Comments Add Comment

कानूनमन्त्री भन्छन्- मधेसी मोर्चाले हाम्रै एजेण्डा चोरेर निहुँ खोजिरहेको छ

हिजोका राजावादीहरु ज्यादा मधेसवादी भएर चिच्याइरहेका छन्


१ वैशाख, काठमाडौं । मधेसी मोर्चाले नेकपा माओवादीका एजेण्डाहरु चोरेर निहुँ खोजिरहेको कानूनमन्त्री अजय शंकर नायकले बताएका छन् । मोर्चा चुनावमा आएन भने पनि बहुसंख्यक दलहरुलाई समेटेर निर्वाचन सफल बनाउने मन्त्री नायकको भनाइ छ ।

हिजोका राजावादीहरु नै अहिले मधेसवादी भएर चिच्याइरहेको मन्त्री नायकले बताएका छन् ।  मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै सरकारले नयाँ संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको छ, तर यसलाई अस्वीकार गर्दै मोर्चाले चुनाव बहिस्कार गर्ने घोषणा गरेको छ । यो अवस्थामा अब सरकार कसरी अगाडि बढ्छ ? यसबारे हामीले मन्त्री नायकसँग संक्षिप्त कुराकानी गरेका छौंः

संविधान संशोधन विधेयक दर्ता गर्दा एमालेले पनि स्वीकार गर्छ भन्ने तपाईहरुको दाबी थियो । तर, मधेसी मोर्चाले नै मानेन नि ?

हुबहु मोर्चाले भनेको जस्तो गर्न सकिँदैन । तर, यो संशोधन उहाँहरुसँग सल्लाह भएरै आएको छ । उहाँहरुले जुन मनोविज्ञानले जे कुराहरु गर्नुभएको हो, त्यो कुराहरु यसमा समेटिएका छन् ।

मोर्चाले नमान्ने भनिसक्यो, अब के हुन्छ त उसो भए ?

अब पनि उहाँहरुले यो संशोधनको स्वामित्व लिनुभएन भने मोर्चा पनि निकै अप्ठेरोमा पर्ने स्थिति आउँछ ।

मोर्चाले संशोधन अघि कस्तो प्रतिवद्धता जनाएको थियो ?

हामीले मोर्चाका नेताहरुलाई फोन गरेर तपाईहरुले भनेको कुरा संशोधनबाट ल्याउँदैछौं, त्यसपछि तपाईहरु चुनावमा आउने कि नआउने भनेर सोधेका थियौं । उहाँहरुले आउने हो, अहिले लिखित सम्झौता त गर्न अलि मिल्दैन तर, चुनावमा आउँछौं भन्नुभएको थियो । हामी हाम्रो असन्तुष्टिहरु राख्छौं तर, चुनावमा भाग लिन्छौं भन्नुभएको थियो । यो मोर्चाका मुख्य नेताहरुले नै भन्नुभएको छ ।

उसोभए मोर्चा चुनावमा आउँछ भन्ने तपाईहरुलाई अझै विश्वास छ ?

आउँछ । त्यही विश्वासमा संशोधन दर्ता भएको हो । नत्र चुनावको मुखमा हतार-हतार किन संशोधन ल्याउनुपथ्र्यो ? म एउटा कुरा भन्छु, संशोधन ल्याउँदा मोर्चाले केही प्रतिवद्धता जनाएको छ, अब पनि उहाँहरु नकारात्मक हुनुभयो भने हामीले बुझ्नुपर्छ, मोर्चा चुनावबाट भाग्ने कोशिस गरिरहेको छ ।

मोर्चालाई हामीले भनेका छौं, तपाईहरुले जस्तै भन्ने हो भने त हामी माओवादीको कति एजेण्डा संविधानले समेटेको छ ? यो त समझदारी गर्दै अगाडि बढ्ने विषय हो । त्यसैले अब पनि मधेसी मोर्चा विभिन्न बहाना देखाएर चुनावबाट भाग्यो भने अहिले भएको जनआधार पनि गुमाउँछ । त्यो पक्कै मोर्चाले पनि बुझेको होला ।

चुनावमा आएन भने मोर्चालाई नै घाटा हुन्छ भन्न खोज्नुभएको हो ?

जतिबेला पनि निहुँ खोजेर बसेर हामीलाई केही घाटा छैन, उहाँहरुलाई नै घाटा हो ।

मोर्चालाई फकाउन अर्को उपाय पनि बाँकी छ कि ?

स्थानीय तहको संख्या बढाउने कुरा भएको छ । उहाँहरुले मतदाता नामावली अपडेट गर्ने कुरा गर्नुभएको थियो, त्यो अब नमिल्ने जस्तो देखिएको छ । उहाँहरुले उठाएको विषयवस्तुहरु अधिकतम रुपमा सम्बोधन गर्ने प्रयास भइरहेको छ । त्यति गर्दा पनि भएन भने सरकारले मोर्चाभित्रको बहुसंख्यक शक्तिलाई ल्याउने प्रयास गर्छ । केही दलले अब निर्वाचनमा जानुपर्छ भनिसकेका छन् । यसरी जति दल आउँछ, अन्तिम समयसम्म समेट्ने प्रयास जारी राख्छौँ ।

तपाई पनि मधेसबाटै प्रतिनिधित्व गर्नुहुन्छ । त्यहाँको समस्या मधेसी मोर्चाले भनेको जस्तै हो कि फरक छ ?

म एउटा राजनीतिक पृष्ठभूमिबाट आएको र मोर्चा अर्को पृष्ठभूमिबाट आएकाले एउटै बुझाइ पक्कै पनि छैन । मोर्चा देशमा अन्त जेजे भए होस्, हामीलाई चाँही यस्तो चाहियो भन्ने नजरले हेर्छ, एकोहोरो जिद्धीमात्र गर्छ । हामी देशको समग्र भविष्यलाई हेर्दै मधेसका मुद्दाहरु पनि अगाडि बढाइरहेका छौँ । हामी माओवादीलाई परिवर्तन संस्थागत गर्दै त्यसको बलमा नयाँ परिवर्तन र आर्थिक विकासतिर मुलुकलाई लैजाने जिम्मेवारी छ । तर, मोर्चामा मैले त्यस्तो भावना देखेको छैन । उनीहरुलाई मेरो यस्तो जिद्धीले कता-के विगि्रन्छ, प्रतिक्रान्ति हुन्छ कि केही सरोकार छैन । हामीमा भने त्यतातिर चिन्ता छ ।

अर्को कुरा हिजो सत्तामा बसेकाहरुले अहिले मधेसको नारा उचालिरहेका छन् । हिजो राजावादी भएर सत्ता चलाएकाहरु आज ज्यादा मधेसवादी भएर चिच्याइरहेको देखेको छु ।

वास्तवमा मधेसको एजेण्डा हामी माओवादीले उठाएका थियौँ । तर, उहाँहरुले माओवादीकै एजेण्डा चोरेर बढ्ता निहुँ खोज्ने काम गरिरहनुभएको छ । त्यस्तै गरिरहृयो भने मधेसले केही पनि नयाँ पाउँदैन । केही नपाउनु भन्दा क्रमशः केही पाउँदै जानु ठीक हो भन्ने बुझेर पनि नबुझेको नाटक गरिरहेको छ ।

मोर्चा समग्र देशको भन्दा पनि आफ्नो राजनीतिक स्वार्थका लागि मात्र केन्द्रित छ भन्न खोज्नुभएको हो ?

मधेसी मोर्चाका नेताहरु आफू कसरी बलियो हुने, मधेसमा हामीमात्र हौं भनेर कसरी देखाइराख्ने भन्ने कोणले प्रस्तुत भइरहेका छन् । मोर्चा माओवादी जनयुद्धपछि जन्मिएको शक्ति हो ।

माओवादी आन्दोलनले सम्झौता गर्दा जहाँजहाँ लचकता अपनायो, त्यो छिद्रबाट छिरेर उनीहरुले अराजकता मच्चाउने काम गरिरहेका छन् । नत्र उनीहरुले जुन तरिकाले आन्दोलन गरिरहेका छन्, त्यसअघि किन आन्दोलन गर्न सकेनन् ? अहिले मोर्चाले मधेसको जागरणलाई दुरुपयोग गरिरहेको छ । अर्को सत्य के हो भने उनीहरुको पक्षमा जति जनता हुनुपर्ने, त्यो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment