Comments Add Comment

को हुन् गुण्डा नाइके दावा लामा ? जसलाई छुटाउन सांसद नै हनुमानढोका पुग्थे

खुकुरी काजी र घैंटेबाट दीक्षा लिए, गणेश लामासँग हुर्किए


२९ चैत, काठमाडौं । नेपाल प्रहरीले नयाँ आईजीपी पाएकै भोलिपल्ट काठमाडौंमा गुण्डा नाइके दावा लामामाथि गोली प्रहार भयो । यो संयोगमात्र हो तर, काठमाडौंमा पछिल्लो सयम गुण्डा नाइकेहरुको गतिबिधि बढ्न थालेको छ ।

छबिलाल जोशी बन्जाडे काठमाडौं प्रहरीको प्रमुख भएर आएलगत्तै गुण्डा नियन्त्रण गर्ने यसअघिका एसएसपी विक्रमसिंह थापाको अभियानलाई अझ कसिलो बनाउने भनेका थिए । तर, उनी आएपछि गुण्डा नाइके राम गिरी र दावा लामाबीच ठमेलमै दोहोरो भिडन्त भयो ।

सोही भिडन्तको निरन्तरता हो, सोमबार गौरीघाटस्थित दिव्य पार्टी प्यालेसमा भएको गोलीकाण्ड । ठमेलमा राम गिरीमाथि दावा लामाले आक्रमण गरेका थिए । गौरिघाटमा दावामाथि राम गिरी समूहले नै आक्रमण गरेको प्रारम्भिक अनुमान छ ।

ठमेल काण्डमा प्रहरीले दावालाई ज्यान मार्ने उद्योगमा पक्राउ गरेको थियो भने राम गिरीलाई सार्वजनिकस्थलमा होहल्ला गरेर शान्ति सुरक्षमा चुनौती दिएको भन्दै सार्वजनिक अपराधको मुद्दा लगाएको थियो । उनीहरु दुवै राजनीतिक पहुँचबाट छुटे ।

दावा लामालाई काभ्रे क्षेत्र नम्बर १ का कांग्रेस सांसद तीर्थ लामाले छुटाएका थिए । उनी यसअघि पनि गुण्डा नाइके दावालाई छुटाउन हनुमान ढोकामा प्रहरी कार्यालय पुगेका थिए । सांसद लामा आफैं पनि गुण्डा नाइकेबाट शेरवहादुर देउवा निकट हुँदै सांसद बनेका हुन् ।

को हुन् दावा लामा ?

प्रहरीको सूचीमा दावा लामा अपराधिक गतिबिधिका पटके गुण्डा हुन् । करीव एक वर्षअघिमात्र उनले जेलबाट छुटेर फेरि गुण्डाराज चलाउन थालेका थिए ।

यसबीचमा उनले अरु सबै व्यवसाय छाडेर क्यासिनोमा मिटर ब्याजमा पैसा लगाउने व्यवसाय चलाएका थिए । काभ्रेपलाञ्चोक जिल्लाको साबिक भुम्लुटार गाविसका दावा शुरुमा खुकुरी काजीको नामले चर्चित गुण्डा नाइके काजी शेर्पा र प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटेमार्फत गुण्डागर्दीको दुनियामा प्रवेश गरेको उनलाई चिन्नेहरु बताउँछन् ।

अपराधको दुनियाँमा प्रवेश गरेको केही समयमै चर्चा कमाउन थालेका दावाले घैंटेसँग कुरा नमिलेपछि उमेश लामासँग निकटता बनाए । उमेश लामा अर्का गुण्डा नाइके गणेश लामाको काभ्रेली समूहका हर्ताकर्ता हुन् । उमेशमार्फत काभ्रेली समूहमा लागेका दावाको सम्बन्ध त्यहाँ पनि धेरै लामो समय रहन सकेन ।

उमेशसँग सम्बन्ध बिग्रेपछि उनले आफ्नै समूह खडा गरेको प्रहरी स्रोतले जनाएको छ । उनको समूहमा अभिमानसिंह बस्नेत, प्रविण कुँवर, प्रेम ठकुरी लगायतका गुण्डा नाइकेहरु सामेल भए । उनीहरुले क्यासिनोमा मिटर ब्याज चलाउन थालेको धेरै भएको छैन ।

यसअघि देखाउनका लागि रेष्टुरेन्ट व्यवसाय पनि चलाएका दावाले मिटरब्याजबाट करोडौं कमाउन थालेपछि रेष्टुरेन्ट बन्द गरे । प्रहरीका केही उच्च अधिकारीहरुको पैसा पनि उनले मिटर ब्याजमा लगाइदिने गरेको स्रोतले जनाएको छ ।

पछिल्लो समय उनी दोस्रो संविधानसभा चुनावअघि तीर्थ लामा मार्फत कांग्रेसमा प्रवेश गरे । गत तिहारमा सर्बोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमसेर जबराका भाइको घरमा जुवा खेल्ने क्रममा पनि उनले काभ्रे पनौतिका एक जुवाडेमाथि सांघातिक हमला गरेका थिए ।

राजनीतिक पहुँचका कारण मेलमिलापमा सो प्रकरण टुंग्याइएको स्रोतले जनाएको छ । मदिरा सेवन गरेपछि झगडा गर्ने स्वभावका कारण उनी पटकपटक बिभिन्न काण्डमा मुछिने गरेको निकटस्थहरु बताउम्छन् ।

पल्लिो पटक ठमेलमा राम गिरीसँग भएको काण्डपछि मदिरा सेवनकै कारण थियो । नेपाल प्रहरीका डिआइजी जयवहादुर चन्दसँग निकट सम्बन्ध रहेका गुण्डा नाइके राम गिरीमाथि आक्रमण गरेपछि उनी पक्राउ परेका हुन् ।

दावालाई छुटाउन भने कांग्रेस सांसद तीर्थ लामाले शेरवहादुर देउवासम्मको बल लगाएको स्रोतले जनाएको छ । बौद्ध नयाँ बस्तितिर बस्ने दावा हरेक विहान दिव्य पार्टी प्यालेसभित्रै रहेको क्लबमा जिम गर्न जान्थे । जिम गर्न गएकै बेला उनीमाथि गोली चलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment