Comments Add Comment

जिन्दगीको छैन भर, त्यसैले लाग्छ मर्ने डर !

विश्वमा प्रतिसेकेण्ड अनुमानित २५० मानवले धर्ती टेक्छन् भने औसत २ जनाले प्राण त्याग्छन् । तथ्यमा हेर्दा जन्मिनेको संख्या मर्नेको तुलनामा बढी नै देखिन्छ । जन्म र मरण प्रकृतिको धुव्रसत्य नियम हो । यो भन्दैमा मनले मरणलाई सहजै स्वीकार्दैन । मान्छे मर्न कत्ति डराउँछ भनेर अहिलेसम्म लेखाजोखा गरिएको छैन न त यसको कुनै ठोस तथ्य नै उपलब्ध छ । तर, कुनै न कुनै रुपले हरेक मान्छेमा मर्ने डर भने रहेकै हुन्छ ।

म केही वर्षअघिको बाल्यकालतर्फ फर्किन्छु । त्यतिबेलाका केही यस्ता घटना छन् जो अहिलेसम्म पनि मनबाट टाढा पुग्न सकेका छैनन् । ती नजिक रहेर सम्झनामा आइरहन्छन् । बिर्सन खोज्दापनि कहिल्लै पर सरेनन् बरु स्मरणिय भएर मस्तिष्कमा लेपिएका छन् । गढेका छन् ।

ती मध्येको एक मर्ने डर !

जसले मेरा कयौं रातहरुलाई डरको अधिनमा राखेको थियो ।

पश्चिम नेपालको एउटा गाँउ । जसको छेवमै दुइवटा घाट थिए । यी घाटमा मैले धेरैजसो मान्छे जलाएको देखें । जन्म र मरणको भेद खुट्याउन नसक्ने बाल्यकालमा यी दृश्य देखेको मैले एउटा प्रश्न मम्मीलाई सुत्नुअघि सधैंजसो गरिरहें ।

हामी पनि मरिन्छ र मम्मी ? भनेर ।

मम्मीबाट भने सधै आत्मविश्वासी जवाफ पाइरहें । नमरिने दृढ जवाफ पाएपछि निद्रा त पर्थ्यों तर लास जलाएको जस्ता सपनाले भने फेरी उसैगरी मनलाई गिजोल्थ्यो । यो प्रश्न मैले मम्मीलाई एकदिन मात्रै गरिनँ । महिनौं गरें । प्रायः व्यस्त भइरहने यि घाटमा मैले मान्छेलाई चितामा मात्र जलाएको देखिनँ, आगोको मुस्लोले खरानी मात्रै बनाएर छाडेको देखें ।

स्कुल जादाँ लाससँग जम्काभेट हुने डरले कतिपटक स्कुल समेत गइनँ । जानै परे दिदी, बुबा र मम्मीको साथ खोजें । पढाइभन्दा पनि मृत्युको भयले मनलाई सधै वेचैन राख्यो । अस्थिर बनायो ।

निश्चित मरणको अनिश्चित साक्षात । हामी सबैले भोग्नु त छदैं छ । यो बुझ्ने कतिबेला भएँ थाहा छैन । सायद प्रश्न सोध्न छाडेपछि मम्मीले छोराले बुझ्यो भन्ने ठान्नुभयो होला । त्यसपछि भने मैले आजसम्म पनि यो विषयको कुनै पनि कुरा मम्मीसँग उप्काएको छैन । अहिले सम्झदाँ, त्यो बेलाको मर्ने डरले बाल–मनोदशाको विगत सम्झाउँछ ।

मृत्युसँग कठोर हुन सकिदैंन बरु यो आफैमा कठोर हुन्छ । मर्ने सत्यको हेक्का हुदाँहुदैं पनि मान्छे किन यतिबिध्न डर पालिरहन्छ । साँच्चै बाँच्न पनि त कहाँ सजिलो छ र !

०७२ बैशाखको विनाशकारी भूकम्पले धेरै धनजनको क्षति गरायो । मान्छे बाँच्नकै लागि सडक र खुला ठाउँमा आश्रय लिएर बसे । घरभित्र पस्न अधिकांश डराए । आकाशबाट पानी पर्दा पनि मान्छे घरभित्र पस्ने आँट गरेनन् बरु रुझेरै बसे । चर्को घाममा घर खोजेनन् । आफ्नो सम्पतिको माया गरेनन् । चोरी होला भनेर त्यसको पनि कुनै पर्वाह गरेनन् । यो पनि सब उही बाँच्नकै खातिर न हो ।

जीवनका प्रतिकूल कुइँनेटामा मरणको नजिक हुन नपरोस् भन्ने कामना सबैले गर्छन् । मान्छे बाँच्नको लागि अनेक प्रयत्न गर्छ । गाडी दुर्घटनाको सम्भावना हुदाँ हाम फाल्न तम्सिन्छ । भीर वा अप्ठ्यारो ठाउँमा यात्रा गर्दा सजगता अपनाउन्छ । साहसिक खेल तथा पर्यटनमा सहजै सहभागी हुने आँट राख्दैंन । विपत्तिमा बँच्न जुनसुकै उपाय खोज्छ । चोटपटक लागिहाले उपचार रोज्छ ।

हामी बिरामी हुदाँ अस्पताल पुग्छौं । उपचार सुरु नगर्दे बिरामीको मनमा बाँचिएला या मरिएला भन्ने प्रश्न हुन्छ । उपचार स्वास्थ्यकर्मी र उपकरणले आफ्नै सुरमा गरेपनि हाम्रो सुर, बेसुर बन्छ । बिरामी तथा आफन्तका मुहारमा जिज्ञासाका धर्सा घुम्न थाल्छन् । आशा र निराशका दोसाँधमा रहेका मान्छेका कति धेरै चित्कार, रोदन र उत्साह थेगेर अस्पतालले बचाउने प्रयत्न त गर्छ तर सबैमा भने उ सफल बन्दैन । सबैको जीवन लम्बाउन, मृत्यु भगाउन सम्भव पनि त छैन ।

हामी केही अप्रिय घटना हुनेबित्तिकै तर्सिन्छौं । कोही दुर्घटनामा परिहाले अवस्था बुझ्नु पूर्व बाँच्छ, बाँच्दिन भनेर प्रश्न गर्न हतार गरिहाल्छौं वा मनमा यही कुरा सोच्न थाल्छौं । अरुमात्रै होइन आफू दुर्घटनामा पर्दा पनि यही मर्ने डरले नै घेरिएका हुन्छौं । बाँच्ने आशा खोज्छौं ।

धर्तीमा अनेक मान्छे छन् । सबै मर्न पनि डराउँदैनन् ! आफ्नो आत्मालाई आफै निमोठ्ने पनि छन् । अरुलाई मारेर आफू खुसी बन्ने पनि छन् । अपराधको कर्ममा ज्यान फालेर लागिरहेकाहरु पनि छन् । लडाई, युद्ध मन पराउने पनि उत्तिकै छन् । मर्न र मार्ने कामलाई खेल सम्झिने पनि होलान् ! यी केहीको मन, मन भन्दा फरक हुनुपर्छ ! नभए यो सारा सम्भव हुन निकै गाह्रो छ । सकस छ ।

मर्ने डर उमेर अनुसार फरक हुनसक्छ । तर यो जो कोहीमा पनि हुन्छ । मान्छे स्वभावले सहज निधनको कल्पना गर्छ तर अकल्पनिय निधनले धेरैमा डरको रफ्तार बढाइदिन्छ । मृत्युसँग कठोर हुन सकिदैंन बरु यो आफैमा कठोर हुन्छ । मर्ने सत्यको हेक्का हुदाँहुदैं पनि मान्छे किन यतिबिध्न डर पालिरहन्छ । साँच्चै बाँच्न पनि त कहाँ सजिलो छ र !

यसो भन्दैमा सहज रुपमा मृत्युलाई स्वीकार गर्न पनि त सकिन्न । अमेरिकी लेखक तथा कमेडियन उड्डी एलनले आफू मृत्युसँग नडराएपनि मृत्यु हुनेबेला मृत्युसँग सँगै हुन नचाहेको कुरा व्यक्त गरेका छन् । बुझौँ, मृत्युको भय यसरी नै कहीँ कतै लुकेर सबैमा बसेको छ ।

हरेक सजिव जिन्दगीको रंगबाट बेरगं बन्दै मृत्युको बाध्यात्मक यथार्थसम्म पुग्नु त छदैंछ तर मर्ने कुरा सँगै लिएर हिँड्यौं भने जीवन निरस हुनसक्छ यसर्थ यसमा अल्झिएर सुनौलो जिन्दगीको अमृतमा विष घोल्नु सुखद अवश्य हुन सक्दैन ।

श्वाश्वत सत्य, अकाट्य तथ्य सजिवको अन्तिम गन्तव्य मरण नै हो । यो कहीँ गएपनि छिप्दैंन । यसबाट टाढा पुग्नै सकिन्न, हुनै सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment