+
+

एक वर्षमा बैंकहरुको आधार ब्याजदर २ प्रतिशतले बढ्यो, महंगिँदै कर्जा

विजयराज खनाल विजयराज खनाल
२०७३ चैत २८ गते १०:३०

२८ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा दिनको लागि तोक्ने आधार ब्याज दर बढ्दो क्रममा रहेको छ । २०७२ फागुनमा बैंकहरुको औसत आधार ब्याज दर ६.५ प्रतिशत रहेकोमा २०७३ फागुनमा यो दर ८.३ प्रतिशत रहेको छ । त्यस्तैगत माघमा भने यो दर ७.८ प्रतिशत थियो ।
कर्जा योग्य पुँजी अभावमा बैंकहरुले निक्षेपको ब्याज दर बढाउन परेपछि पुँजी लागत बढ्न पुगेको भन्दै आधार ब्याज दर पनि बढाएका हुन् । आधार ब्याज दर गणनाको लागि राष्ट्र बैंकले निश्चित गणितीय शुत्र दिएको हुन्छ । त्यस गणनामा बैंकहरुले पुँजी लागत पनि लिने गर्छन् भने अनिवार्य नगद मौज्दातको रुपमा राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने रकमको लागत, बार्षिक सञ्चालन लागत, बैधानिक तरलता अनुपात कायम गर्न आवश्यक पुँजीको लागत पनि जोड्न पाउँछन् । बैंकहरुले कर्जा योग्य पुँजी अभाव भएको बताउँदै हाल मुद्दति निक्षेपको ब्याज दर १२ प्रतिशतसम्म तोकेका छन् ।

बैंकहरुको आधार दर बढ्ने क्रममा रहँदा ऋणीहरुको लागत पनि बढ्दो क्रममा देखिन थालेको छ । आधार दर कै आधारमा बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याज दर निर्धारण गर्छन् । राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा नविकरण गर्दा, कर्जा पुनरतालिकिकरण वा पुनरसंरचना गर्दा समेत आधार दरलाई आधार लिएर ब्याज दर निर्धारण गर्नुपर्दछ ।

बैंकहरुले लागत बढेको भन्दै कतिपय शीर्षकको कर्जामा ४–५ महिनाको अन्तरालमा नै ६ प्रतिशतसम्म ब्याज दर वृद्धि गरेका थिए । सवारी कर्जाको ब्याज दरमा सबैभन्दा धेरै वृद्धि भएको ग्राहकहरुले गुनासा गर्दै आएका छन् ।

सबैभन्दा बढि व्याज दर दिइएको बैंकहरुको संस्थागत निक्षेप खातामा फागुनसम्ममा बीमा कम्पनीहरु, नागरिक लगानी कोष, कर्मचारी सञ्चय  कोष र अन्यको मात्रै ३ खर्ब ३९ अर्ब रुपैयाँ रहेको छ । व्यक्तिगत निक्षेप खातामा १२ खर्ब रुपैयाँ रहेको छ । बैंकहरुमा कुल निक्षेप भने २२ खर्ब ७१ अर्ब रहेको छ भने कर्जा लगानी १९ खर्ब ३६ अर्ब गरेका छन् ।

ब्यवसायीहरुले आफ्नो पुँजी लागत पनि बढेको र व्यवसाय गर्न समस्या हुन थालेको भन्दै बैंकहरुले कर्जाको ब्याजमा गरेको वृद्धिको बिरोध गर्दै आएका छन् ।

यता, बैंकहरुले कर्जामा लिने र निक्षेपमा दिने ब्याजबीचको औसत अन्तर भने ५.६ प्रतिशत रहेको छ । माघमा यो दर ५.४ प्रतिशत रहेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार यो दर ५ प्रतिशतभित्र रहनु पर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?