला महिनाहरुमा उपभोक्ता मूल्यवृद्धिदर घट्दै आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा खाद्य क्षेत्रको मूल्यवृद्धिदर ०.४ प्रतिशतले ऋणात्मक रहेको राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ८ महिनामा संक्षिप्त आर्थिक प्रतिवेदनमा उललेख छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मूल्यवृद्धि १०.३ प्रतिशत रहेको थियो ।

केमा कति बढ्यो ?

खाद्य समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा ११.२ प्रतिशत, तरकारीको मूल्यमा ८.३ प्रतिशत, घ्यू तथा तेलको मूल्यमा ५.८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा ०.१ प्रतिशतले कमी आएको छ ।

त्यसैकारण समग्र खाद्य मुद्रास्फिति ऋणात्मक रहन गएको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५.२ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.७ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा गैर-खाद्य मुद्रास्फीति ५.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर-खाद्य मूल्यवृद्धि १०.२ प्रतिशत रहेको थियो ।

यो समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, सञ्चार, घरायसी सामान तथा सेवा, यातायात लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर-खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपत्यकाका सबैभन्दा कम मूल्यवृद्धि भएको छ । उपभोक्ता मूल्यवृद्धि दर पहाडमा ५.९ प्रतिशत, हिमालमा ३.७ प्रतिशत, तराईमा २.८ प्रतिशत र काठमाडौं उपत्यकामा १.९ प्रतिशत रहेको राष्ट्र बैंले जनाएको छ ।

उपत्यकामा कम, पहाडमा धेरै

अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १०.४ प्रतिशत, हिमालमा ८.५ प्रतिशत, तराईमा ८.६ प्रतिशत र काठमाडौं उपत्यकामा १२.७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा वाषिर्क बिन्दुगत थोक मुद्रास्फीति दर १.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि ५.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ०.२ प्रतिशतले घटेको छ भने स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.२ प्रतिशत र आयातित वस्तुहरूको मूल्य सूचकाङ्क १.८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।

अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ९.१ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ६.३ प्रतिशतले वृद्धि भएको थियो भने आयातित वस्तुहरूको मूल्य सूचकाङ्क २.८ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment