+
+

निष्क्रिय कर्जा बढेसँगै बैंकहरूको नाफा ४६ अर्ब ३८ करोडमा सीमित

गत आर्थिक वर्ष आठ महिनामा ५३ अर्ब ६० करोड कमाएका बैंक तथा वित्तीय संस्थाको नाफा चालु आव सोही अवधिमा १५.५७ प्रतिशतले घटेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २९ गते २०:१३

२९ चैत, काठमाडौं । अर्थतन्त्रमा देखिएको शिथिलताबाट बैंकहरूले सम्भावित कर्जा नोक्सानीका लागि गरेको ‘प्रोभिजनिङ’ बढेसँगै नाफा प्रभावित भएको छ ।

चालु आर्थिक वर्ष (आव) २०८०/८१ आठ महिना (साउन–फागुन) सम्म बैंक तथा वित्तीय संस्थाले ४६ अर्ब ३८ करोडमात्र नाफा कमाएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आव सोही अवधिमा ५३ अर्ब ६० करोड कमाएका बैंक तथा वित्तीय संस्थाको नाफा चालु आव १५.५७ प्रतिशतले घटेको हो । चालु आव बैंक तथा वित्तीय संस्थाले सम्भावित कर्जा नोक्सानीका लागि ५५ अर्ब ८७ करोड रुपैयाँ प्रोभिजन गरेका छन् ।

गत आव सोही अवधिमा ३६ अर्ब ५५ करोड मात्रै प्रोभिजनिङ गरेकोमा चालु आव प्रोभिजनिङ बढे पनि नाफा घटेको हो ।

एकातिर अर्थतन्त्रमा देखिएको शिथिलताले व्यवसाय बढ्न नसक्दा आम्दानी बढ्न नसक्ने र कर्जा असुली प्रभावित भएर नोक्सानी व्यवस्थ गर्न गरेको प्रोभिजन बढ्दै जाँदा बैंकहरूको नाफा प्रभावित भएको हो ।

चालु आव आठ महिना २० वाणिज्य बैंकले ४२ अर्ब ३१ करोड नाफा आर्जन गरेका छन् । गत आव सोही अवधिमा ४८ अर्ब ८३ करोड नाफा थियो ।

चालु आव मात्रै वाणिज्य बैंकहरूले सम्भावित कर्जा नोक्सानीका लागि ४८ अर्ब ५५ करोड प्रोभिजन गरेका छन् । जसले नाफा प्रभावित भएको हो । जबकि, गत आव वाणिज्य बैंकहरूले सम्भावित कर्जा नोक्सानीका लागि ३० अर्ब ९९ करोड प्रोभिजन गरेका थिए ।

यस्तै विकास बैंकहरूको नाफा आठ महिनामा ३ अर्ब ५१ करोड पुगेको छ । गत आवमा ३ अर्ब ७८ करोड नाफा आर्जन गरेकोमा चालु आव नाफा घटेको छ ।

सम्भावित कर्जा नोक्सानीका लागि गरेको प्रोभिजन बढ्दै जाँदा विकास बैंकहरूको पनि नाफा घटेको छ । गत आव आठ महिनामा विकास बैंकहरूले ४ अर्ब ५३ करोड प्रोभिजन गरेकोमा चालु आव सोही अवधिमा ६ अर्ब ३२ करोड प्रोभिजन गरेका छन् ।

यस्तै वित्त कम्पनी (फाइनान्स) ले चालु आव आठ महिनामा ५६ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । गत आव सम्भावित कर्जा नोक्सानीका लागि १ अर्ब १ करोड प्रोभिजन गरेकोमा चालु आव १ अर्ब प्रोभिजन गरेका छन् ।

कस्तो छ पूँजीकोषको अवस्था ?

वाणिज्य बैंकहरूलाई प्राथमिक पूँजीकोषको दबाब बढ्दै गएको छ । फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको प्राथमिक पूँजीकोष अनुपात ९.६३ प्रतिशत रहेको राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकमा छ ।

वाणिज्य बैंकहरूको प्राथमिक पूँजीकोष ९.५५ प्रतिशत मात्रै हुँदा विकास बैंकहरूको ९.६८ प्रतिशत र वित्त कम्पनीहरूको १३.२० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

माघमा वाणिज्य बैंकहरूको प्राथमिक पूँजीकोष ९.५२ प्रतिशतम्म झरेकोमा फागुनमा केही सुधार भएको छ । गत आव फागुनमा १०.०४ प्रतिशत रहेको वाणिज्य बैंकहरूको प्राथमिक पूँजीकोष अनुपात कर्जा असुली प्रभावित भएर निष्क्रिय कर्जा बढ्दा सञ्चित नोक्सानीमा बैंकहरू गएका छन् । जसले कर्जा विस्तार नहुँदा पनि पूँजीकोष घटेको छ ।

२०७९ फागुन मसान्तमा २.४९ प्रतिशत रहेको वाणिज्य बैंकहरूको निष्कृय कर्जा अनुपात चालु आव सोही अवधिमा आउँदा बढेर ३.६३ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

२०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल पूँजीकोष ६ खर्ब ७२ अर्ब ५६ करोड थियो । २०८० फागुनमा आउँदा ७ खर्ब २१ अर्ब ६४ करोड पुगेको छ । पूँजीकोषमा केही वृद्धि र कर्जा केही बढे पनि असुली प्रभावित भएर बैंकहरू सञ्चित नोक्सानीमा समेत गएको अवस्था छ । जसले पूँजीकोषमा दबाब परेको हो ।

२०८० फागुनमा बैंक तथा वित्तीय संस्थाको कुल चुक्ता पूँजी ४ खर्ब ३६ अर्ब ४१ करोड छ । त्यस्तै वैधानिक जगेडा कोषमा १ खर्ब ४७ अर्ब ९८ करोड छ । यस्तै २९ अर्ब ६५ करोड सञ्चित नोक्सानी रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै अन्य जगेडा कोषमा १ खर्ब ६३ अर्ब ८२ करोड रहेको छ ।

जसमध्ये वाणिज्य बैंकहरूको मात्रै कुल पूँजीकोष ६ खर्ब ४५ अर्ब ९७ करोड छ । यस्तै चुक्ता पूँजी मात्रै ३ खर्ब ७९ अर्ब, वैधानिक जगेडा १ खर्ब ३४ अर्ब ९१ करोड र अन्य जगेडामा १ खर्ब ५४ अर्ब ६१ करोड र सञ्चित नोक्सानी २२ अर्ब ५६ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०७९ फागुनमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब १५ अर्ब रहेकोमा २०८० फागुनमा ६१ खर्ब ८८ अर्ब पुगेको छ । यस्तै कर्जा लगानी भने ४८ खर्ब ५५ अर्बबाट बढेर ५० खर्ब ९१ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कुन वाणिज्य बैंकले कति कमाए नाफा ?

चालु आव आठ महिनामा अधिकांश वाणिज्य बैंकको नाफा घटेको छ । गत आव सिभिल बैंकलाई मर्जर गरेको हिमालयन बैंकको नाफा बढेको छ । गत आवा छुट्टाछुट्टै रहेका लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएर लक्ष्मी सनराइज बैंक बनेको छ । गत वर्ष दुई बैंकले कमाएको नाफा जोड्दा अहिले नाफा घटेको छ ।

त्यस्तै प्राइम कमर्सियल बैंक, एभरेस्ट बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकको नाफा भने बढेको छ । फागुनसम्म नबिल बैंकले ४ अर्ब ७२ करोड नाफा कमाएको छ । जुन गत आव सोही अवधिको तुलनामा ११.३० प्रतिशतले कम हो। यस्तै ग्लोबल आईएमई बैंकको नाफा २१.४८ प्रतिशतले घटेर ३ अर्ब ४३ करोडमा झरेको छ ।

प्राइम कमर्सियल बैंकको नाफा भने २०.७४ प्रतिशतले बढेर २ अर्ब ८९ करोड पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा १४.५८ प्रतिशतले घटेर २ अर्ब ८८ करोडमा अड्दा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा १९.६७ प्रतिशतले घटेर २ अर्ब ८० करोड भएको छ ।

एनआईसी एसिया बैंकको नाफा ३७.३५ प्रतिशतले घटेर २ अर्ब ५४ करोडमा अडेको छ । एभरेस्ट बैंकको नाफा २.६३ प्रतिशतले बढेर २ अर्ब २९ करोड पुगेको छ ।

गत वर्ष फागुनसम्म ४१ करोड मात्रै नाफा रहेको कृषि विकास बैंकको नाफा चालु आव १ अर्ब ९७ करोड पुगेको छ । त्यस्तै सिद्धार्थ बैंकको नाफा पनि ९.१२ प्रतिशतले बढेर १ अर्ब ७० करोड पुगेको छ ।

नेपाल बंैक, नेपाल एसबीआई बैंकको नाफामा भने उच्च गिरावट देखिएको छ । नेपाल बैंकको नाफा ३९ प्रतिशत र एसबीआई बैंकको नाफा ३८.६७ प्रतिशतले घटेर सबैभन्दा कम १ अर्बमा सीमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?