Comments Add Comment

अष्टलक्ष्मी शाक्य र योगेश भट्टराई काठमाडौंको मेयरमा उम्मेदवार नबन्ने

पदाधिकारीले हात उठाएपछि नेवार समुदायकै ६ जना आकांक्षी देखिए

१ बैशाख, काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा पदाधिकारी तहबाटै उम्मेदवार बनाउने भनेपनि सम्भावित उम्मेदवारले हात उठाएका छन् । पार्टीको काठमाडौं जिल्ला कमिटीको विवाद र गुटबन्दीका कारण पदाधिकारीले मेयरको उम्मेदवार बन्ने आकांक्षा नदेखाएका हुन् ।

काठमाडौंको मेयरमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव योगेश भट्टराई मध्ये एकजना उम्मेदवार बन्ने चर्चा चलेको थियो ।

राजनीतिक निष्ठा, काठमाडौंको नेवार समुदायकी अगुवा महिला नेता र पार्टीको उपाध्यक्ष समेत रहेकाले अष्टलक्ष्मीलाई मेयरका उम्मेदवार बनाउन अध्यक्ष केपी ओली पनि सकारात्मक देखिएका थिए ।

तर, मन्त्री पद समेत अश्वीकार गरेकी उपाध्यक्ष शाक्यले आफू मेयरको उम्मेदवार नबन्ने अनलाइनखबरलाई बताइन् । ‘मेरो नाम आएको हो तर, मैले नउठ्ने भनिसकेकी छु’ शाक्यले भनिन्, नयाँ तर प्रभावशाली साथीहरुलाई मौका दिनुपर्छ ।’ शाक्य अहिले सांसद छिन् ।

सचिव भट्टराईले पनि उम्मेदवार नबन्ने भनेका छन् । कांग्रेसले गगन थापालाई मेयरको उम्मेदवार बनाउने चर्चा चलेपछि एमालेबाट भट्टराईको नाम आएको थियो । तर, भट्टराईले भनिसकेका छन्-म मेयरको उम्मेदवार होइन ।’

दुई पदाधिकारी नउठ्ने भएपछि अब माथिल्लो तहबाट एमालेको उम्मेदवार बन्न अरु नेता छैनन् । अब काठमाडौंमा एमालेको उम्मेदवारका मुख्य आकांक्षीका रुपमा केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, काठमाडौं जिल्लाका प्रस्तावित सहसंयोजक बसन्त मानन्धर र सचिव विद्यासुन्दर शाक्य देखिएका छन् ।

श्रेष्ठ खेलकुद परिषदका पूर्व सदस्य सचिव तथा १५ नम्बर वडाका पूर्व अध्यक्ष हुन् । बसन्त मानन्धर अनेरास्ववियुका पूर्व महासचिव हुन् भने शाक्य वडा नम्बर २१ का दुई पटक निर्वाचित वडाध्यक्ष हुन् । मानन्धर र शाक्य दुवैले काठमाडौं महानगरमा एमालेको तर्फबाट दलीय संयन्त्रमा प्रतिनिधित्व गरेका थिए ।

गुटको हिसाबले जीवनराम श्रेष्ठ र बसन्त मानन्धर माधव नेपाल गुटका हुन् भने विद्यासुन्दर शाक्य ओली गुटका हुन् । जीवनराम डल्लु, विद्यासुन्दर भोटेवहाल र बसन्त सोह्रखुट्टेको स्थानीय नेवार समुदायका हुन् ।

त्यसो त एमालेबाट मेयरमा सुजिता शाक्यको पनि नाम चर्चामा छ । केन्द्रीय सदस्य शाक्य एमाले नेता शंकर पोखरलकी पत्नी हुन् ।

उनीहरुभन्दा माथिल्लो तहबाट उम्मेदवार बनाउने अवस्थामा केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र पोलिटव्यूरो सदस्य सानु श्रेष्ठको नाम आएको छ । कृष्णगोपाल पूर्व सांसद तथा पूर्व मन्त्री हुन् । सानु श्रेष्ठ काठमाडौं जिल्ला विकास समितिका पूर्व सभापति हुन् ।

काठमाडौंका पूर्व मेयर केशव स्थापितले पनि सशक्त दाबी पेश गरिरहेका छन् । चुनाव लागेसँगै उनी सामाजिक सञ्जाल र सानातिना कार्यक्रम मार्फत मेयरको दावेबारका रुपमा चर्चामा आएका छन् ।

उनले पार्टीका नेताहरुसँग पनि भेटेर काठमाडौं बनाउने आफ्नो योजना पेश गरिरहेका छन् । यसअघि मेयर हुँदा काठमाडौंको विकास गरेको भएपनि स्थापित यसबीचमा पटक-पटक एमाले छाड्दै फर्किदै गरेकाले पार्टी कमिटी उनको पक्षमा परिचालन हुने अवस्था नरहेको नेताहरु बताउँछन् ।

स्थापित गत संविधानसभा चुनावमा संघीय समाजवादीको उम्मेदवार बनेका थिए, त्यहीका कारण काठमाडौं ६ मा योगेश भट्टराईलाई पराजित गर्न मद्दत पुगेको आरोप समेत लागेको छ ।

उपमेयरमा महिला मात्रै ?

सुजिाता शाक्य मेयरको उम्मेदवारका रुपमा चर्चा चलिरहेका काठमाडौंमा एमालेबाट उपमेयरमा महिलाको मात्र नाम चर्चामा छ ।

उपमेयरका आकांक्षीहरु शान्ति अधिकारी, रत्ना गुरुङ, रन्जना मास्के, विद्या न्यौपाने लगायतको नाम चर्चामा छ । शान्ति मनमोहन अधिकारीकी बुहारी तथा पूर्व सांसद हुन् । त्यस्तै रत्न गुरुङ पनि पूर्व सभासद हुन् । न्यौपाने पूर्व जिल्ला विकास समिति सदस्य हुन् । उनी गत संविधानसभा चुनावमा एमालेबाट काठमाडौं १ को उम्मेदवार दिइन् । मास्के पूर्व वडा सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment