Comments Add Comment

डिम्ब विक्री गरेर पैसा कमाउँदैछन् दिल्लीका विपन्न महिला

नयाँ दिल्ली । दिल्लीका विपन्न महिलाहरुलाई अचेल एउटा नौलो पेशाले लोभ्याइरहेको छ । उनीहरु आफ्नो डिम्ब विक्री गरेर छोटो समयमा राम्रो आम्दानी गर्न थालेका छन् ।

यद्यपि यो जोखिमपूर्ण छ । चिकित्सकहरुका अनुसार डिम्ब दान गर्दा शरीरमा छट्पटाहट हुनेदेखि किड्नी फेल हुने र मृत्यूसम्म पनि हुन सक्छ । तर अधिकांस महिलाहरु यसबारेमा जानकार छैनन् । वा, जानकारी हुनेहरु पनि पैसाको निम्ति जोखिम मोल्न तयार छन् ।

गुरुग्राम निवासी अर्चना तिवारी (नाम परिवर्तन) लाई गत मार्चमा पैसाको संकट पर्‍यो । र, उनले गर्जो टार्नका लागि आफ्नो डिम्ब बिक्री गरिन् ।

उनी अब यसमा पल्किएकी छिन् । भविष्यमा पनि डिम्ब दान गरेर पैसा आर्जन गर्ने उनको योजना छ ।
‘मेरा श्रीमान एक मजदुर हुन् र हाम्रो दुई बच्चा छन् । हामीलाई कहिल्यै पैसाले पुग्दैन । सुरुमा मैेले सरोगेट आमा बन्ने बिचार गरेकी थिएँ, तर मैले डिम्ब दानका विषयमा सुनेँ । यसमा समय कम लाग्ने र पैसा पनि राम्रो हुने रहेछ,’ अर्चना भन्छिन् ।

सरोगेसीका लागि कम्तिमा १५ महिना लाग्ने तर डिम्ब दान तुरुन्तै गर्न सकिने भएकाले उनी यसमा लोभिएकी हुन् ।

उनकी साथी २६ वर्षीया रेखा गोयल (नाम परिवर्तन) आफ्नी ३ वर्षीया छोरी बिरामी परेपछि डिम्ब दान गर्न गइन् । उनका श्रीमान बिहारको एउटा गार्मेन्ट कारखानामा टेलरको काम गर्छन् र कमाई खासै राम्रो छैन ।

मैले आफ्नी छोरीको उपचार गराउनका लागि योभन्दा अर्को विकल्प देखिनँ,’ उनी भन्छिन् । रेखाले अर्चनामार्फत नै डिम्ब दानको विषयमा थाहा पाएकी थिइन् ।

अकी महिला पद्मिनी सिंह भन्छिन्, ‘मैले ७ पटक डिम्ब दान गरिसकेँ र यसमा मेरा श्रीमानको कुनै आपत्ति छैन । तर, हामीले यो कुरा छिमेकीहरुलाई भनेका छैनौं ।’

कसरी हुन्छ खरिद-विक्री ?

पश्चिमा मुलुकहरुमा डिम्ब दाताहरुले ग्राहक वा अस्पतालसँग करार गर्ने प्रचलन छ । तर, दिल्लीमा त्यस्तो हुँदैन । यहाँ यहाँ विचौलियाहरुले दाता र अस्पतालबीच पुलको काम गर्छन् ।

इच्छुक डिम्बदाताले आफ्नो प्राकृतिक क्रियालाई दवाउनका लागि करिब तीन हप्तासम्म औषधि सेवन गर्नुपर्छ । त्यसपछि उनको डिम्बासयलाई जगाउनका लागि हार्मोनहरु प्रत्यारोपण गरिन्छ । अनि, उनको डिम्ब तयार भएको ऐकिन गर्नका लागि अल्ट्रासाउन्ड गरिन्छ र त्यसपछि डिम्ब विकासका लागि अर्को चरणको हार्मोन दिइन्छ ।

अन्त्यमा, दान गर्ने दिन दातालाई एनेस्थेसिया दिएर एउटा शल्यक्रिया गरिन्छ जहाँ सुईको प्रयोगबाट डिम्ब निश्कासन गरिन्छ ।

अस्पतालहरुले प्रमाणीकृत बैंकहरुमार्फत डिम्ब दाताहरुको व्यवस्था गर्नुपर्ने प्रावधान भए तापनि वास्ताविकता अर्कै छ । स्रोतहरुका अनुसार आइभिएफको सुविधा रहेका थुप्रै अस्पतालहरुले डिम्बका लागि आफैं विचौलियाहरुसँग सम्पर्क गर्छन् ।

कपासेरामा क्रियाशील विचौलिया हरिस भन्छन्, ‘एक पटक डिम्ब दान गरेपछि उक्त दाताबाट अर्को अढाईदेखि तीन महिनासम्म डिम्ब लिइदैन, ताकि स्वास्थ्य समस्या उत्पन्न नहोस । यसबाट अर्कोपटक राम्रो डिम्ब निश्कासनमा पनि मद्दत पुग्छ ।’

डिम्ब दानका जटिलता

पैसाका भोका महिलाहरु कसरी डिम्ब दानमा आकषिर्त भइरहेका छन् भन्ने विषयवस्तुमा आधारित डकुमेन्ट्री ‘पर्फ]{ट डोनर’ का निर्माता तथा मेडिकल मानवशास्त्री डायन टोबरका अनुसार ३० प्रतिशतभन्दा बढि दाता महिलाहरुको स्वास्थ्यमा कुनै न कुनै जटिलता देखिन्छ र एकदमै खराब अवस्थामा उनको मृत्यूसमेत हुन सक्छ ।

सामान्य स्वास्थ्य समस्यामा शरीर सुन्निने, तौल बढ्ने, छट्पटी हुने लगायत पर्छन् भने गम्भीर अवस्थामा डिम्बासयमा खराबी, रक्तस्राव र मृगौला फेलसमेत हुन सक्छ ।

डिम्बको दर

डिम्ब विक्रीका लागि कुनै निश्चित दर छैन । एउटा दातालाई दिइने रकम विचौलियाले नै निर्धारण गर्छन् ।

स्रोतका अनुसार एउटा अस्पतालले विचौलियालाई ५० हजार देखि ६० हजार भारुसम्म दिन्छन् जसमा आफ्नो कमिसन काटेर विचौलियाले महिलाहरुलाई उनीहरुको मोलतोलका आधारमा २५ हजार देखि ३५ हजारसम्म हातमा राखिदिन्छन् ।

कहाँ छन् धेरै दाता ?

दिल्लीको दक्षिणपश्चिममा रहेको कपाशेरा, गुरुग्रामको दुनदहेरा गाउँका साथसाथै नजिकैको सिकन्दपुर, मनेसा र सोहना लगायतका संख्यामा डिम्ब दाताहरुको संख्या उल्लेख्य छ । यी क्षेत्रहरुमा कारखानाका मजदुरहरुको संख्या ठूलो छ र उनीहरु डिम्ब दानलाई बैकल्पिक आम्दानीको स्रोतका रुपमा अपनाइरहेका छन् ।

इण्डिया टुडेबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment