Comments Add Comment

नयाँ आइजीपी अर्यालको लक्की दिन चैत २९ !

त्रिभुवननगरदेखि हेडक्वार्टरसम्मः यस्तो छ अर्यालको बायोडाटा

२८ चैत, काठमाडौं । डीआइजी प्रकाश अर्याल आफ्ना प्रतिस्पर्धी नवराज सिलवाललाई पछि पार्दै नेपाल प्रहरीको महानिरीक्षक बनेका छन् । मन्त्रिपरिषदको सोमबारको बैठकले उनलाई आइजीपी बनाएको छ ।

आज चैत २८ गते रातारात आइजीपी बनेका अर्यालले भोलि चैत २९ गते बिहानैदेखि आफन्त र शुभेच्छुकहरुसँग खुशी साटासाट गर्ने छन् । आइजीपी अर्यालको जीवनमा चैत २९ गते लक्की दिन हो ।

संयोग कस्तो परेको छ भने अर्यालले नेपाल प्रहरीमा सुरुको नियुक्ति लिएको दिन पनि चैत २९ गते नै हो । अर्याल ०४४ साल चैत २९ गतेदेखि नेपाल प्रहरीमा भर्ना भएका प्रहरी अधिकृत हुन् ।

चन्द र सिलवालको झगडाबाट फाइदा

जतिबेला आइजीपीका लागि डीआइजी जयबहादुर चन्द कांग्रेस नेता शेरबहादुर देउवासमक्ष लविङ गरिरहेका थिए, डीआइजी प्रकाश अर्यालचाँहि चुपचाप थिए ।

अर्का डीआइजी नवराज सिलवाल पनि अहोरात्र लविङमै थिए । तर, अर्यालले सुरुमा आइजीपी चाहियो भनेर कतै लविङ गरेनन् । नेताको दैलोमा त उनी जाँदै गएनन् ।

सरकारले तेस्रो बरियताका जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गर्नासाथ अदालतमा मुद्दा पर्‍यो । डीआइजी सिलवाल आफैं अदालत गए । अन्ततः अदालतले जयबहादुर चन्दको आइजीपी पद खारेज गर्‍यो र सिलवाललाई नै बनाउनुपर्ने अर्थ लाग्ने गरी फैसला सुनायो ।

यो पनि पढ्नुहोस्ः प्रहरी प्रमुखमा प्रकाश अर्याल नियुक्त 

अदालतले आइजीपीबारे निर्णय सुनाउनै लाग्दा डीआइजी प्रकाश अर्याल पनि सर्वोच्च अदालतसम्म पुगे । तर, अर्यालका बारेमा अदालतले केही पनि बोलेन ।

परिस्थितिले साथ दिएपछि सोमबार साँझ मन्त्रिपरिषद बैठकले प्रकाश अर्याललाई आइजीपी बनाउने निर्णय गर्‍यो ।

पढाइमा दोस्रो, प्रहरीमा पहिलो !

उमेरले ५३ वर्षमा हिँडिरहेका अर्यालको जन्मस्थान दाङको त्रिभुवननगर नगरपालिकामा ०२० साल असार १४ गते भएको हो । उनका पिताको नाम लोकराज अर्याल हो भने बाजेको नाम गंगाधर अर्याल हो ।

अर्यालले ०३५ सालमा दोस्रो श्रेणीमा एसएलसी पास गरे । त्यसपछि २०३८ सालमा मानविकी विषयमा उत्तीर्ण श्रेणीमा आइए पास गरे भने अर्थशास्त्र विषय लिएर दोस्रो श्रेणीमा ०४२ सालमा बीए पास गरे । बीए पास गरिसकेपछि उनी ०४४ सालमा नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा भर्ना भई सेवा प्रवेश गरेका हुन् ।

प्रहरी सेवामै रहेका बेला अर्यालले तीन वर्षअघि स्नातकोत्तरको अध्ययन पूरा गरेका हुन् । अर्यालले व्यापार प्रशासनमा ०७० सालमा स्नातकोत्तर (एमबीए) गरेका छन् ।

पढाइमा सामान्यतः दोस्रो श्रेणीभन्दा माथि उक्लिन नसके पनि अर्याल नेपाल प्रहरी संगठनमा भने पहिलो बन्न सफल भएका छन् ।

प्रहरी निरीक्षक आधारभूत तालिम लिएको मिति ०४५ साल जेठ २ बाट गणना गर्ने हो भने अर्यालले अब ठीक एक वर्ष आइजीपी चलाउने छन् र ३० वर्षे सेवावधिका कारण अवकाश पाउनेछन् ।

सामान्य परिवारमा जन्मेर प्रहरी सेवामा करिब २९ वर्ष बिताएका अर्याल नेपाल प्रहरीभित्र ‘प्रोफेसनल’ एवं हक्की स्वाभावका प्रहरी अधिकृतका रुपमा परिचित छन् ।

तालिमः भारतदेखि अमेरिकासम्म

सुरुमा एक वर्ष प्ररही निरीक्षकको आधारभूत तालिम लिएका अर्यालले भारत र अमेरिकाबाटसमेत तालिम र कोर्षहरु गरेका छन् । ०५९ सालमा उनले अमेरिकामा जघन्य मुद्दा सम्बन्धी १२ दिने कोर्ष गरेका छन् । ०५६ सालमा भारतमा प्रति आतंक तथा विशिष्ट व्यक्ति कमाण्डोसम्बन्धी तीन महिने कोर्ष गरेका छन् ।

त्यस्तै नेपालमा उनले लागू औषध कानून कार्यान्वयन कोर्ष, अपराध अनुसन्धान तालिम, कमाण्डो तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, कानून कार्यान्वयनमा मानवअधिकार तालिम, मानव स्रोत व्यवस्थापन, विपद व्यवस्थापन, प्रशिक्षक प्रशिक्षण लगायतका कोर्षहरु गरेका छन् ।

जिल्लामा कम, राजधानीमा बढी

प्रहरी निरीक्षकका रुपमा ०४४ साल चैत २९ मा नियुक्ति पाएका अर्याल ०५१ सालसम्म काठमाडौं बाहिर सरुवा भएनन् । ०५२ साल पुसमा डीएसपीमा बढुवा भएपछि सोही साल माघ २५ गते डीएसपी बनेर तेह्रथुम जिप्रकाको कमाण्ड सम्हाल्न पुगे ।

अर्यालको सेवाअवधिको लामो समय राजधानीमै बितेको देखिन्छ । उनी जिल्लामा कमै खटिएका छन् ।

तेह्रथुममा काम गरेको एक वर्षपछि फेरि प्रहरी प्रधान कार्यालयमा सरुवा भए । ०५४ साल पुसमा उनी त्रिभुवन विमानस्थलमा सरुवा भए भने बैशाखमा फेरि नक्शालमै काजमा फर्किए ।

अर्यालले ०५५ साल असार ३ गतेदेखि नयाँ बानेश्वरस्थित लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाइमा जिम्मेवारी सम्हाले । तर, त्यसको एक महिना पछि नै उनलाई दैलेखको डीएसपी बनाएर पठाइयो ।

दैलेखमा एक वर्ष बसेपछि अर्याललाई मकवानको डीएसपी बनाएर पठाइयो । मकवानपुरमा करिब ७ मनिा कमाण्ड सम्हालेपछि उनी उपत्यका ट्राफिक महाश्ााखा रामशाह पथमा काजमा सरुवा भए । त्यहाँ ५ महिना काम गरेपछि अर्याललाई प्रहरी प्रकान कार्यालय कार्यविभाग नक्शालमा खटाइयो । सुरुमा काजमा खटिएका उनी त्यही सरुवा भए ।

०५२ सालमा डीएसपीमा बढुवा भएका अर्याल ०६१ साल चैत १ गते प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भए । एसपी भएपछि अर्याललाई ०६२ साल बैशाख ५ गते पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र बिराटनगरमा पदस्थापन गरियो ।

अर्याललाई ०६३ साल जेठ १६ गते कास्कीको प्रहरी प्रमुखका रुपमा सरुवा गरियो, जहाँ उनी करिब २ महिनामात्रै बसेर संयुक्त राष्ट्र संघ मिसनमा सुडान गए । सुडानबाट फर्केपछि उनी पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरामा काजमा खटिए ।

पोखराबाट अर्याल फेरि काठमाडौंमै आए । ०६४ साल मंसिर १२ गतेदेखि अर्याल अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा खटिए । जहाँ उनी करिब १ वर्ष खटे ।

अर्याललाई ०६५ साल कात्तिक २९ गते रुपन्देहीको प्रहरी प्रमुख बनाएर पठाइएको थियो । रुपन्देहीमा कार्यरत रहेकै बेला उनी एसपीबाट एसएसपीमा बढुवा भए । ०६६ साल कात्तिकमा एसएसपीमा बढुवा भएपछि अर्याल फेरि काठमाडौंमै फर्किए । उनलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका पदस्थापन गरियो ।

प्रतिष्ठानबाट अर्याल ०६७ असारमा अञ्चल प्रहरी कार्यालयमा काजमा खटिए । त्यसको करिब १६ महिनापछि उनलाई प्रहरी महानिरीक्षकको सचिवालयमा जिम्मेवारी दिइयो । र, त्यहीँ रहँदा उनी ०६९ साल पुस ४ गते डीआइजीमा बढुवा भए । बढुवासँगै उनलाई प्रहरी प्रधान कार्यालय अपराध नियन्त्रण ब्यूरो (सीआइबी) मा खटाइयो ।

यसवीचमा अर्याल ०७० पुस ११ गते मध्य क्षेत्रीय प्रहरी कार्यालयमा खटाइएका थिए । त्यसको एक वर्षपछि प्रहरी प्रधान कार्यालय अन्वेषण योजना निर्देशनालय नक्शालमा खटिए ।

डीआइजीको जिम्मेवारीमा रहँदा गत साल माघ २१ गतेदेखि अर्याल महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रमुख थिए । विभिन्न पुरस्कार पाएका अर्याललार्इ ०५५ साल जेठ १३ गते नसिहत कारबाही गरिएको थियो । त्यही बर्ष मंसिर ४ गते सचेत गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment